दक्षिण अफ्रिकाविरुद्ध भारत सात विकेटले विजयी

 असोज २, २०७६ बिहिबार ९:२५:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टी–२० खेलमा भारतले सात विकेटको जित हात पारेको छ । तीन टी–२० खेलको श्रृङ्खला अन्तर्गत मोहालीमा भएको दोस्रो खेलमा विराट कोहलीले अर्धशतकीय योगदान दिँदा भारतले जित हात पारेको हो ।

दक्षिण अफ्रिकाले दिएको १५० रनको सामान्य लक्ष्य भारतले एक ओभर अगावै तीन विकेट गुमाएर पूरा गर्‍यो । भारतका लागि विराट कोहलीले ५२ बलमा ७२ रनको योगदान दिएका थिए । उनले चार चौका र तीन छक्का प्रहार गरेका थिए । यस्तै शिखर धवनले ४० रन बनाए भने श्रेयस ऐयरले १६ रन जोडे ।

यसअघि दक्षिण अफ्रिकाले २० ओभरमा पाँच विकेट गुमाउँदै १४९ रन बनाएको थियो । यो खेलमा दक्षिण अफ्रिकाका लागि तीन जना खेलाडीले डेब्यू गरेका थिए । तेम्बा बभुमा, बोर्न फोर्टुन र एनरिच नोर्टेले पहिलो खेल खेलेका थिए । बभुमाले दक्षिण अफ्रिकाका लागि ४९ रनको उत्कृष्ट योगदान दिए । त्यस्तै, क्वीन्टन डिककले ५२ रनको अर्धशतकीय योगदान दिए । अन्यको प्रदर्शन राम्रो रहेन ।

यो जितसँगै भारतले तीन खेलको सिरिजमा १–० को अग्रता लिएको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया