बहुमतको आडमा विधेयक पारित नगर्न कांग्रेसको आग्रह

 भदौ ३०, २०७६ सोमबार ६:३५:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ –  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बहुमतको आडमा विधेयक पारित नगर्न सरकार र नेकपालाई सचेत गराएको छ । आइतबार बेलुकी प्रधानमन्त्री निवास बालुवाटारमा भएको शीर्ष तहको छलफलमा कांग्रेस नेताहरुले नागरिकतालगायत विवादस्पद विधेकयहरु बहुमतको आडमा पारित नगर्न सचेत गराएको हो ।

जवाफमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले सहमति जुटाउनकै लागि आफूले नागरिकता विधेयक प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा मतदान हुन नदिएको भन्दै सहमतिका साथ अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

कांग्रेसले वैवाहिक अंगीकृतसम्बन्धी व्यवस्थामा नागरिकता ऐन २०६३ मा भएको व्यवस्थाअनुसार नै हुनुपर्ने अडान लिएको छ । प्रस्तावित नागरिकता विधेयकमा विदेशी महिलालाई अंगीकृत नागरिकता कति वर्षमा प्रदान गर्ने, प्रकृया के हुने र कुन–कुन अधिकार दिने जस्ता बिषयमा सहमति जुट्न सकेको छैन ।

आइतबार भएको छलफलमा प्रधानमन्त्री ओलीले नागरिकता विधेयकमा अझै बृहत छलफल गरेरमात्रै अघि बढ्ने बताउनुभएको छ । 

नागरिकता लगायत पछिल्ला घटना क्रममा बारेमा छलफल गर्न कांग्रेस सभापति शेरबहादुर देउवाको आग्रहमा नेकपा र कांग्रेसबीच शीर्ष छलफल भएको हो ।

छलफलमा देउवासहित कांग्रेसका ११ शीर्ष नेताहरु सहभागी थिए । सत्तारुढ दलका तर्फबाट नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल, महासचिव विष्णु पौडेल र कानुनमन्त्री भानुभक्त ढकाल सहभागी थिए ।

छलफलमा समसामयिक विषयमा गम्भीर छलफल भएको मन्त्री ढकालले जानकारी दिनुभयो ।

झण्डै दुई घण्टा चलेको बैठकमा बाँके घटना, नागरिकता विधेयकलगायतका विषयमा छलफल भएको काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

नागरिकता विधेयकसँगै अरु विधेयक राष्ट्रिय सहमतिबाट टुङ्गो लगाउनुपर्ने र देशमा सुशासन कायम हुनुपर्ने काङ्ग्रेसले धारणा राखेको प्रवक्ता शर्माले बताउनुभयो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया