नागरिक उड्डयन प्राधिकरणको बक्यौता २ अर्ब १९ करोड रुपैयाँ, महिना दिनभित्र ६५ करोड रुपैयाँ तिर्न १९५ कम्पनीलाई  सूचना

 असोज ७, २०७६ मंगलबार १४:१३:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल नागरिक उड्डयन प्राधिकरणलाई विभिन्न हवाइ कम्पनी, तथा निजी र सरकारी संघ संस्थाले तिर्नुपर्ने बक्यौता २ अर्ब नाघेको छ । साउन मसान्तसम्म प्राधिकरणलाई विभिन्न कम्पनीले २ अर्ब १९ करोड ८८ लाख रुपैयाँ तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार सञ्चालनमा रहेका अन्तर्राष्ट्रिय हवाई कम्पनीले ८२ करोड ७ लाख ६५ हजार रुपैयाँ बक्यौता तिर्न बाँकी छ । सञ्चालनमा नरहेका अन्तर्राष्ट्रिय हवाई कम्पनीले ४ करोड ८३ लाख ७२ हजार रुपैयाँ बक्यौता तिर्न बाँकी छ ।

यस्तै सञ्चालनमा रहेका आन्तरिक हवाई कम्पनीले ४ करोड ४४ लाख रुपैयाँ तिर्न बाँकी छ । सञ्चालनमा नरहेका आन्तरिक हवाई कम्पनीले ८ करोड ४३ लाख ७५ हजार रुपैयाँ बक्यौता तिरेका छैनन् ।

यस्तै सञ्चालनमा रहेका सरकारी निकायले ६५ करोड १५ लाख रुपैयाँ प्राधिकरणलाई तिरेका छैनन् । सञ्चालनमा रहेका विभिन्न संघ संस्था र पार्टीले ५१ करोड ८७ लाख रुपैयाँ तिरेका छैनन् । यस्तै सञ्चालनमा नरहेका विभिन्न संघ संस्था र पार्टीले ३ करोड ६ लाख रुपैयाँ तिरेका छैनन् । अन्य केही रकम जोडेर २ अर्ब १९ करोड बक्यौता बाँकी रहेको प्राधिकरणले जनाएको छ

महिना दिनभित्र ६५ करोड रुपैयाँ तिर्न १९५ कम्पनीलाई  सूचना

नेपाल नागरिक उड्डयन प्राधिकरणले १ सय ९५ कम्पनीका नाममा सूचना जारी गरेर ३० दिनभित्र बक्यौता तिर्न निर्देशन दिएको छ । मंगलबार १ सय ९५ कम्पनीको नाममा सूचना निकालेर प्राधिकरणले ३० दिनभित्र हिसाब फरफारक गर्न निर्देशन दिएको हो । प्राधिकरणका अनुसार १ सय ९५ कम्पनीले प्राधिकरणलाई विमानस्थल शुल्कसहित विभिन्न शीर्षकमा ६५ करोड ८ लाख रुपैयाँ तिर्न बाँकी छ ।

सूचनाअनुसार सबैभन्दा धेरै बक्यौता एअर एसियाको रहेको छ । नेपालमा उडान बन्द रेको एअर एसियाले प्राधिकरणलाई १८ करोड ९४ लाख २१ हजार रुपैयाँ तिर्न बाँकी छ । यस्तै गल्फ एअरले २ करोड २२ लाख,  कस्मिक एअरले ३ करोड ४९ लाख, ग्रीनल्याण्ड इन्टरनेशनल १ करोड ७८ लाख र देशप्रेम इन्टरनेशनल १ करोड ५० लाख रुपैयाँ तिर्न बाँकी छ ।

प्राधिकरणलाई तिर्न बाँकी २ अर्ब १९ करोड रुपैयाँ बाँकी रहे पनि अहिले १ सय ९५ कम्पनीका नाममा ६५ करोड रुपैयाँ तिर्न सूचना जारी भएको प्राधिकरणका सूचना अधिकारी त्रिलोचन पौड्यालले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया