मलेसिया गएका श्रीमान हराए, रेखादेवी घरबाट निकालिइन्

 असार ३०, २०७५ शनिबार १६:३१:४४

संगीता कर्ण 

धनुषा – १२ वर्षमा बिहे, १६ वर्षमा आमा । सुत्केरी हुन एक महिना बाँकी हुँदा विदेश गएका श्रीमान उतै हराए । झट्ट सुन्दा कुनै चलचित्रको कथा जस्तो लाग्छ । तर यो चलचित्रको कथा नभएर धनुषाको शहीद नगरपालिकाको यदुकुहा–३ की रेखादेवी महराले भोगेका यथार्थ हो ।

रेखाको शहिद नगरपालिकाको गोठकोएलपुरका सन्तोष महरासँग बिहे भयो । ४ वर्षमा रेखाकी छोरी जन्मिइन् । दुईबाट तीन भएपछि आफूले गर्ने ज्याला मजदुरीको कमाई थोरै भए जस्तो लाग्न थाल्यो सन्तोषलाई । त्यसपछि उहाँलाई विदेश जान मन लाग्यो ।

 रेखा सुत्केरी हुने समय एक महिना मात्रै बाँकी हुँदा सन्तोषले विदेश जाने कुरा गर्नुभयो । आम्दानी बढाउने अरु उपाय नभएपछि रेखाले श्रीमानलाई रोक्न सक्नुभएन । विदेश जान चाहिने रकम सन्तोषसँग थिएन । उहाँले साहुसँग १ लाख ३० हजार रुपैयाँ ऋण लिनुभयो । त्यो पनि ४८ प्रतिशत अर्थात सय कडा ४ रुपैयाँ ब्याजदरमा । 

मलेसिया उड्दा सन्तोषसँग श्रीमती र छोरीको भविष्य राम्रो बनाउने सपना थियो । त्यो भन्दा पहिलो काम थियो साहुसँग लिएको ऋण तिर्नु । तर मलेसिया पुगेका सन्तोषले भनेको काम र तलब पाउनुभएन । 

त्यही कमाईले ऋण तिर्न पनि नसकिने देखेपछि सन्तोषले साथीको लहैलहैमा गर्दै गरेको काम छोड्नुभयो । भागेर अन्तै काम गर्न थाल्नुभयो । सन्तोषले आफू भागेर काम गर्दै गरेको कुरा रेखालाई सुनाउनुभएको थियो । ‘काम त पहिलेको जस्तै नै थियो रे, तर तलब चाहिँ पहिलेको अलिक बढी छ भन्नुहुन्थ्यो’ रेखाले श्रीमानसँग भएको कुरा सुनाउनुभयो । 

सन्तोष श्रीमतीलाई फोन गरिरहनुहुन्थ्यो । ऋण तिरेर सक्ने अनि अलिकति कमाएपछि फर्किने योजना सुनाउनुुहुन्थ्यो । तर उहाँलाई समयले साथ दिएन । भागेर गरेको कामबाट कमाई हुन छोड्यो । त्यसैले नै ४ वर्षमा ६० हजार रुपैयाँ भन्दा पठाउन सक्नुभएन ।

त्यो रकमले ऋण तिर्न पनि पुगेन । तर परिवार खुशी नै थियो । अब चाहिँ सन्तोषले कमाएर पठाउँछ भन्ने परिवारमा आश थियो । तर ६० हजार रुपैयाँ पठाएपछि सन्तोषको फोन आउनै बन्द भयो । ‘यताबाट हामीले कति फोन ग¥यौं तर लाग्दैन’ चिन्तित हुँदै रेखाले भन्नुभयो । 

छोरी चन्द्रिकाले बुवाको बारेमा बारम्बार सोधीखोजी गर्छिन् । बुवा विदेश गएको एक महिनापछि जन्मिएकी चन्द्रिका ८ वर्षकी भइसकिन् । ४ वर्षको हुँदासम्म बुवाको फोन आउँथ्यो । तर उनी आफ्नो बुवा हुन भन्ने पत्तो पाउँदिन थिइन् । 

अहिले त ८ वर्षकी भइसकिन् । बुवालाई खोज्न थालेकी छिन् । तर बुवाको पत्तो छैन । ‘मैले बुवाको बारेमा सोध्दा आमा केही भन्नुहुन्न’ आँगनमा खेल्दै गरेकी चन्द्रिकाले भनिन् । 

घरबाट निकालिइन् 

श्रीमानले विदेश जाँदा लिएको ऋण तिर्न नसकेकै कारण रेखा घरबाट निकालिनुभएको छ । श्रीमा विदेश जाँदा घरमा सासु ससुरा र जेठाजु जेठानी थिए । सन्तोष विदेश गएपछि सासु ससुरा बिरामी हुँदा सन्तोषका दाइले उपचार गरे ।

त्यही हिसाब गरेर सन्तोषका दाइले तीन धुर जग्गा आफ्नै नाममा पास गरे । घर जग्गा आफ्नो बनाएका जेठाजु जेठानीले रेखालाई घरबाट समेत निकालिदिए । बिचल्लीमा परेकी रेखादेवी माइत पुग्नुभयो ।

तर दाजुभाइले त उहाँलाई जेठाजु जेठानीले भन्दा पनि ठूलो पीडा दिए । ‘दाजु भाउजुले बिहे गरेकी छोरीलाई किन घरमा राख्ने भन्थे’ रेखाले सुनाउनुभयो । माइतमा पनि बस्न नपाएपछि रेखादेवीको बिचल्ली भएको छ ।

यदुकुहाकी एक महिलाले घरको काम गर्ने, अनि महिनाको एकहजार रुपैयाँ भाडा दिनुपर्ने शर्तमा एउटा छाप्रोमा बस्न दिएकी थिइन् । तर फुसको छानो र माटोको भित्ता भएको त्यो झुप्रोमा पनि केही दिनअघि बाढी पसेर बस्न नमिल्ने भयो । त्यसपछि रेखादेवी त्यहाँबाट पनि विस्थापित हुनुभएको छ ।

अहिले यदुकुहामै रहेकी रेखादेवीलाई केही काममा लगाएर सहयोग गर्न प्रयास गरेपनि एक कक्षा पनि नपढेकाले काम दिलाउन नसकिएको मित्र धनुषा अन्तर्गत सामी परियोजनाका कार्यक्रम संयोजक रामकुमार कर्णले बताउनुभयो । बस्ने खाने नै ठेगान नभएपछि रेखाले छोरीलाई पढाउन पनि पाउनुभएको छैन । 

रेखादेवी श्रीमानलाई खोजिदिन आग्रह गर्दै सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रमा पनि आउनुभयो । तर उहाँसँग श्रीमानको एउटा फोटो बाहेक अरु कुनै प्रमाण नभएकाले खोज्न नसकिएको केन्द्रले जनाएको छ । 

भविष्य सोचेर विदेशिएका श्रीमानले बिर्सिनुले नै बिचल्लीमा परेकी रेखादेवीलाई धेरै कुराले सताइरहन्छ । धेरैमध्येको एउटा कुरा सानै उमेरमा गरिएको बिहे पनि हो । ‘यदि सानैमा बिहे नगरिएको भए यस्तो हुँदैनथ्यो होला’ रेखाले भन्नुभयो ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया