यस्ताे छ नयाँ बन्ने संसद भवन

 असोज १, २०७६ बुधबार १५:२:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

सिंंहदरबारभित्र संघीय संसदको भवनको शिलान्यास गरिएको छ ।

इन्टरनेशनल स्टेट अफ द आर्टको मोडलमा बनाउन लागिएको संघीय संसद भवनको बुधबार सिंंहदरबारभित्र पुतली बगैँचामा विशेष कार्यक्रमका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको हो ।

संघीय संसद भवन १ सय ७३ रोपनी ८ आना क्षेत्रफलमा बनाउन लागिएको संघीय संसद भवनको निर्माण लागत अनुमान ७ अर्ब ७३ करोड ५२ लाख ४ हजार ७ सय ३१ रुपैयाँ रहेको छ । मूल्यवृद्धि र विभिन्न कन्टिजेन्सीसहित बजेट व्यवस्थापन प्रयोजनका लागि सम्पूर्ण निर्माण कार्यको लागत भने झण्डै ९ अर्ब ६० करोड लाग्ने बताइएकाे छ ।

कार्यक्रममा शहरी विकास मन्त्री मोहमद इस्तियाक राईले संघीय ससद भवन निर्धारित समयमै सम्पन्न गरिने प्रतिबद्धता जनाउनुभयो ।

के के बन्नेछन्?

संघीय संसद भवन परिसरभित्र प्रतिनिधिसभा भवन, राष्ट्रियसभा भवन, कमन लबि,अति विशिष्ट व्यक्तिहरुको लागि कार्यालय भवन, पुस्तकालय र संग्रहालय, संसदीय दलको कार्यालय भवन,  संसदीय समितिको भवन, चमेना गृह, प्रेस-छपाइ भवन र ७ सय वटा सवारी साधन अट्ने पार्किङ एवं सुरक्षाकर्मीको भवन बन्नेछन् ।

परिसरभित्रका भवनहरु ३ देखि ५ तलासम्मका बनाइनेछ । प्रतिनिधिसभाको भवन ४ सय सिट क्षमताको र राष्ट्रियसभाको भवन १ सय सिट क्षमताको बन्नेछन् ।

तीन वटा क्षेत्र

संसद भवन परिसरलाई भवन क्षेत्र, खुल्ला, हरियाली क्षेत्र र पार्किङ्ग क्षेत्र तथा सडक पूर्वाधार क्षेत्र गरी तीन वटा क्षेत्रमा विभाजन गरिएको छ । भवनले २७, खुल्ला हरियाली क्षेत्रले ४५ र २८ प्रतिशत क्षेत्रफल सडक पूर्वाधारले ओगटेको हुनेछ ।

परिसरको मूल ढोका दक्षिण तर्फ रहने छ । उत्तर पश्चिमको गेटबाट सांसदहरुलाई प्रवेश गराइने छ भने दक्षिण पूर्वमा कर्मचारी तथा सर्वसाधरण प्रवेशको लागि गेट रहने छ । सबै गेटमा जाँचका लागि आधुनिक सुरक्षा प्रविधि जडान गरिएको हुनेछ ।

संसदको आफ्नै भवन नहुँदा अन्तराष्ट्रिय सम्मेलन केन्द्रलाई भाडामा लिएर संघीय संसदका दुवै सदनको बैठक सञ्चालन हुँदै आएका छन् । सचिवालय र समितिका बैठकहरु भने सिंंहदरबारभित्र सञ्चालन हुँदै आएका छन् ।

नयाँ भवन निर्माण सम्पन्न भएपछि संघीय संसदका आवश्यक सम्पूर्ण कार्यालयहरु एकै स्थानमा व्यवस्थित ढंगले हुनेछन् ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया