विपद्का पाँच महिना :  दाङमा ४३ जनाको ज्यान गयो, झण्डै एक अर्बको क्षति

 असोज ४, २०७६ शनिबार ७:६:५७ | हेमराज शर्मा
unn.prixa.net

दाङ – गएको ५ महिनामा दाङ विभिन्न विपदमा परि ४३ जनाको ज्यान गएको छ । त्यस्तै झण्डै एक अर्बको भौतिक क्षति भएको छ ।

गएको वैशाखदेखि भदौ महिनासम्म विभिन्न विपदमा परेका ३२ पुरुष र ११ जना महिलाको ज्यान गएको हो । सबैभन्दा धेरै पानीमा डुबेर ज्यान गएको छ । पानीमा डुबेर र बगेर मात्रै पाँच महिनामा २३ जनाको ज्यान गएको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जानकारी दिएको छ । जसमा बगेर ४ पुरुष र एक महिलाको ज्यान गएकोे छ । त्यसैगरी, पोखरी तथा कुवामा डुबेर मात्रै ११ पुरुष र ५ महिलाको ज्यान गएकोे कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकारी खिलानाथ दाहालले जानकारी दिनुभएको छ ।

खहरे खोलाले बगाउँदा २ पुरुषको ज्यान गएकोे छ । आगलागीमा परि एक–एक जना महिला पुरुषको ज्यान गएकोे छ भने करेन्ट लागेर ३ जनाको ज्यान गएको छ ।

यसैबीच दाङमा सर्पले टोकेर ४ जना पुरुष र ३ महिला गरी ७ जनाको ज्यान गएको छ । चट्याङका कारण ३ पुरुष र एक महिलाको ज्यान गएको केन्द्रको तथ्यांकमा छ । यसैगरी काम गर्ने क्रममा सिमेन्ट उद्योगको प्लान्टबाट खसेर ३ जना र रुखबाट खसेर एक जनाको ज्यान गएको छ ।

झण्डै एक अर्बको क्षति

प्राकृतिक प्रकोपका कारण झण्डै एक अर्बको भौतिक क्षति भएको छ । आगलागी, बाढी, वर्षा र हावाहुरीले ९३ करोड ८६ लाख ४३ हजार ३ सय रुपैयाँ बराबरको आर्थिक नोक्सानी भएको केन्द्रले जनाएको छ ।

६२ घरगोठमा आगलागी हुँदा ९१ करोड ३८ लाख ९५ हजार ३ सय, बाढीबाट १ करोड ४७ लाख ९ हजार, वर्षाका कारण ७५ लाख ८३ हजार र हावाहुरीका कारण २४ लाख ५६ हजार रुपैयाँको क्षति भएको छ ।

प्राकृतिक विपत्तिबाट विभिन्न १ सय २३ वटा घटना भएका छन् ।  तीमध्ये ६० घर पूर्ण रुपमा, २८ आंशिक, २६ गोठ, ९ भान्सा, एक कटेरोमा क्षति पुर्‍याएको छ । ती घरका २ सय ५० जना व्यक्तिहरु विस्थापित भएका छन् ।

अन्तिम अपडेट: चैत १५, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया