भोलिदेखि मात्रै मौसममा सुधार हुने, सावधानी अपनाउन मौसमविदको सल्लाह

 असोज १, २०७६ बुधबार ६:५८:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बुधबार पनि बिहानैदेखि देशका धेरै ठाउँमा पानी परिरहेको छ । काठमाण्डौ, बाँके, बर्दिया, सल्यान, रसुवा, कैलाली, सर्लाही, सिरहालगायतका ठाउँमा अरु ठाउँको तुलनामा ठूलो पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद् मञ्जु बासीले बुधबार दिनभर नै धेरै ठाउँमा पानी पर्ने र बिहीबारदेखि बिस्तारै मौसम खुल्दै जाने बताउनुभयो । बुधबार गण्डकी प्रदेशको धेरैजसो भूभाग र प्रदेश नम्बर २, ३ र ५ का केही भूभागमा मध्यमदेखि ठूलो पानी पर्ने सम्भावना रहेको उहाँको भनाइ छ । 

मनसुनी न्यूनचापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेकाले सोमबार रातिदेखि वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

बिहीबार मनसुन थप सक्रिय भई गण्डकी प्रदेशको धेरैजसो भूभाग तथा प्रदेश नं २, ३ र ५ का भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले ती ठाउँका पहाडी भूभागमा पहिरो जान सक्ने, नारायणी लगायतयका नदीहरूमा बहाव उच्च हुने र तराईमा बहने केही साना नदीहरूमा आकस्मिक बहाव बढ्ने सम्भावना रहेका सचेत रहन महाशाखाले अनुरोध गरेको छ । 

साथै सडक र हवाई यातायातमा समेत अवरोध आउन सक्ने भएकाले सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ । वर्षाका कारण मंगलबार पनि हवाई उडान र अवतरण प्रभावित भएको थियो । लुक्लाबाट काठमाण्डौका लागि उडेका हेलिकोप्टर काभ्रे र सिन्धुलीमा सुरक्षित अवतरण गरेर बेलुकी मात्र काठमाण्डौ अवतरण भएका थिए ।

भारतको मध्य प्रदेशको उत्तर पश्चिमी भागमा र उत्तर प्रदेशको दक्षिण भागमा बनेको न्यूनचापीय रेखा र बङ्गालको खाडीबाट आएको पानी पार्ने हावाको प्रभावका कारण देशभर मनसुनी गतिविधि बढेको मौसमविद् समीर श्रेष्ठले जानकारी दिनुभयो । 

बाढी पूर्वानुमान महाशाखाले बुधबार कोशी, बागमती, नारायणी, पूर्वी राप्ती रिउखोला, आरुण, तिनाउ, बाणगङ्गा मनहरि लोथरखोला, लालबकैयालगायत मकवानपुर, बारा, पर्सा, चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु र दाङ, भई बहने नदीमा बहावले सतर्कता तह पार गर्ने, केहीमा खतरा तह आसपास पुग्न सक्ने भएकाले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया