'जुम्ला-रारा म्याराथन दौड'को उपाधि जुम्लाका धिरबहादुर र राममायालाई

 भदौ ३०, २०७६ सोमबार १८:८:२८ | नेत्र शाही
unn.prixa.net

जुम्ला –अन्तर्राष्ट्रियस्तरको दोस्रो 'जुम्ला–रारा अल्ट्राम्याराथन दौड' प्रतियोगितामा जुम्लाका धिरबहादुर बुढा र राममाया बुढाले जित हात पारेका छन् ।  

जुम्ला सदरमुकामबाट ४९ किलोमिटर दूरीको म्याराथन दौडमा पुरुषतर्फ कर्णाली स्पोर्ट क्लब जुम्लाका धिरबहादुर बुढा पहिलो भएका हुन् । उनले ५ घण्टा १३ मिनेटमा दौड पूरा गर्दै प्रथम स्थान हासिल गर्न सफल भए । यसैगरी महिलातर्फ कर्णाली स्पोर्ट क्लबकै राममाया बुढा ६ घण्टा ४६ मिनेट ३५ सेकेण्डमा दूरी पार गर्दै पहिलो भइन् । 

यसैगरी पुरुषतर्फ धिरेन्द्र भण्डारी र त्रिभुवन आर्मी क्लबका देवराज महतारा क्रमशः दोस्रो र तेस्रो हुँदा महिलातर्फ जुम्लाकी मञ्जु रावत र त्रिभुवन आर्मी क्लबकी रेजिना भण्डारीले क्रमशः दोस्रो र तेस्रो भए । 

पहिलो हुनेले ७५ हजार रुपैयाँ, दोस्रो हुनेले ५० हजार रुपैयाँ र तेस्रो हुनेले ३० हजार रुपैयाँसँगै प्रमाणपत्र प्रदान गरियो । खेलाडीहरुलाई रकम कर्णाली प्रदेश सरकारले उपलब्ध गराएको हो । उपाधि उचाल्दा निकै खुशी भएको र अब थप माथिल्लो क्षेत्रमा दौडन हौसला मिलेको महिलातर्फ पहिलो भएकी राममाया बुढाले बताइन् ।  

म्याराथन दौड प्रतियोगितामा चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवाल, विश्व कीर्तिमानी म्याराथन धावक हरिबहादुर रोकाया, विश्व साइकल यात्री पुष्कर शाह, प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले संयुक्त रुपमा भाग लिनु भएको थियो ।

प्रतियोगितामा नेपालका विभिन्न म्याराथन क्षेत्रमा लामो अनुभव बोकेका खेलाडीले भाग लिएका थिए । नाम दर्ता गराएका ६० जना खेलाडीमध्ये ५३ जना खेलाडी  दौडेर रारा ताल पुगेका थिए । 

आयोजकका अनुसार दौडमा भाग लिन नेपालसँगै भारत, नेदरल्याण्ड, बेलायत र डेनमार्कका आधा दर्जन खेलाडी जुम्लादेखि रारा पुगेका थिए । जुम्ला सदरमुकाम हुँदै च्यारे, डाँफे लेक, न्याउरी घाट, भुलभुले चुचेमारा हुँदै रारा जाने रुट तय गरिएको थियो ।  

६ जना खेलाडीले अन्नपूर्णमा प्रतिस्पर्धा गर्न पाउने 

म्याराथनमा पहिलो, दोस्रो र तेस्रो हुने धावकहरुले अन्नपूर्णमा पहिलो पटक हुन लागेको ‘अल्ट्रा म्याराथन २०१९’ को फाइनलमा विश्वका उत्कृष्ट धावकहरुसँग प्रतिस्पर्धा गर्न पाउनेछन् ।  

अन्तिम अपडेट: चैत १९, २०८०

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया