बाँके घटनाका दाेषीलाई कानुनी कारबाही हुन्छ : गृह मन्त्री थापा

 भदौ २८, २०७६ शनिबार १०:४७:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आफ्ना नेतालाई आक्रमण गर्नेलाई कारबाही गर्न माग गर्दै नेपाली कांग्रेसले शनिबार गृह मन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाएको छ । 

नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरका सभापति मदन अमात्य, काठमाण्डौका सभापति कृष्ण बानियाँ र भक्तपुरका सभापति दुर्लभ थापाले गृह मन्त्री थापालाई भेटेर ज्ञापन पत्र बुझाउनुभएको हो । 

पत्रमार्फत् कांग्रेसले बाँकेका सभापति किरण कोइराला, केन्द्रीय प्रतिनिधि विद्याप्रसाद खनाल लगायतका पार्टीका नेता कार्यकर्तामाथि सुनियोजित तरिकाले आक्रमण भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । 

यति ठूलो घटना हुँदा पनि सुरक्षा निकाय परिचालित नहुनु र गृह प्रशासनसमेत संवेदनशील नहुनुलाई राजनीतिक दलले सांगठनिक कार्यक्रम गर्न पाउने संवैधानिक अधिकारमाथि सिधा आक्रमण सुरु भएको ज्ञापन पत्रमा उल्लेख छ । बढ्दो महँगी, भ्रष्टाचार, महिला हिंसा, बलात्कार, हत्याकाविरुद्ध पहिलो र दोस्रो चरणका कार्यक्रममा ठूलो जनसहभागिता देखेर कम्युनिष्ट दलको नेतृत्वमा रहेको सरकार अत्तालिएको दावी पनि कांग्रेसले गरेको छ । 

भविष्यमा यस्ता घटना दोहोरिन नदिन सरकारलाई सचेत गराउँदै कांग्रेसले विज्ञप्तिमार्फत् दोषीलाई कडा कारबाहीको माग गरेको छ । घटनाको विरोध र दोषीलाई कारबाही माग गर्दै शनिबार दिउँसो ३ बजे माईतीघर मण्डलामा शान्तिपूर्ण धर्ना गर्ने कांग्रेसले जनाएको छ । 

यसैबीच गृह मन्त्री रामबहादुर थापाले नेपाली कांग्रेसले सुरु गरेको दोस्रो चरणको जागरण अभियान अन्तर्गत बाँकेको सीतापुरमा भएको घटनाका दोषीलाई कारबाही गर्ने बताउनुभएको छ । 

सिंहदरबारमा ज्ञापनपत्र बुझ्दै मन्त्री थापाले घटनाका दोषीलाई कारबाही प्रक्रिया अघि बढाउने बताउँदै भन्नुभयो, ‘हुन नहुने घटना भएको छ, घटनाका दोषीलाई कारबाही गर्न सरकार गम्भीर छ ।’ 

गृह मन्त्री थापाले घटनामा दोषी देखिएका जो कोहीलाई पनि कानुनी कारबाही हुने बताउनुभयो । घटनामा दोषी देखिएका केही व्यक्तिलाई नियन्त्रणमा लिइसकेको र बाँकीलाई पनि चाँडो नियन्त्रणमा लिएर कारबाही गर्ने उहाँको भनाइ थियो । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया