बाँके घटनाको विषयलाई लिएर कांग्रेसद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध

 भदौ २९, २०७६ आइतबार १५:१०:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसले बाँके घटनाको विषयलाई लिएर प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ । 

प्रतिनिधिसभाको आइतबारको बैठकमा बाँके घटनाबारे गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै कांग्रेस सांसदहरुले उभिएर विरोध गरेपछि सभामुख कृष्ण बहादुर महराले बैठक १० मिनेटका लागि स्थगित भएको घोषणा गर्नुभएको हो ।

बैठकको सुरुमै बोल्दै संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले दोश्रो चरणको राष्ट्रिय जागरण कार्यक्रम बिथोल्ने गरी राज्यसंयन्त्रको निर्देशनमा बाँंके घटना गराइएको आरोप लगाउनुभयो । जागरण अभियानलाई गम्भीर प्रहार गर्न योजनाबद्ध ढंगले बाँके घटना गराइएको उल्लेख गर्दै उहाँले असंवैधानिक र विधि विपरीतका क्रियाकलापको निन्दा र भर्त्सना गर्नुभयो ।

भदौ २६ गते बाँकेको खजुरा गाउँपालिका वडा नम्बर-१ मा रहेकाे सितापुरमा नेपाली कांग्रेसले गरेको राष्ट्रिय जागरण सभामा सत्तारुढ दलका कार्यकर्ताले अंरिगाल जसरी प्रवेश गरेर कार्यक्रम बिथोल्नुका साथै जिल्ला सभापति किरण कोइराला र केन्द्रीय प्रतिनिधिमाथि आक्रमण गरेको उहाँले दावी गर्नुभयो ।

गृहमन्त्री रामबहादुर थापा बादलले बाँके घटनालाई सरकारले गम्भीर रुपमा लिएको उल्लेख गर्दै दोषीलाई कारबाही हुने प्रतिबद्धता जनाउनुभयो । उहाँले बाँके घटनामा संलग्न निर्मल खत्री, रोशन सिंंह ठकुरी र लोक बहादुर शाहीलाई २८ गते राति नै नियन्त्रणमा लिइएको र संलग्न अन्यको खोजी तीव्र पार्न सुरक्षा निकायलाई निर्देशन दिइसकेको बताउनुभएको थियो ।

उहाँले खजुरा गाउँपालिका वडा नम्बर-१ मा हेमन्त थापा, लोकबहादुर शाही लगायत ६ जनाको समूहले कार्यक्रमलाई बिथोल्ने प्रयास गरेको, होहल्लाको क्रममा सभापति किरण कोइरालाको हात भाँच्चिएकोमा गृहमन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको भन्दै घटनालाई राजनीतिक विषयको रुपमा नलिन आग्रह गर्नुभयो ।

उहाँले सरकारले आफ्नो कारबाहीको प्रक्रियालाई अगाडि बढाइसकेको भन्दै कानुन मिच्ने र शान्ति प्रक्रियालाई खलल पुर्‍याउनेलाई कडा कारबाही गर्न सरकार दृढ रहेको बताउनुभयो ।

गृहमन्त्रीको जवाफमा प्रतिप्रश्न गर्दै सांसद दिलेन्द्र प्रसाद बडूले सत्तारुढ दलका वडाध्यक्ष सुमन मल्लको घटनामा प्रमुख भूमिका रहेको दावी गर्दै सरकारले नै घटनालाई राजनीतिकरण गरेको जिकिर गर्नुभयो । त्यसैगरी, सांसद अमरेश कुमार सिंंह लगायत कांग्रेसका सांसदहरुले किटानी जाहेरी दिएका सत्तारुढ दलका कार्यकर्तालाई कारबाही हुन्छ कि हुँदैन भनी प्रश्न गर्नुभयो ।  

राम बहादुर विष्टले सरकार कमजोर भएर प्रतिपक्षी दलमाथि अरिंगाल प्रयोग गर्ने काम भएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘पञ्चालयत कालमा सरकार कमजोर भयो भने मण्डलेहरुलाई अघि सारिन्थ्यो । अहिले सरकार कमजोर भएर हो कि अरिंगालहरुलाई अघि सारिँदै छ । अरिंगाल र मण्डले एकै हुन कि फरक फरक हुन् ?’

सांसद गगन थापाले घटनाको तथ्यलाई सरकारले तोडमोड गरेर अपराधीको नामसमेत लुकाएको आरोप लगाउनुभयो । गृहमन्त्री थापाले घटना संलग्नहरु नेपाल कम्युनिष्ट पार्टीका सदस्य थिए र पक्राउ पर्छन् भन्ने प्रतिबद्धता नजनाएसम्म सदन सञ्चालन हुन नसक्ने बताउनुभयो ।

गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै सचेतक पुष्पा भुसाल गौतमले बाँके घटनालाई सामान्य रुपमा लिन नसकिने भन्दै गृहमन्त्रीको जवाफमा प्रतिकार गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो सत्ताको उन्मादले हो कि सरकार असफल भएको कुण्ठाले हो? नेपाली कांग्रेसको जनजागरण अभियानका क्रममा बाँकेका सभापति र केन्द्रीय प्रतिनिधिमाथि सांघातिक आक्रमण भएको कुरालाई साधारण भन्न मिल्दैन, यसलाई प्रमुख प्रतिपक्षी दलले घोर भर्त्सना गर्दछ । १० जनाको विरुद्धमा किटानी जाहेरी गएको छ । दर्ता गर्ने निर्देशन नदिएसम्म सदनको कारबाही अघि बढ्न सक्दैन ।’

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया