चिनियाँ राष्ट्रपति सीको भ्रमणअघि नेकपामा ‘सी विचारधारा’को बहस

 असोज ६, २०७६ सोमबार ९:२१:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आउने चर्चासँगै ‘सी विचारधारा’को बहस सुरु भएको छ । औपचारिक रुपमा मिति तय हुन बाँकी भए पनि असोजको अन्तिममा चिनियाँ राष्ट्रपति सी नेपाल भ्रमणमा आउने लगभग पक्का भैसकेको छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले देश विकासका लागि सी विचारधारा उपयुक्त हुने भन्दै यसबारे प्रशिक्षण चलाउँदैछ । सी विचारधाराकै कारण चीनमा चामत्कारिक विकास भएको भन्दै नेकपाले नेपालको विकासका लागि पनि यो मोडल उपयुक्त हुने भन्दै प्रशिक्षण दिन लागेको हो ।
 
नेकपा स्कुल विभागको आयोजनामा सोमबार र मंगलबार दुई देशका कम्युनिष्ट विचारधाराबारे छलफल हुँदैछ । छलफलमा चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीका अन्तर्राष्ट्रिय विभाग प्रमुखको नेतृत्वमा २० जना चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरु सहभागी हुनेछन् । प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने छलफल कार्यक्रममा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सीपीसी अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ ताओले सम्बोधन गर्नेछन् ।

छलफलमा नेकपाले अवलम्बन गरेको जनताको जनवाद र जिनपिङको विचारधाराबारे केन्द्रित भई प्रशिक्षण हुने नेकपाले जनाएको छ । नेकपाले यसलाई प्रशिक्षण नभइ विचार आदानप्रदान कार्यक्रम भनेको छ ।

‘यो प्रशिक्षण नभएर दुई देशका कम्युनिष्ट विचार आदानप्रदान र छलफल गर्ने कार्यक्रम हो’ नेकपा केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख सूर्य थापाले उज्यालो अनलाइनसँग भन्नुभयो । 

नेपालको विकासलाई अघि बढाउन र पार्टीलाई बलियो बनाउन सी विचारधारा उपयुक्त हुने नेकपाका नेताहरुको बुझाइ छ । नेपालबाट कम्युनिस्ट नेता कार्यकर्ताले बेलाबेला चीनमा गएर अध्ययन गर्ने गरेका छन् ।

चिनियाँ राष्ट्रपति सीले आफ्नो दोस्रो कार्यकालमा ‘नयाँ युगका लागि चिनियाँ विशेषतासहितको समाजवाद’ सुरु गर्नुभएको छ । यसलाई संविधानमासमेत सी विचारधाराका रूपमा ग्रहण गरी चिनियाँ कम्युनिस्ट पार्टीको निर्देशक सिद्धान्त बनाइएको छ । दुई वर्षअघि सीपीसीको १९ औं महाधिवेशनले यसलाई पारित गरेको हो ।

सीको यही विचारधाराले चीनले आर्थिक विकासमा फड्को मारेको भन्दै नेपालमा सत्तारुढ नेकपाले पनि यही मोडल उपयुक्त हुनेबारे छलफल थालेको हो ।

‘समाजवाद उन्मुख देशका लागि सी विचारधारा प्रभावकारी’

कार्ल माक्र्स जन्म द्विशतवार्षिकी समारोह समितिले शनिबार काठमाण्डौमा गरेको कार्यक्रममा नेकपाका स्थायी समिति सदस्यहरुले नेपालजस्तो समाजवाद उन्मुख देशका लागि सी चिनपिङको विचारधारा प्रभावकारी हुने बताए ।

नेकपामा स्थायी समिति सदस्य घनश्याम भुसालको भनाइमा पश्चिमा देशहरुको विकासको मोडेलबाट ठगिएका देशहरुले सीले अघि सारेको विचारधार पछ्याउनु उपयुक्त हुन्छ । उहाँले आफ्नो देशको उन्नतिका लागि आन्तरिक र बाहृय देशहरुसँग सम्बन्ध स्थापित गर्न बीआरआईको अवधारणा अघि सारेर सीले पश्चिमा देशको विकासको अवधारणाको विकल्प छ भन्ने कुराको पुष्टि गरिदिएको बताउनुभयो ।

सी जिनपिङ विचारधारा र बीआरआई विषयमा नेता भुसालले प्रस्तुत गर्नुभएको कार्यपत्रको सम्पादित अंश :

सी विचारधारा

चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ महाधिवेशनले सी जिनपिङ् विचारधारालाई मार्गदर्शक सिद्धान्तका रुपमा अङ्गीकार गर्‍यो। १८ औँ महाधिवशेनकै समयदेखि उनले ‘दुई शताब्दी लक्ष्यहरु’ बारे उल्लेख गर्दै आएका थिए । त्यस अवधारणालाई १९औँ महाधिवेशनले व्याख्या गर्‍यो ।

त्यस अनुसार पहिलो शताब्दी (पार्टी स्थापना भएको सयवर्ष –२०२१) लक्ष्यमा पार्टीका १६औँ, १७औँ महाधिवेशनमा किटान गरिएको मुख्य अन्तरविरोधहरुलाई सम्बोधन गर्नु, सामञ्जस्यपूर्ण आर्थिक, राजनीतिक, साँस्कृतिक, सामाजिक र पर्यावरणीय विकासलाई बढाउनु, गरिबी निवारण गर्नु, दिगो विकास, प्रदुषण नियन्त्रणजस्ता कामहरु गर्दै चीनलाई औसतरुपले समृद्ध मुलुक बनाउनु पहिलो शताब्दी लक्ष्यका रुपमा व्याख्या गरियो ।

दोश्रो शताब्दी लक्ष्य (नयाँ चीन स्थापनाको सयवर्ष २०४९ सम्म) लाई पहिलो १५ र दोश्रो १५ वर्षमा विभाजन गरियो र २०३५ सम्ममा समाजवादी आधुनिकीकरणलाई आधारभूतरुपले सम्पन्न गनेर्, गाउँ र शहर, एक र अर्को प्रदेशका साथै (नागरिकहरुको) जीवनस्तरका असमानताहरु अन्त्य गर्ने, कानूनको शासन तथा सुशासनलाई सुदृढ पार्ने लगायतका लक्ष्यहरु राखिएको छ । अर्को १५ वर्षमा चीनलाई भौतिक, राजनीतिक, साँस्कृतिक, नैतिक र पर्यावरणीय हिसाबले नयाँ उँचाइमा पुर्याएर एउटा विकसित समाजवादी मुलुक बनाउने उद्देश्यहरु प्रष्ट पार्‍यो ।

सी जिनपिङ्को उपरोक्त कार्ययोजनाले चीनलाई पुँजीवाद होइन समाजवादतर्फ निर्दिष्ट गरेको छ । उत्पादक शक्तिको विकास नै समाजवादको ग्यारण्टी होइन तर उत्पादक शक्तिको विकासविना समाजवाद सम्भव हुँदैन । सी जिनपिङ्को यस योजनाले के बताउँछ भने चीन उत्पादक शक्तिको विकासका हिसाबले समाजवादको नजिक जाँदैछ । साथै त्यसले चीनमा उत्पादक शक्तिको विकासको बाटो पुँजीवाद–एकाधिकार पुँजीवाद–साम्राज्यवाद होइन बरु त्यसको ठाउँमा समाजवादको योजनाबद्ध तयारी र विकास नै हो भन्ने कुरा सैद्धान्तिक तथा नीतिगतरुपमा स्पष्ट पारेको छ ।

एउटा कुनै खास बिन्दुसम्म उत्पादक शक्तिको विकास गर्ने र त्यसपछि समाजवाद लागू गर्ने होइन बरु उत्पादक शक्तिको निरन्तर विकास र समाजवादको निर्माण सँगसँगै गरिने कुरा हुन् भन्ने स्पष्ट पारेका छन् ।

बीआरआई

आफू चिनियाँ कम्युनिष्ट पार्टीको महासचिव निर्वाचित भएपछि सी जिनपिङ्ले इतिहासकै सबैभन्दा महत्वकाङ्क्षी विकासको अन्तरराष्ट्रिय योजना अगाडि सारे जसले पुरानो रेशममार्गलार्ई दुई हजार वर्षपछि नयाँरुपमा ब्युँताउँछ र एसिया, अफ्रिका, युरोप र ओसिनियाका करिब ७० वटा मुलुकलाई र ६२ प्रतिशत विश्व जनसङ्ख्यालाई प्रत्यक्षतः समेट्छ ।

बीआरआई क्षेत्रका मुलुकहरुमा सहकार्य स्थापित गर्नु, बहुपक्षिय तथा बहुआयामिक सम्पर्क सञ्जाल निर्माण गर्नु, स्वतन्त्र–बहुलतायुक्त–सन्तुलित तथा दिगो विकास हासिल गर्नु, यस क्षेत्रका मुलुकहरुका विकास रणनीतिहरुका बीचमा समन्वय गर्नु, बजारको सामर्थ्यलार्ई उपयोग गर्नु, लगानी र उपभोगलाई प्रोत्साहित गर्नु, माग र रोजगारी सिर्जना गर्नु, जनस्तरमा साँस्कृतिक आदान–प्रदानलाई बढाउनु, सम्बन्धित मुलुकका जनताबीच आपसी सिकाइलाई बढाउनु र तिनीहरुका बीच समझदारी, विश्वास, सम्मानका साथ सामञ्जस्य, शान्ति र समृद्धिका बाँच्न सघाउनु यसका उद्देश्य हुन् ।

बीआरआईले संयुक्त राष्ट्र सङ्घका उद्देश्य तथा सिद्धान्तहरु र शान्तिपूर्ण सहअस्तित्वका सिद्धान्तहरुः एकअर्कोको सार्वभौमसत्ताको र भौगोलिक अक्षुण्यताको सम्मान, अनाक्रमण, एकअर्काको आन्तरिक मामिलामा अहस्तक्षेप, समानता र पारस्परिक लाभ र शान्तिपूर्ण सहअस्तित्वलाई अवलम्बन गर्छ ।
यो सभ्यताहरुका बीचमा सहनशीलता र मुलुकहरुले चयन गरेका विकासका बाटा र पद्धतिहरुको पक्षमा रहन्छ, विभिन्न सभ्यताका बीच साझा मुद्दाको खोजीका लागि सम्वादलाई समर्थन गर्छ, ता कि तिनीहरुले आफ्ना मतभेदहरुलाई थाती राखेर सामथ्र्यलाई अगाडि बढाउन् र सहअस्तित्व र शान्तिका साथ रहन सकुन् ।

मुलुकहरुका बीच नीतिगत समन्वय, पूर्वाधारहरुको संयोजन, अवरोधविहीन व्यापार, वित्तिय समायोजन र जनतस्तरमा सम्बन्धको विकास यसका लक्ष्य हुन् ।

यो यस्तो एउटा मञ्च हो जहाँ मुलुकहरुले स्वतन्त्रतापूर्वक द्विपक्षीय वा बहुपक्षीय सहयोगका क्षेत्रहरु खोज्न सक्छन्, यस क्षेत्रमा बनेका अन्तरराष्ट्रिय तथा क्षेत्रीय सहयोग संगठनहरु, वित्तीय संगठनहरुका बीच समन्वय गर्न सक्छन् र तिनीहरुबाट फाइदा लिन सक्छन् ।

यो यस्तो मञ्च हो, जहाँ मुलुकहरुले व्यापार, लगानी र नाफाको कुरा गर्छन् । त्यस अर्थमा यो आफैमा ‘सबैसँग भएको सबैले बाँड्ने’ समाजवादी परियोजना होइन । तर, वर्तमान वित्तीय पुँजीवादी युगमा सबैले स्वतन्त्रतापूर्वक समानताका आधारमा पुँजी बजारमा पहुँच राख्ने र आफ्नो विकासमा लगाउने मौका पाउँछन् जसले वित्तीय पुँजीको अनियन्त्रित शोषणलाई अर्थात् वित्तीय एकाधिकारलाई रोक्छ ।

यस परियोजनाले चीनको आर्थिक बृद्धिलाई अरु मुलुकहरुको बृद्धिमा लगाउने र त्यसमार्फत् चीनकै दिगो बृद्धिलाई ठाउँ दिन्छ । यसरी चीन र अरु मुलुकहरु सँगसँगै सबैको साझा भविष्य निर्माण गर्ने सम्भावना दिन्छ ।

सी जिनपिङ् विचारधाराको महत्व

उपरोक्त व्यवस्थाले हामी के निष्कर्षमा पुग्छौं भने सी जिनपिङ् विचारधाराका दुई पक्ष छन् : एकातिर दुई शताब्दी योजनाले स्वयं चिनियाँ कम्युनिष्ट पार्टी, राज्य र समाजको समाजवादी दिशा निश्चित गर्छ भने अर्कोतिर बिआरआईले चीनको समाजवादी अर्थराजनीतिक विकास र बाँकि विश्वको अर्थराजनीतिक सम्बन्धलाई व्याख्या गर्छ । त्यस अर्थमा यो आजको चीनका लागि यो सबैभन्दा एउटा महत्वपूर्ण विषय हो ।

बीआरआई संयुक्त राष्ट्र सङ्घका उद्देश्य र सिद्धान्तहरु, असङ्लग्न राष्ट्रहरुको आन्दोलन र त्यसका प्रस्थापनाहरु र अन्य अन्तरराष्ट्रिय र क्षेत्रीय सहयोग सङ्गठनका सकारात्मक पहलकदमीहरुको जगमा निर्मित विभिन्न राष्ट्रहरुले साझा भविष्य खोज्न आर्थिक विकासका आआफ्ना बाटाहरु, विचारधाराहरु र अन्य सामाजिक–राजनीतिक मामिलामा स्वतन्त्रता र समानताका साथ अगाडि बढ्न खोज्ने सबैको साझा मञ्च हो । ती प्रस्थापनाहरुले गर्दा इतिहास, सभ्यता, विचारधारा, राजनीतिक तथा आर्थिक प्रणालीहरुको भिन्नताका साथ साझा भविष्यको खोजी गर्ने पहलकदमी हो । यस अर्थमा राष्ट्रहरुका बीच साझा हित खोज्न यसभन्दा अधि भएका पहलकदमीहरुमा रहन गएका कमजोरी र सीमाहरुलाई यसले सम्बोधन गर्ने मान्यता राख्छ । यसरी यसले पश्चिम केन्द्रित वित्तीय पुँजीको शोषणमा आधारित विश्व व्यवस्थाको ठाउँमा नयाँ र प्रगतिशील विश्व व्यवस्थाको सम्भावना बोकेको छ ।

एउटा मुलुकमा समाजवाद निर्माण गर्ने र विश्व क्रान्तिको जिम्मा लिने बाटोबाट सोभियत सङ्घ जुन सङ्कटमा फस्दै गयो र विश्व व्यवस्थामा विकल्प बन्न असफल भयो चीनले ती कमजोरीबाट बेलैमा शिक्षा लिएको छ । यसले ‘एउटै मुलुकमा समाजवाद’ भन्ने सिद्धान्तको नयाँ भाष्य स्थापित गरेको छ : कोही बढी समाजवादी कोहि कम समाजवादी, कोही कुनै कुरामा समाजवादी अर्कोचाँहि अर्को कुरामा समाजवादी हुँदै विकसित हुँदै जाने बाटो स्थापित गरेको छ । आजको समाजवादी आन्दोलन र त्यसको विकासका सिद्धान्तहरुका सन्दर्भमा आजका कम्युनिष्ट र गैरकम्युनिष्ट समाजवादीहरुका लागि पनि यसले महत्व राख्छ ।

तर नेकपाकै अर्काथरी नेताहरु भने सी विचारधाराबाट नेपाल धेरै हौसिन नहुने बताउँछन् । नेकपाकास्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले चीनले अरुको नक्कल गरेका कारण धोका पाएपछि सुरु गरेको श्रृजनशीलताले नै उसको विकास द्रूतगतिमा हुन सकेको बताउनुभयो ।

सी विचारधारा र यसको विश्वव्यापी प्रभावबारे भएको कार्यक्रममा पाण्डेले भन्नुभयो, ‘बीआरआई भनेपछि चीनले दनादन पैसा दिन्छ भन्ने बुझिएको छ, त्यस्तो होइन, चीनले हामीलाई सित्तैमा एक पैसा पनि दिँदैन ।’

उहाँले विकासलाई कसरी प्राथमिकतामा राख्ने भन्ने कुरा चीनबाटै सिक्नुपर्ने बताउनुभयो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया