बाढीले बाँकेका सयौँ घर डुबानमा

 असोज २, २०७६ बिहिबार ८:५४:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

बाँके – बाढीका कारण बाँकेका सयौँ घर डुबानमा परेका छन् । बाढीले खजुरा गाउँपालिका, जानकी गाउँपालिका र नेपालगञ्ज उपमहानगरपालिका बढी प्रभावित भएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार, खजुरा गाउँपालिकामा मानखोला र जेठी नालामा आएको बाढीका कारण दशविगाह, आठ विगाह र सिन्दुरे गाउँ डुबानमा परेका छन् । ६४ घरपरिवारका २५३ जना जनसेवा माविमा आश्रय लिएर बसिरहेका छन् । 

यसैगरी जानकी गाउँपालिकाको शिवपुरी र साइगाउँ क्षेत्रमा पनि बाढीको पानी घरभित्र पस्दा चार परिवार विस्थापित भएका छन् । अन्य घरहरुमा समेत पानी पसेको छ । नेपालगञ्ज उप–महानगरपालिकाका दर्जनौं घरहरुमा पानी पसेको स्थानीयले जनाएका छन् ।

सीमामा भारतले निर्माण गरेको बाँधका कारण सीमा क्षेत्रमा नेपाली गाउँहरु डुबानमा परेका हुन् । बाढीका कारण नेपालगञ्ज–गुलरिया सडकखण्ड बुधबारदेखि नै प्रभावित भएका छ ।

बिहिबार बिहानदेखि नेपालगञ्ज र अन्य क्षेत्रमा पानीको सतह घट्न थालेको छ । वर्षाका कारण नेपालगञ्ज विमानस्थलबाट पहाडी तथा हिमाली जिल्लामा हुने उडान प्रभावित भएका छन् । जिल्ला प्रशासन कार्यालय, रेडक्रस र पलिकाहरुले विस्थापित बाढी प्रभावितलाई खानेकुराको व्यवस्था मिलाएका छन् ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया