विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको व्यवस्था गर्न सकारात्मक छाैँ : निर्वाचन आयाेग

 असोज २, २०७६ बिहिबार १४:२६:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको व्यवस्था गर्न आयोग सकारात्मक रहेको प्रतिक्रिया दिएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको व्यवस्था गर्न आयोग सकारात्मक रहेको बताउनु भएको हो । तर त्यसका लागि सरकारले छुट्टै कानुनी व्यवस्था गर्नुपर्ने आयोगको निष्कर्ष छ ।

बिहीबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगले विदेशमा रहेका नेपालीहरुलाई कसरी मतदानमा भाग लिने व्यवस्था गर्ने भन्ने सन्दर्भमा विभिन्न अध्ययन भइरहेको जानकारी गराउँदै त्यसका लागि अनलाईन, हुलाक वा मोबाइलबाट मतदान गर्ने कानुनी व्यवस्था गर्न उपयुक्त हुने सुझाव पनि सरकारलाई दिनुभयो ।

आयोगले बुथ राखेर विदेशमा रहेका नेपाली नागरिकहरुले मतदान गर्ने विद्यमान कानुनी व्यवस्थाको प्रयोजन हुने अवस्था नरहेकाले सरकारले अन्य विकल्पको प्रयोगका लागि नयाँ कानुन बनाउनुपर्ने पनि स्पष्ट पारेको छ ।

निर्वाचन आयोगले आउँदो मंसिर १४ गते हुने उपचुनावको तयारीको कामलाई तीव्रता दिइएको पनि जनाएको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले त्यस चुनावका लागि मतदाता नामावली अध्यावधिक गर्ने कामलाई सुरु गरिएको पनि समितिलाई जानकारी गराउनुभयो ।

२१ वटा राजनीतिक दलहरुले आउँदो उपचुनावमा भाग लिनका लागि निवेदन दिएको पनि निर्वाचन आयोगले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदाता नामावली अध्यावधिकको काम एक हप्ताभित्र सकेर मतदाता परिचय पत्र वितरणको कामलाई सुरु गर्ने पनि स्पष्ट पार्नुभयो ।

आउँदो मंसिर १४ गते प्रतिनिधि सभाको कास्की क्षेत्र नम्बर २, प्रदेश सभाअन्तर्गत बाग्लुङ, दाङ र भक्तपुर तथा स्थानीय तहका ४७ वटा रिक्त सिटमा उपचुनाव हुँदैछ ।

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया