आँखा चिकित्सक डा. रुइतकाे जीवनीकाे नेपाली अनुवाद आउँदै

 असोज १, २०७६ बुधबार १८:३१:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली आँखा चिकित्सक डा. सन्दुक रूइतको जीवनी सन्दुक रूइत आउँदो असोज ११ गते सार्वजनिक हुने भएको छ । अस्ट्रेलियन पत्रकार अली ग्रिपरले लेखेको किताबको लेखक खगेन्द्र सङ्ग्रौलाले नेपालीमा अनुवाद गर्नुभएको हो । 

म्यागासेसे, पद्मभूषण जस्ता प्रतिष्ठित पुरस्कार प्राप्त गर्नुभएको डा. रुइतले भन्नुभयो, ‘अङ्ग्रेजीमा लेखिएको मेरो जीवनी नेपालीमा अनुवाद हुने हुँदा म निकै हर्षित भएको छु । मेरो पुस्तकले कसैलाई परोपकार वा सत्कर्मको बाटोमा लाग्न प्रेरित गर्‍यो भने मेरो जीवनी सार्थक भयो भन्ने म ठान्नेछु ।’ 

‘सन्दुक रूइतको जीवन जिज्ञासा र अन्वेषण, सङ्घर्ष र सङ्कल्प, साहस र सेवाभाव, करूणा र परोपकार तथा त्याग र समर्पणले ओतप्रोत एवम् सादा जीवन, उच्च विचारको आदर्शले शोभित सानदार जीवन हो । रूइतको नागबेली जीवनयात्रा बहुआयामिक विशिष्टतायुक्त, प्रेरणादायी एवम् अनुकरणीय छ । यस्ता उत्कृष्ट मानिसको भव्य जीवन कथा अनुवाद गर्दाका क्षण मेरो जीवनका सुखद र सार्थक क्षणहरु हुन्’, पुस्तक अनुवादक सङ्ग्रौलाले भन्नुभयो । 

प्रकाशक फाइनप्रिन्टका प्रमुख कार्यकारी अधिकृत नीरज भारीले भन्नुभयो, ‘विनयशीलता र परोकारका प्रतिक डा. रूइतको जीवनी प्रकाशन गर्न पाउनु हाम्रा लागि ठूलो सौभाग्य हो । यो हामीले उहाँलाई गर्न सक्ने सम्मान पनि हो । मलाई लाग्छ, जोन उडको ‘माइक्रोसफ्टदेखि बाहुँनडाँडासम्म’ले जस्तै यो पुस्तकले पनि वैभव र विलासको जीवन त्यागेर संसारलाई असल बनाउने कर्ममा लाग्न हामीलाई प्रेरित गर्छ ।’

त्यो पुस्तक अस्ट्रेलियन प्रकाशन गृह एलेन एण्ड अनविनले पहिलो पटक अङ्ग्रेजीमा प्रकाशन गरेको हो । अनविन प्रकाशन गृहसँग अनुवाद अधिकार लिएर फाइनप्रिन्टले नेपालीमा छापेको हो ।

डा. रूइतको जीवनी लाखौं मानिसलाई आँखाको ज्योति प्रदान गर्ने एक नेत्र चिकित्सकको प्रेरणादायी कथा हो ।

संसारका चिकित्सकीय संस्थापन पक्षसँग निरन्तर लड्दै सबैभन्दा गरिब र असहाय मानिसलाई नेत्र ज्योति उपहार दिएर उनीहरुको जीवनलाई अँध्यारोबाट उज्यालोतिर मोडिदिने अद्भूत डा. रूइतको जीवन्त एवम् रोचक कथा हो, यो पुस्तक । 

यसमा विभेदकारी जात प्रथाको सबैभन्दा तल्लो तहमा दुर्गम हिमाली गाउँमा जन्मिएर कठिन प्रयत्न एवम् अथक सङ्घर्षका अनेक घुम्ती पार गर्दै संसारकै सबैभन्दा आदरणीयमध्ये एक बन्नुभएका नेत्र विशेषज्ञको जीवनवृत्तको रोमाञ्चक गाथा लेखिएको छ । 

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया