सहकारी अभियान कौशीमा भएकालाई पिँढीमा झार्ने काम होइन : मन्त्री अर्याल

 भदौ २८, २०७६ शनिबार ११:४२:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले माटोको विशेषता, बजारको आवश्यकताअनुसार सहकारीकर्मीहरू अगाडि बढ्न निर्देशन दिनुभएको छ । काठमाण्डौमा आयोजित सहकारी संस्थाहरूको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताउनुभयो ।

शुभप्रवा बचत तथा ऋण सहकारी संस्थाको दशौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री अर्यालले सहकारीलाई कमाउने धन्दा मात्रै बनाउन नहुने बताउनुभयो । संस्थाको सदस्यको हितलाई पहिलो प्राथमिकता राखेर सहकारीले काम गर्नुपर्ने भन्दै उहाँले त्यसपछि संस्थाको सन्देश प्रवाह गर्नेगरी काम गर्न आग्रह गर्नुभयो । 

सहकारी अभियान कौशीमा भएकालाई पिँढीमा झार्ने नभएर पिँढीमा भएकालाई कौशीमा उकाल्ने अभियान भएको भन्दै मन्त्री अर्यालले ३४५१२ सहकारीमध्ये झण्डै आधा जति बचत तथा ऋण सहकारी संस्थाहरु रहेको बताउनुभयो । त्यसकारण अब मन्त्रालयले मर्जरको अभियान सञ्चालन गरेको भन्दै बचत तथा ऋणसम्बन्धी काम गर्ने संस्थाहरूले पनि अब काम गर्ने तरिका बदल्ने अवस्था आएको उहाँको भनाइ थियो ।

पूँजि जति परिचालन भयो त्यति फाइदा हुने भन्दै मन्त्री अर्यालले संकलन भएको रकम थुपारेर राख्नेफ मात्र नभएर त्यो पैसालाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न निर्देशन दिनुभयो । ‘अब सबै सहकारीलाई उत्पादनमूलक क्षेत्रमा लगाउने कानुन बनाउँदैछौँ । अबको कानुन आजको आवश्यकता पूरा गर्ने हो । सहकारीको हातखुट्टा बाँधेर प्रगति हुदैन’, मन्त्री अर्यालले भन्नुभयो, ‘माटोले जे खोज्छ बजारले के खोज्छ त्यै गर्नुस् । भएको पैसा उत्पादनमूलक कार्यमा लगाउनुस र बढी भन्दा बढी युवालाई रोजगारी दिनुस ।’

अबको पुरानो कानुनले आजको सहकारीको आवश्यकता पूरा नगर्ने भन्दै मन्त्री अर्यालले सहकारी ऐन २०७४ ले समेट्न नसकेका कुरा समेट्नका निम्ति ऐन संशोधन गरेर हामी अगाडि बढ्ने बताउनुभयो ।

दिगो लक्ष्य हासिल गर्नका निम्ति द्रुतगतिमा बढीभन्दा बढी मान्छे सहभागी गराएर उत्पादनमा लगाउनुपर्ने भन्दै उहाँले तबमात्र दिगो लक्ष्य हासिल गर्न सकिने बताउनुभयो । ‘गाउँमै उत्पादन बढाउने त्यसपछि रोजगारी सिर्जना गरेर अब विदेशिने युवालाई स्वदेशमै रोक्नुपर्छ’, उहाँले भन्नुभयो ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया