नेकपाकै सांसदका कारण भाँडियो कांग्रेससँगको सहमति, संसदमा नाराबाजी

 भदौ ३०, २०७६ सोमबार १६:२९:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण सोमबारको प्रतिनिधि सभा बैठक पनि प्रभावित भएको छ ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा सत्तापक्षका सांसदले बाँके घटनालाई लिएर वडा अध्यक्षलाई मुद्धा चलाउन नपाइने भन्दै विरोध गरेपछि प्रतिवादमा कांग्रेस सांसदहरु विरोधमा उत्रिएका हुन् ।

बाँके घनालाई लिएर खजुरा गाउँपालिका वडा नम्बर १ का अध्यक्ष सुमन मल्लविरुद्ध दिएको किटानी जाहेरी दर्ता भएसँगै कांग्रेस संसद सञ्चालन गर्न सहमत भएको थियो । कांग्रेसले दोषीलाई कारबाहीको प्रतिबद्धता सरकारबाट मागिरहेका बेला सहमतिविपरीत सत्तापक्षकै सांसदले घटनाको बारेमा भिन्न दाबी प्रस्तुत गर्दे आफूहरुले पनि आन्दोलन गर्ने अभिव्यक्ति दिएपछि सहमति भाँडिएको छ ।

बाँके घटनालाई लिएर खजुरा गाउँपालिका वडान म्बर १ का अध्यक्षलाई मुद्दा लगाउन नपाउने भन्दै सत्तारुढ दल नेकपाका सांसद नन्दलाल रोका क्षेत्रीले विरोध जनाएलगत्तै कांग्रेस सांसदहरुले उठेर विरोध जनाएका थिए ।

कांग्रेस सांसदहरु उभिइरहेकै समयमा सांसद रोकाले बाँके घटनामा नेपाली कांग्रेसकै कार्यकर्ता जिम्मेवार भएको जिकिर गर्दे वडाअध्यक्षलाई मुद्धा चलाए आफूहरु पनि आन्दोलन गर्ने अभिव्यक्ति दिएपछि बैठकको वातावरण अस्वभाविक बनेको हो ।

सांसद रोकाले भन्नुभयो, ‘कसैले पनि त्यहाँ हातपात गरेको छैन । कुनै पनि केही घटना घटेको छैन । त्यहाँ कसैले कसैलाई छोएकै छैन । त्यसै आक्षेप लगाएर हुँदैन । तर वडा अध्यक्ष बेकसुर छ । त्यो वडा अध्यक्षलाई मुद्दा लगाउने भन्ने कुरा कतै पनि सहन सक्दैनौँ । यदि नेपाली कांग्रेसले आन्दोलन गर्छ भने हामीले पनि आन्दोलन गर्छौँ । आन्दोलन किन नगर्ने ? हामी सत्य कुरा मात्रै स्वीकार्छौँ । असत्य कुरा कुनै पनि हालतमा स्वीकार गर्दैनौँ । समिति गठन गरेर छानबिन गर्नुपर्छ । जो दोषी छ कारबाही गरौँ । समिति गठनबिना हुन सक्दैन । समिति गठन गरेर छानबिन गर्नुपर्छ ।’

सांसद रोकाको अभिव्यक्तिपछि नेपाली कांग्रेसका सांसदहरुले बोल्न समय मागेका थिए । तर सभामुखले समय नदिएपछि उनीहरुले वेल घेराउ गरी नाराबाजी गरेका हुन् । कांग्रेस सांसदहरुले ‘संसदमा निष्पक्षता कायम गर, दोषीलाई कारबाही गर । राज्य आतंक बन्द गर ।’ भन्दै झण्डै आधाघण्टा नाराबाजी गरेका थिए । नाराबाजी जारी रहेपछि सभामुख कृष्णबहादुर महराले आउँदो असोज १ गते बिहान ११ बजेसम्मका लागि स्थगित गर्नुभएको थियो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया