मनाङमा स्याउ रातै: किसानहरुलाई टिपेर बजार पुर्‍याउने चटाराे

 असोज ४, २०७६ शनिबार १६:२४:४६ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ - हिमाली जिल्ला मनाङ ङिस्याङ गाउँपालिका–१, भ्राताङमा ‘एग्रो मनाङ कृषि फार्म’ले ७ सय ३५ रोपनी क्षेत्रफलमा लगाएको स्याउ टिप्न यतिबेला कामदारहरु जुटेका छन् । बगैँचामा ‘गाला’ जातका स्याउ पाकेसँगै कामदारहरुकाे चटाराे बढेकाे हाे ।

‘कामदारहरु बगैँचाका स्याउ टिप्न व्यस्त छन्,’ एग्रो मनाङ प्रा.लि. का अध्यक्ष समराज गुरुङले भन्नुभयो, ‘बगैँचामा स्याउ पाक्न थालेको छ । राम्रोसँग पाकेको गाला जातको स्याउ टिप्दैछौं । अब केही समयपछि ‘गोल्डेन’ र ‘फुजी’ जातको स्याउ टिप्ने तयारी छ ।’

उहाँका अनुसार स्याउ टिप्न खटिएका ३० जना कामदारले दैनिक २ सय किलोसम्म स्याउ टिप्ने गरेका छन् ।  ‘गाला’, ‘गोल्डेन’, ‘फुजी’ जातका स्याउ लगाइएकाे यस फार्ममा अघिल्लाे वर्ष ३ सय ५० मेट्रिक टन स्याउ फलेको थियो । यस वर्ष ४ सय ५० मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको छ ।

त्यसैगरी स्थानीय नासोङ् गाउँपालिका–९, दानाक्यूका किसान अपिल लामाले स्याउ टिपेर पनि बिक्री गरिसक्नुभएको छ । ‘बगैँचामा ३ क्वीन्टल स्याउ फल्यो । स्याउ टिपेर पनि बिक्री भइसक्यो,’ उहाँले भन्नुभयो, ‘स्थानीय होटलमै स्याउ बिक्री भयो ।’

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (स्याउ जोन) इकाई कार्यालय मनाङका कृषि अधिकृत राजेश्वर सिलवालका अनुसार गएको हप्तादेखि जिल्लाका किसानहरु पाकेको स्याउ टिप्नमा व्यस्त छन् । अन्य जातको स्याउको तुलनामा ‘गाला’ जातको स्याउ छिट्टै पाक्ने भएकाले यस जातको स्याउ टिप्न थालिएको र अन्य जातका स्याउ पाक्ने क्रममा रहेको उहाँले बताउनुभयो ।

‘यहाँ उत्पादित स्याउको मुख्य बजार काठमाण्डौ नै हो । केही स्याउ भने पर्यटकहरुले कोसेलीको रुपमा पनि लैजान्छन्,’ उहाँले भन्नुभयो ।  

अन्तिम अपडेट: चैत २९, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया