चितवनमा साहसिक खेल 'जिपलाइन' काे सुरुवात

 असोज १, २०७६ बुधबार २०:४३:३० | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन – चितवनको जलदेवी सामुदायिक वनमा साहसिक खेल 'जिपलाइन' सञ्चालनमा आएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउनको लागि सामुदायिक वनले पर्यटकलाई आकर्षित गर्न 'जिपलाइन'को सुरु गरेको हो । 

प्रदेश ३ का पर्यटन मन्त्री अरुण नेपालले एक कार्यक्रमका बीच 'जिपलाइन'को उद्घाटन गरेसँगै सर्वसाधारणको लागि खुला भएको छ । भ्रमण वर्षलाई लक्षित गर्दै सामुदायिक वनले पर्यटक भित्र्याउन सहयोग पुग्ने उद्देश्यले ‘जिपलाइन’ सञ्चालनमा ल्याएको जलदेवी सामुदायिक वनका अध्यक्ष केशवबहादुर थापाले बताउनुभयो । 

यो खेल चितवनको लागि नयाँ भएको र पर्या-पर्यटनमा काम गर्दै आएको सामुदायिक वनले ‘जिपलाइन’ सञ्चालनमा ल्याएपछि चितवन आउने पर्यटकहरुको बसाइ लम्बिनेमा पर्यटन व्यवसायी ढुक्क देखिन्छन् । सामुदायिक वनको ५१ प्रतिशत र निजी क्षेत्रको ४९ प्रतिशत लगानीमा ‘जिपलाइन’ निर्माणको काम भएको बताउँदै अध्यक्ष थापाले ‘जिपलाइन’बाट आउने कुल नाफा बापतको १० प्रतिशत रकम वनले नै प्रयोग गर्ने जानकारी दिनुभएको छ । 

जलदेवी 'जिपलाइन' परियोजनाअन्तर्गत ७५ लाख रुपैयाँ लगानी भैसकेको र अझै निर्माणका क्रममा रहेकाले झण्डै एक करोड लाग्ने अनुमान गरिएको छ । सामुदायिक वन र वाइल्ड वन्डर्स नेपालको संयुक्त लगानीमा निर्माण भएको जिपलाइन एक वर्ष अघिदेखि निर्माण सुरु भएको थियो । 

'जिपलाइन' खेलमा कम्मरमा विशेष प्रकारको डोरी बाँधेर, चराको पखेटाझैँ हात फैलाएर झण्डै एक मिनेट हावामा उडेको महसुस हुनेगरी ‘सुपरम्यान फ्लाइङ’ गर्न सकिन्छ ।  साना बालबालिकाका लागि भने छुट्टै 'जिपलाइन' निर्माण गरिएको छ ।

टिकटको मूल्य बालबालिकाका लागि एक सय रुपैयाँ र अरुका लागि पाँच सय रुपैयाँ तोकिएको छ । टिकटमा सात लाख रुपैयाँको बीमा समेत गरिएको अध्यक्ष थापाले जानकारी दिनुभयो । नेपालमा काभ्रे र पोखरामा 'जिपलाइन' खेल भए पनि यो चाहिँ सामुदायिक वनभित्रकै पहिलो जिपलाइन हो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया