कागज मिलाउनेलाई होइन काम गर्नेलाई योजना दिनुस् : मन्त्री अर्याल

 असोज ५, २०७६ आइतबार १७:३८:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले कागज मिलाउन जान्नेलाई नभएर जनताको पक्षमा काम गर्नेलाई विकास योजनाका काम दिन स्थानीय जनप्रतिनिधिहरूलाई आग्रह गर्नुभएको छ । 

राष्ट्रिय सहकारी महासंघ लिमिटेडले मन्त्रालयको सहयोगमा ‘प्रदेश तथा स्थानीय तहको समृद्धिका लागि सहकारी’ विषयमा आयोजना गरेको दुई दिने प्रादेशिक गोष्ठीलाई आइतबार भक्तपुरमा सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो । 

मन्त्री अर्यालले योजना बाँडफाँडका क्रममा हुने गरेका बेथितिलाई इङ्गित गर्दै कागज मिलाएर व्यक्तिगत स्वार्थमा प्रयोग गर्नेलाई नभएर सही रुपमा जनताको काममा योजना लगाउनेलाई काम दिन आग्रह गर्नुभयो । ‘योजना माग्न आउँदा कागज बनाएर ल्याउनेलाई मात्र योजना नदिनुस् । काम गर्नेले पाउँदैन । कागज बनाउनेले पाउँछ, निजी स्वार्थमा प्रयोग गर्छ । सबै जनतालाई समेटेर काम गर्नेले योजना पाउँदैनन् । किनकि उसको नेतासँग पहुँच नै छैन र उ दिनदिनै आउन पनि भ्याउँदैन, अनि भेट्न पनि सक्दैन’, मन्त्री अर्यालले भन्नुभयो । 

जनताको अपेक्षा पनि यही भएको भन्दै उहाँले अहिले सरकार ठिक शैलीमा अघि बढिरहेको र निराश हुनुपर्ने कुनै कारण नरहेको उहाँका भनाइ थियो । नेपाली जनताले लामो संघर्षपछि प्राप्त गरेको लाेकतन्त्र सबैले कुशलतापूर्वक काम गरेर जनताको मन जित्न सकियो भने सफल हुने भन्दै मन्त्री अर्यालले जनताको मन जित्न नसेकामा जनतामा आशंका र अविश्वास खडा हुने र गणतन्त्र पनि जोगाउन कठिन हुने बताउनुभयो ।  

हिजोको परम्परावादी शैलीले अब कुनै पनि काम चल्न नसक्ने भन्दै मन्त्री अर्यालले हिजोकै मान्यता, सोच, काम गर्ने शैलीबाट पार नलाग्ने दाबी गर्नुभयो । अहिले पनि आक्रमण गर्ने, जनआस्था फैलाउने, अविश्वास खडा गर्ने, हाम्रो व्यवस्थामाथि प्रश्न उठाउने ठाउँमा पुर्‍याउनेगरी चलखेल सुरू भइसकेको भन्दै यी कुरालाई चिर्दै अघि बढ्नुपर्ने उहाँको भनाइ थियो । 

एक वर्षको अवधिमा संघीयतालाई कुशलतापूर्वक कार्यान्वयन गर्न सफल भएको भन्दै उहाँले यो सरकारले विश्वमै आश्चर्जनक काम गर्न सफल भएको बताउनुभयो । 

त्यस अवसरमा मन्त्री अर्यालले सहकारी महासंघको तर्फबाट इण्डियन फार्मर फर्टिलाइजर कोअपरेटिभ (इफ्को) का व्यवस्थापक प्रबन्धक डा.यु.एस. अवस्थीलाई दोसल्ला र सम्मानपत्रले सम्मान गर्नुभएको थियो । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया