नेपाली का‌ंग्रेसद्वारा प्रदेश सभा बैठक अवरुद्ध, आर्थिक मामिला मन्त्रीको राजीनामा माग

 भदौ ३०, २०७६ सोमबार १७:५३:५३ | मुना हमाल
unn.prixa.net

सुर्खेत –  नेपाली कांग्रेसले आर्थिक मामिला तथा योजना मन्त्रीको राजीनामाको माग गर्दै कर्णाली प्रदेश सभाको आजको बैठक अवरुद्ध गरेको  छ  ।

कांग्रेसले आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाको राजीनामा माग गर्दै संसद अवरुद्ध गरेका हुन् । बजेट पारित भएको झण्डै दुई महिना बितिसक्दा पनि बजेटलाई संशोधन गरेर नल्याएको भन्दै मन्त्री ज्वालाको राजीनामा माग गरेको कांग्रेसले जनाएको छ ।

नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले बैठकको सुरुमै बोल्दै सरकारले सदनालाई छलेको भन्दै चर्को आलोचना गर्नुभएको थियो । उहाँले मन्त्री आफैले बजेट पारित गर्दा संशोधनसहित बजेट ल्याउँछु भनेको  प्रतिबद्धता कार्यान्वयन नगरेको र सर्वसम्मत रुपमा पारित भएको बजेट गोप्य राखेकाले मन्त्री ज्वालाको राजीनामा नआएसम्म संसद बैठक चल्न नदिने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘विनियोजन विधेयक २०७६ पारित गर्दा संशोधन गर्ने प्रतिबद्धता कार्यान्वयन भएन । सरकारबाट सदनको मर्यादा नराख्ने काम भयो । सिंगो सदनलाई छल्ने आर्थिक मामिला मन्त्रीको राजीनामा नभएसम्म कसरी संसद चल्न सक्छ ? उहाँको राजीनामा नआएसम्म सदन चल्न दिदैनौँ ।’ नेता शाहीले अहिलेसम्म परिमार्जित गरेर बजेट नल्याएको बताउनुभयो ।

सदनमा सरकारलाई ध्यानाकषर्ण गराएका विषयमा सरकारले चासो नदिएको पनि उहाँले बताउनुभयो ।  ‘सदनमा के–के कुरा उठ्छन । यस्तो बेलामा सम्बन्धित मन्त्रालयका मन्त्री तथा सचिव सहभागी हुन्छन् तर यहाँ हुन्छन् कि हुँदैनन् थाहा हुँदैन । हामीले उठाएका कुरा कार्यान्वयन भयो कि भएन भनेर सोध्योँ भने केही थाहा छैनन् भन्छन्’, उहाँले भन्नुभयो, ‘सदनमा उठेका कुराहरुमा सरकार बेखबर छ ।’

सत्तापक्षकै सांसदहरुले बजेट असन्तुलित भएको भन्दै चर्को आलोचना गरेपछि सरकारले संशोधनसहित ल्याउने प्रतिबद्धता जनाएको थियो । तर बजेट पारित भएको दुई महिना पुगिसक्दा पनि योजनाको किताब नल्याएपछि कांग्रेसले विरोध जनाएको हो ।

बजेटमा चालु खर्च घटाउनुपर्ने, मुख्यमन्त्रीको कार्यालयमा पूर्वाधारका लागि राखिएको पाँच अर्बमध्ये एक अर्ब ९२ करोड बजेट भौतिक मन्त्रालयमा समावेश गर्नेलागयतका सहमति भएपछि बजेट पारित भएको थियो । नेपाली कांग्रेसका सांसदहरु उठेर विरोध जनाएपछि बैठक आधा घण्टाको लागि स्थगित भएको छ ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया