भारतले सन् २०२१ सम्ममा अन्तरिक्षमा मानव पठाउँछ: इसरो प्रमुख

 असोज ५, २०७६ आइतबार १९:१२:१ | एजेन्सी
unn.prixa.net

भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) का प्रमुख के. सिवनले भारत डिसेम्बर २०२१ सम्म अन्तरिक्षमा मानव पठाउने आफ्नो लक्ष्य पूरा गर्न केन्द्रित रहेको बताएका छन् । 

उनले चन्द्रयान–२ ल्याण्डर विक्रमको चन्द्रमाको सतहमा ‘सफ्ट ल्याण्डिंग’ गर्ने इसरोको योजना पूरा नभए पनि ‘गगनयान’ मिसनमा भने कुनै असर नपुग्ने दावी गरेका छन् । 

इसरो प्रमुख सिवनले चन्द्रयान–२ को अर्बिटर (कक्ष) ले साढे सात वर्षसम्म डाटा दिने बताएका छन् । उनले भने, ‘चन्द्रमा मिसनको सबै प्रविधि ‘सफ्ट ल्याण्डिंग’ लाई छोडेर सटिक साबित भएको छ । के हो सफल होइन ?’

भारतीय प्राैद्याेगिकी संस्थान (इण्डियन इन्स्टिच्युट अफ टेक्नाेलाेजी-आईआईटी) को आठौँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै इसरो प्रमुख सिवनले भने, ‘डिसेम्बर २०२० सम्म भारतसँग मानव अन्तरिक्ष विमानको पहिलो मानवरहित मिसन हुनेछ । हामीले दोस्रो मानवरहित मानव अन्तरिक्ष विमानको लक्ष्य जुलाई २०२१ सम्म राखेका छाैँ ।’

‘भारतको लागि 'गगनयान' मिशन निकै महत्त्वपूर्ण छ किनकि यसले देशको विज्ञान र प्रविधिको क्षमतालाई बढाउनेछ । यसर्थ, हामी एक नयाँ लक्ष्यमा काम गरिरहेका छौँ ।’

प्रधानमन्त्री नरेन्द्र मोदीले १५ अगष्ट २०१८ मा लालकिलाबाट स्वतन्त्र दिवसको अवसरमा 'गगनयान' मिशनको घोषणा गरेका थिए । गगनयान मिसनमा झण्डै १० हजार करोड भारुको खर्च हुने बताइएको छ । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया