संखुवासभा जीप दुर्घटना: पानी परेपछि खाेजी कार्य प्रभावित

 असोज ३, २०७६ शुक्रबार १८:५८:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

संखुवासभा - धर्मदेवी नगरपालिका–८ अक्करको भिरबाट जीप खसेर अरुण नदीमा बेपत्ता भएकाहरुको खाेजी कार्य पानी परेका कारण प्रभावित भएको छ ।

शुक्रबार बिहान ८ बजेदेखि ४ जनाको गोताखोर टोलीले खोजी कार्य जारी राखे पनि दिउँसो ३ बजेतिर पानी परेपछि खोजी कार्य प्रभावित भएको हो । अरुण नदीमा गोताखोर टोलीले विभिन्न उपकरणहरुको प्रयोग गर्दै खोजी गरिरहेका थिए । वर्षाका कारण त्यस क्षेत्रमा पानीको बहाव बढेपछ टोली फर्किएको छ ।

 

काठमाण्डाैबाट आएको तालिमप्राप्त गोताखोर टोलीले दुई दिनसम्म खोजी गर्दा पनि अरुण नदीमा खसेकाे जीप र त्यसमा रहेका यात्रुहरुबारे पत्ता लाग्न सकेको छैन । गाेताखाे टाेलीले सडकबाट जीप खसेको देखिएको स्थानको वरपर चारैतिर पानी भित्रसम्म डुबेर खोजी गरेका हुन् ।

 

अरुण नदिको अक्करको भिरमा जीप खसेको ठाउँमा पानीको गहिराइ ४० फिट रहेको खोजी कार्यमा संलग्न हवल्दार बलराम अधिकारीले बताउनुभयो । बगेको पानी र अरुण नदीको छाल ठूलो भएकाले गहिराइसम्म पुगेर खोजी गर्न गोताखोर टोलीलाई समस्या भइरहेको छ ।

 

‘बाढीका कारण पानी लेदोसहितकाे धमिलो छ । पानीभित्र पस्दा आँखाले झण्डै एक मिटरको हाराहारी मात्रै देखिन्छ । तर हामीलाई विश्वास छ हामी पत्ता लगाउँछौँ ’, अधिकारीले भन्नुभयो । 

 

वर्षातका कारण अरुण नदीमा पानीको सतह बढेको र र धमिलो भएको हुँदा जीपको खोजी गर्न समस्या भएको बताउँदै जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक मिमबहादुर लामाले शनिबार पनि खोजी कार्यलाई बिहानैदेखि जारी राख्ने बताउनुभयो ।  

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया