इटालियन सिरी ए : युभेन्टस र इन्टर मिलानको जित

 असोज ५, २०७६ आइतबार ९:३०:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

इटालियन सिरी ए मा क्रिस्टियानो रोनाल्डोको टिम युभेन्टसले हेलास भेरोनालाई २–१ गोलले हराएको छ । जितसँगै शीर्ष स्थानको इन्टर मिलानसँगको अग्रता २ अंकमा झारेको छ ।

घरेलु मैदानमा भएको खेलमा युभेन्टसले भेरोनाको एक गोलको अग्रता उल्ट्याएको हो । पाहुना टिम भेरोनाले २० औं मिनेटमा मिगुइल भेलोसोको गोलमा अग्रता बनाएको थियो ।

तर त्यो अग्रता धेरैबेर टिक्न सकेन । ३१ औं मिनेटमा आरोन राम्सेले गोल गर्दै युभेन्टसलाई बराबरीमा पुर्‍याए । यसै सिजन आर्सनलबाट युभेन्टस पुगेका राम्सेको यो सिरी एमा डेब्यू गोल हो ।

पहिलो हाफ एक–एक गोलको बराबरी भएको खेलको ४९ औं मिनेटमा युभेन्टसले पेनाल्टीको अबसर पायो । जसलाई क्रिस्टियानो रोनाल्डोले गोलमा परिणत गरे । त्यसपछि दुवै टिमबाट थप गोल हुन सकेन र युभेन्टसले तीन अंक हात पार्‍यो ।

शनिबार राति नै भएको अर्को खेलमा इन्टर मिलानले एसी मिलानलाई २–० ले हरायो । एसी मिलानको मैदानमा इन्टरको जितमा ब्रोजोभिक र रोमेलु लुकाकुले एक–एक गोल गरे । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो ।

४९ औं मिनेटमा इन्टरले अग्रता बनायो । उसका लागि ब्रोजोभिकले सिन्सीको पासको सदुपयोग गर्दै गोल गरे । त्यसपछि ७८ औं मिनेटमा यसै सिजन म्यानचेस्टर युनाइटेडबाट इटाली पुगेका रोमेलु लुकाकुले ७८ औं मिनेटमा गोल गर्दै टिमलाई २–० अगाडि राखे ।

त्यसपछि एसी मिलान खेलमा फर्कन सकेन र इन्टर विजयी भयो । यो जितले इन्टर मिलान लिगको शीर्ष स्थानमा उक्लिएको छ । उसको चार खेलमा १२ अंक भएको छ भने युभेन्टसको समान खेलबाट १० अंक छ ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया