गाेरखामा खारेज भैसकेकाे कार्यालयको भवन बन्याे: अन्य कार्यालयलाई उपयाेग गर्न दिइने

 भदौ ३१, २०७६ मंगलबार १५:४०:३ | किरण लोहनी
unn.prixa.net

गोरखा - गोरखामा खारेज भैसकेको कार्यालयको भवन निर्माण भएको छ ।

पहिलेको जिल्ला भूसंरक्षण कार्यालयको लागि गोरखा नगरपालिका-९, ठिंगुरेस्वाँरामा भवन निर्माण गरिएको हो । भवन निर्माण गरिएकाे कार्यालय भने २०७४ चैत २८ गते खारेज भैसकेको छ ।

गोरखा–आँबुखैरेनी सडकखण्ड अन्तर्गत ठिंगुरेस्वाँरामा कार्यालयको साढे दुई तले भवन निर्माण भएको हो । दुई तल्ला कार्यालय र माथिल्लो तल्ला कार्यालय प्रमुखको आवास कक्षका रुपमा प्रयोग हुनेगरी भवन बनाइएको राष्ट्रिय पुननिर्माण प्राधिकरण अन्तर्गतको जिल्ला आयोजना कार्यान्वयन इकाइले जनाएको छ ।

प्राधिकरणले जिल्लाका पाँचवटा कार्यालयको भवन निर्माण गर्ने क्रममा भूसंरक्षण कार्यालयको पनि नयाँ भवन बनाइएको हो । खारेज हुने निर्णय हुनुभन्दा पहिले नै ठेक्का सम्झौता भएकाले निर्माण अघि बढाइएको भवन अन्तर्गतको जिल्ला आयोजना कार्यान्वयन इकाइले जनाएको छ ।

प्राधिकरणले एकै प्याकेजमा ठेक्का लगाएर भूसंरक्षणसहित जिल्ला सरकारी वकिल, राष्ट्रिय अनुसन्धान, कृषि र हुलाक कार्यालयको भवन निर्माण गरेको हो  । पाँच वटै भवन निर्माणका लागि रवीना, डाँफे ड्रागन जेभी नामको कम्पनीसँग सन् २०१७ को मे २१ तारिखमा ठेक्का सम्झौता भएको जिल्ला आयोजना कार्यान्वयन इकाइ भवनकी प्रमुख सुनीता श्रेष्ठले बताउनुभयो ।

 

सबै भवन निर्माणको कुल लागत १८ करोड १७ लाख रुपैयाँ रहेको उहाँको भनाइ छ । पाँच वटामध्ये पहिलेको जिल्ला कृषि विकास कार्यालय पनि संघीयतासँगै खारेजीमा परेको छ । तर साविकको कृषि कार्यालयको भवनमा गण्डकी प्रदेश सरकारको कृषि ज्ञानकेन्द्र नामको कार्यालय स्थापना गरिएको छ ।

निर्माण पूरा भएपछि त्याे भवन ज्ञानकेन्द्रलाई नै हस्तान्तरण गरिने इकाइ प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । सरकारी वकिल, अनुसन्धान र हुलाक कार्यालय भने यथावत छन् । निर्माण पूरा भएपछि अरु कार्यालय कसलाई हस्तान्तरण गर्ने भन्नेमा समस्या नभए पनि भूसंरक्षण कार्यालयको हकमा भने प्राधिकरणबाट आएको निर्देशन अनुसार गरिने उहाँको भनाइ छ ।

पुननिर्माण प्राधिकरणले भने कुनै न कुनै रुपमा त्याे भवन प्रयोगमा आउने बताएको छ । प्राधिकरणका कार्यकारी समिति सदस्य हरेराम पराजुलीले भन्नुभयो, ‘त्यत्रो भवन बनिसकेको छ, सरकारी सम्पत्ति हो, कुनै न कुनै सरकारी कार्यालयले त्यसलाई उपयोग गर्न सक्छन् ।’

भवन निर्माण पूरा नहुँदै विभिन्न कार्यालयले आफ्ना लागि भवन माग गर्न थालिसकेका जिल्ला आयोजना कार्यान्वयन इकाइले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १, २०८१

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया