चिनियाँ कम्युनिष्ट पार्टीका नेतासामु के भने ओली र प्रचण्डले ? (मन्तव्यको पूर्ण पाठ)

 असोज ७, २०७६ मंगलबार ७:२४:९ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपाल र छिमेकी चीनका दुई सत्तारुढ कम्युनिष्ट पार्टीले समृद्धिको साझा आधार पहिल्याउने भन्दै  छलफल थालेका छन् । काठमाण्डौमा सोमबारदेखि सुरु भएको छलफल मंगलबारसम्म चल्नेछ ।

छलफलमा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका प्रमुख सोङ ताओलगायतका नेताहरुको उपस्थिति छ ।

छलफल कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले चीन र नेपालका विशेषताहरु फरक भएको बताउँदै चीनको भन्दा नेपालले केही फरक ढंगबाट मार्क्सवादको अभ्यास गरिरहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले अरुको अनुकरण गरेर अगाडि बढ्न नसकिने भन्दै मार्क्सवादको सिर्जनात्मक प्रयोग गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो ‘राजनीतिक दलले अनुकरण गर्नैपर्ने कुनै खास सूत्र हुँदैन । अर्काको अनुकरणबाट सफलतामा पुग्नै सकिँदैन । मार्क्सवादलाई हरेक देशले आफ्नो मौलिक ढंगबाट प्रयोग गर्नुपर्छ ।’

नेकपाले ‘सी विचारधारा’ को नक्कल गर्न खोजेको आरोप लागिरहेका बेला ओलीले भन्नुभयो ‘जतिसुकै सुन्दर भए पनि नक्कल नक्कलै हो जुत्ताको नापमा खुट्टा काट्ने होइन, परिस्थितिको ठोस विश्लेषण गर्दै आआफ्नो धरातलीय यथार्थका आधारमा सिर्जनात्मक हिसाबले मार्क्सवादको प्रयोग हुनुपर्छ ।

यो कार्यक्रम दुई देशका कम्युनिष्ट पार्टीबीच अनुभव आदान प्रदान गर्नका लागि भएको पनि उहाँले स्पष्ट पार्नुभयो ।

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकको मत जित्न सक्षम हुनेलाई नेतृत्व सुम्पने र अनुशासन कायम गर्न जरुरी भएकोमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘दुई देशबीच सदियौँदेखि रहेको ऐतिहासिक सम्बन्धको जगमा नयाँ सम्बन्धको आधारशीला खडा गर्न प्रशिक्षण फलदायी हुनेछ ।’

चीनले अघि सारेको ‘बेल्ट एण्ड रोड इनिसियटिभ’बाट नेपालले कृषि, उद्योग र सामाजिक क्षेत्रको विकासका पूँजी र प्रविधि भित्र्याउन लाभ लिन सक्ने उहाँको भनाइ छ ।

कार्यक्रममा उप्रधानमन्त्री एवं नेकपाका स्कुल विभाग प्रमुख ईश्वर पोखरेलले चिनियाँ विशेषतासहितको समाजवादको ढाँचाले विश्वमा प्राज्ञिक बहस सिर्जना गरेको सन्दर्भमा नेपाल र चीनका कम्युनिष्ट पार्टीबीचको विचारधारात्मक छलफलले आपसी सम्बन्धलाई थप विकसित गर्ने बताउनुभयो ।

उहाँले दुई पार्टीबीच स्कुल विभाग र प्रशिक्षण कार्यक्रमहरुमा तल्लो तहसम्म निरन्तर अनुभव आदानप्रदानको परिपाटी बसाल्नु पर्नेमा जोड दिनुभयो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया