डाक्टर केसीको उपचारका लागि आवश्यक औषधि र उपकरणको जोरजाम

 असार ३०, २०७५ शनिबार १७:३८:४० | नेत्र शाही
unn.prixa.net

असार –  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा १५ दिनदेखि अनसनरत रहेका डाक्टर गोविन्द केसीको अवस्था कमजोर र नाजुक हुँदै गएपछि  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य उपचारका लागि अत्यावश्यक मेडिकल सामग्री र औषधि तयार गरेको छ ।

 

प्रतिष्ठानले डाक्टर केसीको अनसन अवधी लामो भएपछि अब कुनै बेला पनि अकल्पनीय क्षेति हुन सक्ने भन्दै भेन्टिलेटर, डिफ्रिब्रिलेटर र अत्यावश्यक अवस्थामा प्रयोग गरिने आपतकालीन औषधिहरु तयारी अव्सथामा राखेको छ ।   

प्रतिष्ठानका मेडिकल डाइरेक्टर डाक्टर पुजन रोकायाको हस्ताक्षरीत सूचनामा डा. गोविन्द केसीको स्वास्थ्य उपचारका लागि आकस्मिक  अवस्थाका सबै औषधि र उपकरण तयार गरिएको उल्लेख गरिएको छ ।

‘डा. केसीले जुन सुकै परिस्थितिमा पनि आफ्नो सत्याग्रहलाई जुम्लामा निरन्तरता दिने भनेपछि हामी उहाँको उपचारको लागि कुनै कसुर बाँकी राख्ने छैनौ’,  सूचनामा भनिएको छ । प्रतिष्ठानसँग रहेका भेन्टिलेटर र डिफ्रीब्रिलेटरसहितका उपकरण र  अत्यावश्यक औषधि र जनशक्ति समेत उपचारमा सक्षम रहेको बताइएको छ । भेन्टिलेटर अचेत भईहालेमा श्वासप्रश्वासको काम गर्ने  र डिफ्रीब्रिलेटर मुटुको सन्तुलन गर्ने उपकरण भएको चिकित्सकहरुले बताएका छन् । 

केसीले स्वास्थ्य जाँच गर्न मानेनन्

हरेक दिन २ बजेदेखि ४ बजेसम्म डाक्टर गोविन्द केसीको स्वास्थ्य प्रतिवेदन उपचारमा संलग्न प्रतिष्ठानका मेडिकल डाईरेक्टरसहितको टोलीले सूचना जारी गरेर जानकारी गराउने भए पनि सत्याग्रहको १५ औं दिन भने डा. केसीले स्वास्थ्य जाँच गर्न मान्नुभएको छैन् ।

डा. केसीले वार्ता टोलीसम्म गठन गर्न नसकेको र मागहरुलाई लत्याउने प्रयास गरेको भन्दै रगतलगायतका जाँचहरु गर्न नदिएको उपचारमा संलग्न एक चिकित्सकले बताउनुभयो । 

‘१५ दिन भयो, अब के हुने होला भन्दै सरकारको निर्णय कुरिरहेका छौं’, भावुक हुँदै केसीका सहयोगी किश्वर केसीले गुनासो पोख्नुभयो । केसीको अवस्था के हुने र सरकार केही नयाँ निर्णय गर्छ कि भन्ने आशमा आफन्त र स्थानीयहरु आक्रोशीत हुँदै आएका छन् । 

अन्तिम अपडेट: चैत १४, २०८०

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया