खारेजीमा परेका म्यानपावरलाई दायित्व फरफारक गर्न निर्देशन

 भदौ ३०, २०७६ सोमबार ७:१०:५६ | रासस

काठमाण्डौ – वैदेशिक रोजगार विभागले बैंक ग्यारेन्टी र नगद धरौटी थप गर्न नसकी खारेजीमा परेका सम्पूर्ण म्यानपावर कम्पनीलाई १५ दिनभित्र संस्थाको विगतको दायित्व फरफारक गर्न निर्देशन दिएको छ । 

विभागले आइतबार एक सर्कुलर जारी गर्दै खारेजीमा परेका म्यानपावरले अहिलेसम्म वैदेशिक रोजगारीमा पठाइएका व्यक्तिको सम्पूर्ण विवरण विभागमा पेश गर्न पनि निर्देशन दिएको छ । वैदेशिक रोजगार ऐन, २०६४ को संशोधनअनुसार धरौटी वृद्धि गर्न नसकेपछि ३०३ म्यानपावर स्वतः खारेजीमा परेका थिए । सरकारले ऐन संशोधन गरी म्यानपावरको धरौटी दुई करोड रुपैयाँदेखि छ करोड रुपैयाँसम्म वृद्धि गरेको थियो । 

त्यसैगरी आगामी दिनमा विगतको संस्थाको नामबाट वैदेशिक रोजगारसम्बन्धी नयाँ एवं पूराना कुनै पनि कार्य नगर्न÷नगराउन विभागले सूचित गराएको छ । विभागले व्यक्तिसँग लिएको रहदानी र नगद फिर्ता गर्न पनि ती संस्थालाई निर्देशन दिएको छ । त्यस्तै, विदेशी रोजगारदाता कम्पनीसँग लिएको मागपत्रबमोजिमको जनशक्ति आपूर्ति गर्न नसक्ने व्यहोरा सम्बन्धित रोजगारदातालाई गराउन, प्रयोगमा ल्याउन नसकिने भएका प्रमाणीकरण गरिएको मागपत्रबारे सम्बन्धित कूटनीतिक नियोगलाई जानकारी दिन पनि आग्रह गरेको छ । 

यसैगरी, नयाँ मागपत्र नल्याउन एवं प्रमाणीकरण नगराउन, कार्यालयको नाममा राखिएको बोर्ड हटाउन, कर्मचारीलाई दिएको परिचयपत्र रद्द गर्न, संस्थासँग सम्बन्धित मुद्दा तथा उजुरी तत्काल फरफारक गर्न पनि निर्देशन दिइएको छ । विभागको निर्देशन अटेर गरी विगतमा जस्तै कामकारवाही गरेमा हदैसम्मको कारवाही हुने विभागले जनाएको छ ।

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया