संखुवासभा दुर्घटना: गोताखोर नआउँदा अरुण नदीमा बेपत्ताहरुकाे खाेजी प्रभावित

 असोज १, २०७६ बुधबार १८:५०:९ | उज्यालो सहकर्मी
unn.prixa.net

संखुवासभा - मौसम खराबीका कारण गोताखोरकाे टोली आउन नसकेपछि मंगलबार राति अरुण नदीमा जीप खस्दा बेपत्ता भएकाहरुको खोजी कार्य अगाडि बढ्न सकेकाे छैन ।

मंगलबार राति खाँदबारीबाट बिरामी बोकेर धरानतर्फ जाँदै गरेको को १ ज ३७४९ नम्बरको जीप अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका थिए । बेपत्ता हुनेमा खाँदबारी नगरपालिका–९ ढुङगेधारा घर भएका २४ वर्षीय संगम श्रेष्ठ उनकै श्रीमती २३ वर्षीया सदिक्षा राई श्रेष्ठ, उनीहरुङ्का दुई महिने छोरा समिर श्रेष्ठ, २४ वर्षीय प्रमेश थापामगर, २९ वर्षीय खबरमान पिठाकोटी र खाँदबारी–९ घर भएका जीपका चालक २५ वर्षीय सन्तोष विश्वकर्मा रहेका छन् ।

बुधबार घटनास्थल पुगेर प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु र राजनैतिक दलले प्रत्यक्ष अवलोकन गरेपछि छिटोभन्दा छिटो बेपत्ताहरुको खोजी गर्न गोताखोर टोली बोलाइएको भए पनि अविरल वर्षाका कारण हेलिकप्टर नउड्दा गोताखोर टोली आउन नसकेको संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले बताउनुभयो ।

अहिले पनि त्यस क्षेत्र र वरपरका भागमा अविरल पानी परिरहेकाे छ भने अरुण नदीमा पानीको सतह बढेकाे छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाकाे टोलीले खोजी कार्य जारी राखेको संखुवासभाका प्रनायब उपरीक्षक डीएसपी मिम लामाले बताउनुभयो । 

प्रमेशका भिनाजु खबरमानको घर खोटाङ जिल्ला मास्तीम भन्ने ठाउँ भए पनि उनी लामो समयदेखि खाँदबारी नगरपालिका–९ ढुङगेधारामा रहेकाे ससुरालीमा बस्दै आएका थिए । बेपत्ता भएका ६ जना नै एउटै गाउँका छिमेकीहरु हुन् । खाँदबारीबाट करिब साढे ८ बजे गुडेको जीप राति पौने ११बजेको अक्करको भीरमा दुर्घटना भएको थियाे । सडकबाट झण्डै ५० मिटर तल अरुण नदिमा खसेकाे जीप यात्रुसहित बेपत्ता अवस्थामा छ । 

जिल्ला अस्पताल खाँदबारीमा भर्ना भएका प्रमेश मृगौलाको बिरामी थिए भने समिरलाई निमोनिया भएको थियो । उनीहरुको जिल्ला अस्पतालमा उपचार गर्न संम्भव नभएकाले थप उपचारको लागी धरान बिरामी बोकेर उपचारको लागी धरान स्थित बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरिएको थियो । उनीहरुलाई  धरानतर्फ लैजाने क्रममा जीप दुर्घटना भएकाे थियाे ।

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया