नागरिकलाई दुःखबाट मुक्त गराउन प्रधानमन्त्री ओलीका तीन उपाय

 असोज १, २०७६ बुधबार १४:३७:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई दुःखबाट मुक्त गराउने तीन वटा उपाय प्रस्तुत गर्नुभएको छ । 

प्रधानमन्त्री ओलीले विद्वान र वीर पुर्खाका जिन, सम्पन्न प्राकृतिक स्रोत र क्रियाशील युवा जनशक्तिलाई परिचालन गरेर जनतालाई दुःखमुक्त गराउनसक्ने बताउनुभएको हो । 

‘नेपाली जनताले दुःख पाउनुपर्ने कुनै कारण छैन, तीन वटा कारण छन, जसले नेपाल पछाडि पर्नुपर्ने आवश्यक्ता छैन’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हामी विद्वान पुर्खाका सन्तान हौँ, विद्वान र वीर पुर्खाका सन्तानको जिन हामीसँग छ । दोस्रो, प्राकृतिक हिसाबले हाम्रो देश सुन्दर मात्रै होइन, अत्यन्तै स्रोत सम्पन्न छ, प्राकृतिक हिसाबले धनी छ । अर्को, अहिले पनि हामीसँग क्रियाशील युवा जनसंख्या ठूलो छ । त्यसकारण नेपाली जनतालाई यी तीन वटै स्रोतको माध्यमबाट विकास गरेर दुःख पाइरहनुपर्ने अवस्थाको अन्त्य गर्न सकिन्छ ।’ 

सातौँ राष्ट्रिय विज्ञान दिवसको अवसर पारेर बुधबार काठमाण्डौमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले विज्ञान र प्रविधिको प्रयोग गरेर पनि देशलाई समृद्ध बनाउने आधार र अवसर रहेको पनि स्पष्ट पार्नुभयो । उहाँले भारतको मोतीहारीबाट अमलेखगञ्जसम्म पाइपलाइनमा पेट्रोलियम पदार्थ ल्याउन सम्भव भएको दृष्टान्त पेस गर्दै त्यसरी नै विज्ञान र प्रविधिको उपयोग गरेर पनि देशलाई समृद्ध बनाउन सकिने पनि बताउनुभयो ।

प्रधानमन्त्री ओलीले युवा वैज्ञानिकहरुलाई उत्साहका साथ काम गर्न पनि आग्रह गर्नुभएको छ । देशको उत्पादनलाई प्रविधिसँग जोड्ने गरी काम गर्न युवाहरुलाई आग्रह गर्दै प्रधानमन्त्री ओलीले त्यसका लागि आवश्यक सबै सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । 

सरकारले वैज्ञानिक तथा विज्ञान र प्रविधिसँग सरोकार राख्ने सबै समूहमा उत्साह वृद्धि गर्ने उद्देश्यका साथ विज्ञान शिक्षामा योगदान पुर्‍याउने काठमाण्डौको ठमेलमा रहेको अमृत साइन्स क्याम्पसको स्थापनाको अवसर पारेर हरेक वर्ष असोज १ गते यो दिवसलाई राष्ट्रिय विज्ञान दिवसको रुपमा मनाउन सुरु गरेको हो । 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया