नेपाल र चीनबीच समस्यारहित सम्बन्ध छ : प्रधानमन्त्री ओली

चिनियाँ कम्युनिष्ट नेताकाे सुझाव : नागरिककाे जीवनस्तर उकास्ने काममा लाग्नुहाेस्

 असोज ६, २०७६ सोमबार २०:५६:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीनबीचको सम्बन्ध हिमालझैँ उच्च र अटल रहेको बताउनु भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री ओलीले काठमाण्डौमा आयोजित नेपाल र चीनका दुई कम्युनिष्ट पार्टीबीचको विचारधारात्मक छलफल कार्यक्रमको सोमबार उद्घाटन गर्दै दुई देशबीचको सम्बन्धलाई हिम नदीझैँ स्वच्छ र अविछिन्न रहेको पनि बताउनुभयो ।

प्रधानमन्त्री ओलीले दुई देशबीचको मित्रता खुला, स्वतन्त्र र अटल रहेको पनि स्पष्ट पार्नुभयो । दुई देशबीचको मित्रता स्वर्थहरुको लेनदेनभन्दा माथि तथा आपसी सम्मान, शान र सहयोगमा आधारित रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो । ‘हाम्रा मित्रता खुला छ, स्वतन्त्र र अटल छ । हामी एक अर्काका सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डताको सम्मान गर्दछौं’, प्रधानमन्त्री ओलीको भनाइ थियो, ‘हाम्रो मित्रता स्वार्थहरुको लेनदेनभन्दा धेरै माथि छ, आपसी शान, सम्मान अनि सहयोगमा आधारित छ । हाम्रो दुई देशबीच समस्यारहित सम्बन्ध छ । हामीले हाम्रो मित्रतालाई पारस्परिक लाभ र सहयोगको भावनामा अघि बढाइरहेका छौँ ।’

प्रधानमन्त्री ओलीले समयक्रममा दुई देशबीच आइपर्ने समस्याहरुलाई मैत्रीपूर्ण आपसी संवादको माध्यामबाट अघि बढाउने पनि बताउनुभयो । उहाँले नेपाल ‘एक चीन नीति’प्रति स्पष्ट र दृढ रहेको पनि बताउनभयो ।

प्रधानमन्त्री ओलीले नेपाल चीनसँगको सहकार्यबाट विकास निर्माणको कामलाई अघि बढाउन सक्नेमा विश्वस्त रहेको पनि बताउनुभयो । 

कार्यक्रममा बोल्दै नेकपाका अर्का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले चिनियाँ कम्युनिष्ट पार्टीले संसारमा कुनै शासन व्यवस्थाले दिन नसकेको आत्मसम्मान, गौरव र आर्थिक विकास चिनियाँ जनतालाई दिएको उल्लेख गर्दै त्यसबाट सिकेर अघि बढनुपर्ने बताउनु भयो । उहाँले चिनियाँ कम्युनिष्ट पार्टीले वैचारिक स्पष्टता र अनुशासनको बलमा आर्जन गरेको आर्थिक समृद्धिबाट नेपालले पनि सिक्नुपर्ने आवश्यक्ता पनि औँल्याउनुभयो ।

कार्यक्रममा बोल्दै चिनियाँ कम्युनिष्ट पार्टीका नेता एवम् विदेश विभाग प्रमुख सोङ ताओले जनताको जीवनस्तर सुधारमा लाग्न नेपाल कम्युनिष्ट पार्टीलाई सुझाव दिनु भएको थियो । 

दुई दिनसम्म चल्ने त्यस छलफलमा दुई कम्युनिष्ट पार्टीको विचारधारा ‘सी जीनफिङ विचारधारा’ र नेपाल कम्युनिष्ट पार्टीको ‘जनताको बहुदलीय जनवाद’बारे खुलेर छलफल हुने बताइएको छ ।

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया