कहाँ अड्कियाे समाजवादी पार्टी र राजपाकाे एकता प्रक्रिया ?

 असोज ८, २०७६ बुधबार ११:२०:५३ | नवराज फुयाँल
unn.prixa.net

काठमाण्डौ - राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच एकीकरणको कुरा चलेको धेरै भइसकेको छ । डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिसँग एकीकरण हुनुअघि नै उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टीसँग एकता गर्ने विषयमा राजपा र संघीय समाजवादी पार्टीबीच विभिन्न चरणमा छलफल नै भयो । 

त्यो बेला दुवै पार्टी एकीकरण गरेर अघि बढौँ भनेर दुवै दलले एक अर्कालाई पत्र नै लेखे । राजपा र संघीय समाजवादीबीच एकीकरणको कुरा चल्दै गर्दा डा.भट्टराई नेतृत्वको नयाँ शक्ति र संघीय समाजवादी फोरमको एकीकरण भयो । 

त्यसबेला पनि तीनै दल एकै पटक एकीकरणको घोषणा गरौँ भन्ने विषयमा तत्कालीन नयाँ शक्तिको पार्टी कार्यालयमा तीनै दलको बैठक बस्यो । तर त्यो बैठकले निष्कर्ष निकाल्न नसक्दा त्यसको केही दिनमा संघीय समाजवादी र नयाँ शक्ति मिलेर समाजवादी पार्टी स्थापना भयो । 

यसपछि पनि राजपा र समाजवादी पार्टीबीचको एकताको कुरा सकिएको छैन । अहिले पनि विभिन्न समयमा एकताको बारेमा नेताहरुबीच छलफल चलिरहेकै छ । राजपा महासचिव केशव झाका अनुसार समाजवादी पार्टीसँगको एकताका बारेमा यो असोज महिनामा टुंगो लाग्ने छ । 

असोज महिनामा एकीकरण भए हुन्छ नभए एकीकरणको च्याप्टर नै क्लोज हुने उहाँले बताउनुभयो । राजपाबाट पार्टी एकता गर्नका लागि गठित वार्ता टोलीका सदस्य समेत रहेका झाले दुवै दलबीच एकीकरणका लागि धेरै विषयमा नजिक रहे पनि केही विषयमा भने कुरा मिल्न नसकेको बताउनुभयो । 

राजपाले पहिले सरकार छाड्नु पर्ने सर्त तेर्साएको छ । तर समाजवादी पार्टीले भने एकीकरणका लागि सरकार छाड्नु पर्ने सर्त ठूलो नभएको बताउँदै आएको छ ।राजपाको अध्यक्ष मण्डलका सदस्यमध्ये राजेन्द्र महतो, महेन्द्र राय यादव र शरतसिंह भण्डारी समाजवादी पार्टीसँग जतिसक्दो चाँडो एकता गर्नु  पक्षमा छन् ।

तर अनिल झा र राजकिशोर यादव भने अहिले नै पार्टी एकता गर्दा नेता कार्यकर्ताको व्यवस्थापन गर्न समस्या आउने भन्दै पहिला आफ्नै पार्टीको महाधिवेशनमा जोड दिएका छन् । भर्खरै दोस्रो पटक अध्यक्ष मण्डलको संयोज कबनेका महन्थ ठाकुर भने एकीकरणका बारेमा खुलेका छैनन् । 

राजपाको विधान अनुसार नै हरेक दुई दुई महिनामा अध्यक्ष मण्डलको संयोजक परिवर्तन हुने व्यवस्था रहेकाले ठाकुर पुन: अध्यक्ष मण्डलको संयोजक बन्नुभएको हो । 

कहाँ अड्कियाे एकता प्रक्रिया ?

अध्यक्षमण्डलका सदस्य अनिल झा र राजकिशोर यादवले पार्टी एकीकरण अघि महाधिवेशन हुनुपर्ने अडान राखेपछि एकीकरणको प्रक्रियाले गति लिन नसकेको एक नेताले बताए । 

राजपाको महाधिवेशन यही कात्तिक २८–३० मा निर्धारण गरिएको छ । मंसिरदेखि तीनपटक मिति सार्दै कात्तिक २८–३० मा तोकिएको महाधिवेशन फेरि सर्ने हो कि भन्ने पनि देखिन्छ । तर अध्यक्षमण्डलका संयोजकमा ठाकुर चयन भएसँगै भने महाधिवेशन हुने सम्भावना देखिएको अनिल झा पक्षका नेताहरु बताउँछन् । तर कतिपयले भने ठाकुरको दुईमहिने कार्यकालभित्रै समाजवादी पार्टीसँगको एकीकरण अघि बढ्ने हुँदा महाधिवेशन फेरि सर्ने तर्क गर्छन् । 

अध्यक्षमण्डलका सदस्य महेन्द्र राय यादव पार्टीको महाधिवेशनअघि नै दुवै पार्टीबीच एकीकरण हुने सम्भावना बढेको बताउनुहुन्छ । दुवै पार्टीका वार्ता समितिले एकीकरणका विषयमा अनौपचारिक छलफल गरिरहेको र छिट्टै नै एकीकरणको काम सकिनेमा आफू विश्वास रहेको उहाँले बताउनुभयो । 

दुवै पार्टीको एकीकरणपछि नै संयुक्त महाधिवेशन गर्ने भन्ने बारेमा आफूहरुको जोड रहेकाले त्यसैअनुरुप जतिसक्दो छिटो एकीकरणलाई टुंगोमा पुर्‍याउन विभिन्न चरणमा सम्वादहरु भइरहेको उहाँको भनाइ छ । 

अनौपचारिक छलफलकै क्रममा वैचारिक र सांगठनिक विषयका धेरै मुद्दाहरु सहमति नजिक रहेकाले बाँकी विषय औपचारिक छलफलका क्रममा टुंगो लाग्ने भएकाले एकतामा ढिलाइ गर्न नहुने उहाँको तर्क छ ।  

पछिल्लो समय छलफल नै भएको छैन : समाजवादी पार्टी

पार्टी एकताका बारेमा पछिल्लो समय राजपासँग कुनै छलफल नभएको समाजवादी पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले बताउनुभयो । 

राजपासँग यो दशैँ तिहारको बीचमा एकता सक्ने गरी छलफल चलाउन पार्टीभित्र चर्चा भए पनि पछिल्लो समय दुवै  पार्टीका बीच औपचारिक/अनौपचारिक कुनै कुरा नभएको उहाँले बताउनुभयो । 

पार्टी एकीकरणका लागि पहिला सरकार छाड्नु पर्ने राजपाको अडानका कारण एकताको काम अघि बढ्न नसकेको केहीको बुझाइ छ । समाजवादी पार्टीका संघीय परिषदका संयोजक बाबुराम भट्टराईले संविधान संशोधनको मुद्दा अघि नबढाए दशैँपछि सरकारमा नबस्ने निर्णय गरिने भनेर भनिसकेकाले एकीकरणका लागि सरकारमा बस्ने नबस्ने भन्ने मुद्दाले खासै असर नगर्ने पाण्डे बताउनुहुन्छ ।  

पछिल्लो समय अनौपचारिक छलफल समेत नभएको अवस्थामा राजपाको अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो, महेन्द्र राय यादव र सरतसिंह भण्डारी भने पार्टी एकीकरण जसरी पनि महाधिवेशनअघि नै गर्नु पर्ने पक्षमा छन् । 

पार्टी एकीकरणका लागि दुबै दलले छलफललाई तीव्रता नदिए दशैँ तिहारअघि एकता हुन नसक्ने राजपा महासचिव केशव झा स्वीकार्नुहुन्छ । धेरै विषयमा कुरा मिलेकाले दुई चारदिन औपचारिक वार्ताको टेबलमा बसे बाँकी रहेका कुरा पनि टुंगोमा पुग्नेमा उहाँ विश्वास लिनुहुन्छ । 

पार्टीका अगाडि महाधिवेशन गर्ने वा पार्टी एकीकरण गर्ने भन्ने विकल्प रहे पनि महाधिवेशनको मिति घर्कँदै गएको छ । महाधिवेशनका लागि जिल्ला जिल्लामा गर्नु पर्ने काम अघि नबढेकाले एकीकरणको विकल्पमा नै पार्टी लागेको नेताहरु बताउँछन् । 

राष्ट्रियता र राष्ट्रिय एकतालाई बलियो पार्न दुवै पार्टीबीच एकीकरण आवश्यक रहेकाले एकीकरणका लागि दुवै दलले अग्रसरता देखाउनु पर्ने आवश्यकता रहेकाे महासचिव केशव झा बताउनुहुन्छ ।

अन्तिम अपडेट: चैत १०, २०८०

नवराज फुयाँल

फुयाँल सञ्चारकर्मी हुनुहुन्छ । उहाँ राजनीति, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। 

तपाईको प्रतिक्रिया