दशैँसम्म प्याजको भाउ नघट्ने

 असोज ८, २०७६ बुधबार १४:४:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – दशैँसम्म प्याजको भाउ नघट्ने व्यवसायीले बताएका छन् ।भारतमा प्याजको उत्पादन घटेर आयात कम भएकाले भाउ महँगो भएको उनीहरुको भनाइ छ । 

असोज लागेपछि प्याजको भाउ बढ्न थालेको हो । कालिमाटी थोक बजारमा भदौको अन्तिमसम्ममा किलोको एक सय रुपैयाँसम्ममा पाइने प्याज अहिले एक सय २५ रुपैयाँ खुद्रा मूल्यसम्म पुगेको छ ।

बुधबार भने प्याज किलोको एक सय १५ रुपैयाँ खुद्रा मूल्य तोकिएको छ । यो मूल्य मंगलबारको मूल्यको तुलनामा कम हो । तर खुद्रा व्यवसायीले भने समितिले तोकेभन्दा अझै महँगोमा प्याज बेच्दा उपभोक्ता मर्कामा पर्ने गरेका छन् । 

कालिमाटीमा एक सय १५ रुपैयाँ खुद्रा मूल्य तोकिए पनि बाहिरका खुद्रा व्यापारीले भने एक सय ३० देखि एक सय ४० रुपैयाँसम्म पनि लिने गरेका छन् । काठमाण्डौ उपत्यका बाहिर भने भाउ केही सस्तो पर्छ ।

नेपाली बजारमा पाइने प्याज धेरैजसो भारतबाट नै ल्याउने गरिएकाले भारतमा उत्पादन नबढ्दासम्म भाउ नघट्ने कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सदस्य राजन न्यौपानेले बताउनुभयो । दशैँपछि भारतमा हुने उत्पादनको आधारमा घटबढ हुन सक्ने उहाँको भनाइ छ । 

स्वदेशी उत्पादनले नपुग्ने भएकाले प्याजका लागि भारतकै भर पर्नुपर्ने बाध्यता छ । केन्द्रीय तरकारी बीउ उत्पादन केन्द्रका अनुसार ९० प्रतिशतभन्दा धेरै प्याज भारतबाटै आयात हुन्छ । नेपालमा उत्पादन लागत धेरै भएकाले किसानले खेती गर्न नचाहने हुँदा भारतबाट आयात गर्नुको विकल्प नभएको केन्द्रका प्रमुख अर्जुन काफ्लेले बताउनुभयो । उहाँका अनुसार नेपालको तुलनामा भारतमा प्याजको उत्पादन लागत कम पर्छ ।

काठमाण्डौको कालिमाटीमा मात्रै दैनिक १८ देखि २० टन प्याज भारतबाट आयात हुने गर्छ । हिजोआज भने आयात घटेर ८ देखि १० टन मात्रै रहेको व्यवसायीले बताएका छन् । 

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया