ट्राफिक व्यवस्था विशेष बनाएका छौँ, समस्या भए १०३ मा फोन गर्नुस् : प्रमुख ढकाल

 असोज ६, २०७६ सोमबार २०:८:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – दशैँ, तिहार, छठ, नेपाल सम्वत् लगायतका चाडपर्वमा सवारी व्यवस्थापन, बजार अनुगमन, ट्राफिक व्यवस्थापनलगायतमा कुनै समस्या नआउने सरोकारवाला निकायका प्रमुखहरुले स्पष्ट पारेका छन् । 

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले दशैँ मनाउन काठमाण्डौ उपत्यकाबाहिर जाने यात्रुहरुलाई यातायातको कुनै पनि समस्या नपर्ने दाबी गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘यात्रा सहज बनाउनको लागि हामी २०/२५ दिनदेखि छलफलमा छौं । हामीले यो वर्ष राम्रो तयारी गरेका छौं ।’ 

उहाँले यात्रुहरुको समस्यालाई ध्यानमा राखेर १४ वटा नागरिक सहायता कक्ष सञ्चालमा ल्याएको जानकारी दिनुभयो । नागरिक कक्षका कारण यात्रुहरुको गुनासो तत्काल सम्बोधन हुने र यातायात क्षेत्रमा अनुगमन नै गर्न नपर्ने वातावरण बनाउनु पर्नेमा जोड दिनुभयो ।  

ट्राफिक प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालले चाडपर्वलाई लक्षित गरेर देशैभरि आफूहरुले सोहीअनुसारको विशेष ट्राफिक व्यवस्थापन गरेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘अहिलेको अवस्था भनेको विशेष अवस्था हो, हामीले त्यहीअनुसारको ट्राफिक व्यवस्थापन गरेका छौं । सवारी आवागमन धेरै छ, किनमेल गर्न जानेदेखि लिएर अन्य कुराको भिड छ ।’ 

उहाँले यात्रुहरुलाई सहज होस भनेर नै सरोकारवाला निकायसँगको सहकार्यमा बसपार्कहरुमा नागरिकता सहायता कक्ष पनि सञ्चालनमा ल्याइएको सुनाउनु भयो । उहाँले एक दुई दिनभित्र अन्य स्थानमा पनि यस्तै कक्ष सञ्चालनमा आउने बताउनुभयो ।  

उहाँले काठमाण्डौको ट्राफिक व्यवस्था राम्रो रहेको दाबी गर्नुभयो । दैनिक सवारी नियम उल्लंघन गर्ने १६, १७ सय सवारीहरु कारबाहीमा पर्ने गरेको पनि उहाँले आँकडा सुनाउनुभयो । 

त्यस्तै ढकालले केही समस्या परे सिधै आफूहरुलाई सम्पर्क गर्न पनि सुझाव दिनुभयो । त्यसको लागि उहाँले १०३ मा सम्पर्क गर्न र आफूहरु चौबिसै घण्टा सेवामा समर्पित रहेको पनि बताउनुभयो । 

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले चाडपर्वलाई लक्षित गरेर आफूहरुले दैनिक अनुगमन सुरु गरेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘साउनमा मात्रै हामीले एक हजार फर्ममा अनुगमन गरेका थियौं, त्यसमध्ये तीन सय ४० वटा फर्म कारबाहीको दायरामा आएका छन् । एक सय ६० वटा फर्मलाई त २० लाख रुपैयाँसम्म जरिवाना गराएका छौँ ।’ चाडपर्वको मुखमा कालोबजारी र मुल्यवृद्धि गरेको पाइए तत्काल कारबाही गर्ने पनि उहाँले आश्वासन दिनुभयो ।  

उपभोक्ता हित संरक्षण मञ्च नेपालका अध्यक्ष ज्योति बानियाँले चाडपर्व नजिकिएसँगै अनुगमनको नाममा सरकारी नाटक सुरु भएको आरोप लगाउनु भएको छ । उहाँले भन्नुभयो, ‘अहिले सरकारी नाटक सुरु भएको छ । वास्तविक अनुगमन भएकै छैन ।’ 

उहाँले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनलाई अहिले भ्याइ नभ्याइ भएको टिप्पणी गर्नुभयो । ‘एक जनालाई धेरै जिम्मेवारी दिइएको छ, त्यसैले उहाँलाई भ्याइ नभ्याइ छ’, बानियाँले भन्नुभयो ।

यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव पुण्यप्रसाद सिटौला (सरोज) ले दशैँमा काठमाण्डौ उपत्यकाबाहिर जाने यात्रुको चापलाई ध्यानमा राखेर आफूहरुले यातायातको राम्रो व्यवस्थापन गरेको बताउनुभयो ।

सिटौलालले भन्नुभयो, ‘असोज १२ गतेदेखि १८ गतेसम्मको ६ दिनको अवधिमा झण्डै २० लाख यात्रु काठमाण्डौ बाहिर जान्छन् । हामी त्यसको लागि राम्रो व्यवस्थापन गर्नेगरी गृहकार्यमा जुटेका छौं ।’ साथै यस पटक आफूहरुले अनलाइनमार्फत टिकट बुकिङ गर्ने अपेक्षा गरे पनि अन्तिम समयमा आएर त्यस्तो व्यवस्था गर्न नसकेको गुनासो गर्नुभयो । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया