असोज ३ र ४ गते इलाम साहित्य महोत्सव

 असोज १, २०७६ बुधबार १८:२७:२७ | सुजता सुनुवार
unn.prixa.net

इलाम – इलाममा हुन लागेको दुई दिने साहित्य महोत्सवको तयारी पूरा भएको छ । आउँदो असोज ३ र ४ गते इलाममा हुने साहित्य महोत्सव ‘पर्यटनका लागि साहित्य’ भन्ने मूल नाराका साथ सम्पन्न गरिने आयोजक इलाम साहित्य समाजका अध्यक्ष प्रकाश थाम्सुहाङले जानकारी दिनुभयो ।

उहाँका अनुसार, महोत्सवमा साहित्यकार, कलाकारदेखि राजनीतिज्ञहरुले विभिन्न शीर्षकमा बहस गर्नेछन् । इलाम साहित्य समाजले स्थानीय तह, प्रदेश सरकार, पर्यटन बोर्ड, नेपाल प्रज्ञा प्रतिष्ठानलगायतका संस्थासँगको सहकार्यमा महोत्सव आयोजनाको तयारी गरेको बताइएको छ ।

महोत्सवमा संस्कृति पर्यटन तथा नागरिक उड्डययन मन्त्री योगेश भट्टराई, नेपाली कांग्रेसका प्रवक्ता तथा युवा नेता विश्वप्रकाश शर्मा, चिन्तक प्रदिप गिरी, अभिनेता दयाहाङ राई, कवि श्रवण मुकारुङ, मोमिला जोशी, आख्यानकार राजन मुकारुङसहित अन्य ख्याति प्राप्त साहित्यकार, लेखक, विश्लेषक, कलाकार, राजनीतिज्ञलगायत ढेड सय बढीको सहभागिता रहनेछ । उनीहरुले महोत्सवको अवसरमा विभिन्न विषयका १५ वटा सेसनहरुमा बहस तथा विमर्श गर्ने छन् ।

कार्यक्रमको पहिलो दिन ‘आलोचनात्मक चेत र लोकतन्त्र’बारे वक्ता प्रा.डा. सञ्जीव उप्रेती, ‘सत्ता कि प्रतिपक्ष’ शीर्षकमा वक्ताहरु श्रवण मुकारुङ, मोमिला जोशी, मनु मञ्जील र सहजकर्तामा विमल वैद्य,  ‘अ’ मा अल्झेको इलाम’ विषयमा वक्ताहरु युद्धप्रसाद वैद्य, महेश बस्नेत, विष्णु निष्ठुरी, राजेन्द्र बराल र सहजकर्तामा केदार शर्माको जमघट हुनेछ ।

त्यस्तै, ‘मानक माथि प्रश्न’ विषयमा मुख्य वक्ता राजन मुकारुङ, मिश्र वैजयन्ती, उज्ज्वल प्रसाई र सहजकर्तामा महेश पौड्याल रहने छन् ।

त्यस्तै ‘किन बिक्न छोड्यो आख्यान’ विषयमा मुख्य वक्तामा प्रकाश बुढाथोकी, बीना थिङ र प्रेम ओझा रहने र सहजकर्ता बालिका थपलिया रहनेछिन् । ‘करोड क्लबसहित अफवाह’ शीर्षकको सिनेमा विधामा मुख्य वक्तामा दयाहाङ राई, अनुप सुवेदी, ब्रजेशको र सहजकर्तामा अन्वेश थुलुङ राईको प्रस्तुति सुन्न पाइनेछ । साँझ काव्य साँझ रहनेछ । त्यसमा विभिन्न साहित्यकारहरुको साहित्य वाचन हुने कार्यक्रम रहेको छ ।

दोश्रो दिन हुने कार्यक्रममा भने पर्यटनको आयाम सम्बन्धमा मुख्य वक्ता हरिशचन्द्र राई, केशव धौराली डा. देवी क्षेत्री दुलाल र सहजकर्तामा धर्म गौतम रहनु भएको छ । ‘सिनेमाको सन्देश’ शीर्षकमा वत्ता प्रकाश आङ्गदेम्बे, स्वस्तिमा खड्का र सहजकर्तामा सुरेन्द्र राई रहने बताइएको छ ।

यस्तै साहित्यको पछिल्ला आन्दोलनहरुको सन्दर्भमा उन्मुक्त पुस्ता, फरक आयाम, र सहजकर्तामा मुनाराज शेर्मा रहनेछन् भने नेपाली साहित्यमा मन्धुम विधामा मुख्य  वक्ता भूपाल राई र धर्मेन्द्रविक्रम नेम्वाङ, सहजकर्ता गणेशकुमार राई रहनेछन् । ‘गीतको दुःख’ नामक सत्रमा मुख्य वक्तामा गणेश रसिक, कोमल निरौला, गुरुङ सुशान्त, र सहजकर्तामा युविर चेम्जोङ्ग रहनेछन् ।

त्यस्तै, ‘गणतन्त्र कसबाट खतरामा’ सत्रमा मुख्य वक्ता विश्व प्रकाश शर्मा, योगेश भट्टराई, खगेन्द्र संग्रौला र सहजकर्तामा बसन्त बस्नेत रहनु हुनेछ ।

यस साहित्य सम्मेलनमा रैथाने विचार र मुद्दालाई बहसमा ल्याउने र मोफसलका साहित्यकार र  वक्ताहरुलाई नै प्राथमिकता दिँदै उजागर गर्ने समाजका अध्यक्ष थाम्सुहाङ्गले जानकारी दिनुभयो ।

महोत्सवको दोस्रो दिन कार्यक्रम समापन हुनुअघि नेपाली कांग्रेसका नेता तथा चिन्तक प्रदीप गिरिले ‘राजनीति र साहित्य’ शीर्षकमा मन्तव्य व्यक्त गर्ने कार्यक्रम रहेको छ ।

इलाममा यसअघि साहित्यिक महोत्सव, समारोह तथा सम्मेलन २००९, २०४५, २०६३ २०६९ सालमा गरी चार पटक गरिएको थियो । झण्डै ७ वर्षपछि इलाममा पुनः साहित्यिक महोत्सव गर्न लागिएको हो । 

कार्यक्रम तालिका हेर्नुहाेस्

अन्तिम अपडेट: चैत १, २०८०

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया