कुलमानको अबको योजना: सबै नेपालीको घरमा बिजुली, भ्रष्टाचारको जरो उखेल्ने

 भदौ २९, २०७६ आइतबार १४:३०:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - देशलाई लोडशेडिङमुक्त गराएको नेपाल विद्युत प्राधिकरणले अब देशैभर बिजुली पुर्‍याउने र खपत बढाउने योजना बनाएको छ ।

प्राधिकरणमा कार्यभार सम्हालेको ३ वर्ष पूरा भएको अवसरमा आइतबार भएको कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ३ वर्ष अर्थात २०७९ सालभित्र सबै नेपालीको घरमा बिजुली पुर्‍याउने दावी गर्नुभयो । केन्द्रीय प्रसारणको बिजुली पुर्‍याउन नसक्ने ठाउँमा उर्जाका अरु उपकरणमार्फत पनि बिजुली या सोलार पुर्‍याइने उहाँले जानकारी दिनुभयो ।

त्यस्तै विद्युत खपत बढाउन गाडीको चार्जिङ स्टेशनलाई व्यापक बनाउने र प्रोत्साहन दिने साथै सबैजसो घरायसी काममा विद्युतीय उपकरण प्रयोग गर्न प्रोत्साहन गर्ने पनि कार्यकारी निर्देशक घिसिङले बताउनुभयो  ।

यस्तै उर्जा दक्षता भएका लिड चिम,पंखा,क्यापासिटर बैंक,पानी तान्ने मोटर लगायतका उपकारणको प्रयोग बढाइने पनि घिसिङले जानकारी दिनुभयो ।
यस्तै संस्थागत सुशासनलाई कठोरताका साथ लागू गर्ने, भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलता अपनाउने, प्राधिकरणका सबै कामलाई पारदर्शी बनाउने पनि प्राधिकरणको अबको योजना छ ।

३ वर्ष अघि आजैका दिन कार्यकारी निर्देशकको पद सम्हालेका घिसिङले झन्डै ९ अर्ब नोक्सानीमा रहेको प्राधिकरणलाई अहिले ७ अर्ब २० करोड नाफामा लगेको जानकारी दिनुभयो ।

त्यस्तै ३ वर्ष अघि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित नोक्सानीमा रहेको प्राधिकरणको सञ्चित नोक्सानी अहिले १५ अर्ब २२ करोडमा झारिएको र ३ वर्ष अघि ३५ अर्ब ७ करोड रुपैयाँ वार्षिक आम्दानी रहेकोमा अहिले वार्षिक ७३ अर्ब ८६ करोड पुर्‍याइएको पनि घिसिङले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया