विदेशबाट फर्केर गाउँमै अलैँची खेती: कृषिकाे आम्दानीले विदेश जाँदा लागेकाे ऋण चुक्ता

 असोज १, २०७६ बुधबार १५:५४:१ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – परिवारको सुख र खुशी खोज्नका लागि परदेश भासिनुभयो, लमजुङ, बेसीशहर–१०, खाँचेका सोमबहादुर तामाङ । पहिलो पटक वैदेशिक रोजगारीका लागि मलेशिया जानुभएका सोमबहादुरले मलेसियामा १८ महिना जागिरे जीवन बिताउनुभयो । तर परदेशमा काम र कमाइ गतिलो भएन । 

दुःख धेरै, कमाइ कम !  

‘हातमा खासै सिप थिएन । झनै परदेशको ठाउँ दुःख ज्यादा, कमाइ कम ! त्यसैले विदेश बसिरहन मन लागेन,’ उहाँले आफ्नो पहिलो विदेश बसाइको अनुभव साट्नुभयो । त्यसपछि उहाँ गाउँ फिर्ती हुनुभयो । विदेशबाट फर्केपछि व्यवसायिक ढंगले नभइ निर्वाहमुखी ढंगले गाउँमै खेती–किसानीमै उहाँको दिनचर्या बित्न थाल्यो । 

घर–व्यवहारले झनै च्यापेपछि सोमबहादुरले फेरि विदेश जाने सोच बनाउनुभयो र दोश्रोपल्ट २०६३ सालमा मलेसिया नै जानुभयो। दोश्रोपल्ट विदेश जाँदा पनि ‘काम र कमाइ’ राम्रो भएन । विदेश जाँदा लागेको ऋण तिर्न समेत धौ–धौ भयो।

‘विदेश भन्नु पनि यस्तै रहेछ’ भन्दै गाउँमै फर्की गाउँमै केही उद्यम गर्ने सोच बनाएर उहाँ मलेसिया गएको एक वर्षमै उहाँ फेरि गाउँ नै फर्कनुभयो ।

गाउँ फिर्ती, अलैँची खेती सुरु

गाउँमा फर्केपछि उहाँले पहिलेदेखि गरिआएकाे अलैँची खेतीलाई व्यवसायिक रुपले अघि बढाउने योजना बनाएर २०६४ सालमा १० रोपनी जग्गामा अलैँची लगाउनुभयो । २०५५ सालदेखि सामान्य ढंगले गरिएको अलैँची खेतीबाट राम्रो कमाउन सकिने सम्भावना भए पनि त्यतिबेला अलैँचीको मूल्य र माग नभएकाे उहाँले बताउनुभयाे। 

२०५४, ५५ सालमा प्रतिकेजी ५६ रुपैयाँमा बिक्ने अलैँचीले २०६५ सालपछिराम्रो मूल्य पाउन थाल्यो । 

अलैँचीले विदेश जानबाट राेक्याे

अलैँची खेतीमा लागेपछि फेरि विदेश जानुपर्ने अवस्था नआएको उहाँ बताउनुहुन्छ । ‘व्यवसायिक अलैँची खेतीमा लागेपछि विदेश जाँदा लागेको ऋण पनि तिरेँ,’ उहाँले मुस्कुराउँदै भन्नुभयो, ‘अलैँची खेतीले विदेश जाने बाटो छेक्यो । यसैबाट राम्रो कमाइ भएको छ । सजिलै परिवारको गुजारा चलेको छ ।’ 

उहाँले अहिले अलैँची खेती विस्तार गरिसक्नुभएको छ । पुरानो बगैँचामा ३० रोपनी र नयाँ ठाउँमा झण्डै ४० रोपनी जग्गामा अलैँची लगाउनुभएकाे छ उहाँले । नयाँ ठाउँबाट अर्को वर्षबाट उत्पादन सुरु हुने उहाँकाे भनाइ छ ।

१० लाखसम्म कमाइ

अलैँची खेतीबाट उहाँले वार्षिक ९ देखी १० लाख रुपैयाँसम्म कमाउनु भएको छ । विगतका वर्षमा ४–५ क्विन्टलसम्म अलैँची उत्पादन गर्न सफल भएकोले झण्डै १० लाखसम्म कमाइ गरेको उहाँकाे अनुभव छ । अहिले उहाँ पुराना बगैँचामा लगाइएको रामसाइ, गोलसाइ र भर्लाङ्गे जातको अलैँची टिप्न जुट्नुभएको छ ।यसवर्ष पुरानो बगैँचाबाट मात्रै २ क्विन्टल अलैँची उत्पादन हुने उहाँकाे अनुमान छ । 

बिरुवा बिक्रीबाट पनि राम्रो कमाइ

उहाँले ‘खाँचे अलैँची तथा जडीबुटी नर्सरी फर्म’ दर्ता गरी बिरुवा पनि उत्पादन र बिक्री गर्दै आउनुभएको छ । गएकाे वर्ष प्रति बिरुवा ६ रुपैयाँका दरले झण्डै ७० हजार अलैँचीको बिरुवा बिक्री गरेको उहाँ बताउनुहुनछ । यसवर्ष झण्डै ६५ हजार अलैँचीको बिरुवा बिक्री गर्न सफल भएको उहाँले सुनाउनुभयो ।

यसैगरी, यस वर्ष आफ्नै नर्सरीमा उत्पादित प्रति बिरुवा १५ रुपैयाँका दरले ३५ सय कफीको बिरुवा पनि बिक्री गरेकाे उहाँ बताउनुहुन्छ । उहाँले अलैँची उत्पादनसँगै अलैँची, कफी, कागती र सतुवाको बिरुवा उत्पादन र बिक्री गर्दै आउनुभएको छ । 

साथमा व्यवसायिक बाख्रापालन 

उहाँले व्यावसायिक बाख्रापालन पनि गर्दै आउनुभएको छ । दिपेन बाख्रा फर्म’ दर्ता गरेर २०७० सालबाट उहाँले बाख्रा पाल्दै आउनुभएको हाे । ‘सुरुमा १४ वटा माउ बाख्राबाट सुरु गरेको बाख्रापालन व्यवसायमा अहिले साना–ठूला गरी झण्डै ५० वटा बाख्रा भएकाे र एक जनालाई रोजगारी समेत दिएको उहाँ बताउनुहुन्छ ।

२ छोरी र एक छोराका बुवा सोमबहादुरलाई कृषि कर्ममा श्रीमती उमिका तामाङको पनि साथ–सहयोग मिलेको छ । परिवारको साथमा गाउँघरकै माटोमा उद्यम गरी सहजै जीवन चलाउन पाउँदा तामाङ दम्पती खुशी छ । कृषि कर्मलाई थप व्यवस्थित र विस्तार गर्दै लगेर केही युवालाई रोजगारी दिने योजना रहेकाे तामाङले बताउनुभयाे । 

अन्तिम अपडेट: असोज २४, २०७६

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया