विश्वकप फुटबल २०१८ : बेल्जियमको ऐतिहासिक उपलब्धि, इंग्ल्याण्ड निराश

 असार ३०, २०७५ शनिबार २२:४:३७ | एजेन्सी
unn.prixa.net

इंग्ल्याण्डलाई हराउँदै बेल्जियम २१औं विश्वकप फुटबलमा तेस्रो भएको छ । विश्वकप इतिहासमा बेल्जियमको यो सबैभन्दा ठूलो उपलब्धि हो । यसअघि सन् १९८६ को विश्वकपमा बेल्जियम चौथो भएको थियो ।
                     
इंग्ल्याण्ड भने फेरि एक पटक चौथो भयो । सन् १९६६ को विश्व विजेता इंग्ल्याण्डले सन् १९९० को विश्वकपमा पनि इटालीविरुद्ध तेस्रो स्थानको प्लेअफ खेलेको थियो । त्यतिबेला पनि उसले २–१ गोलको पराजय ब्यहोरेको थियो ।
 
सेमिफाइनलमा पराजित दुई टोलीबीच रुसको सेन्ट पिटर्सबर्ग रंगशालामा सम्पन्न खेलमा बेल्जियम २–० गोलले विजयी भयो । बेल्जियमले पहिलो र दोस्रो हाफमा एक–एक गोल गरेको  थियो ।
 
खेल सुरु भएको चौथो मिनेटमै बेल्जियमले अग्रता लिएको थियो । उसका लागि थोमस मुनिरले गोल गरेका थिए । उनले नासिर चाड्लीको पास सदुपयोग गरेका हुन् ।
 
पहिलो हाफमा अग्रता बनाएको बेल्जियमले दोस्रो हाफमा अग्रता दोब्बर बनायो । जारी विश्वकपमा तेस्रो गोल गर्ने क्रममा कप्तान इडेन हाजार्डले केभिन डी ब्रुयनको पासलाई पेनाल्टी एरिया नजिकैबाट गोल गरेका थिए ।
 
इंग्ल्याण्ड सेमिफाइनलमा क्रोएसियासँग अतिरिक्त समयमा २¬–१ गोलले पराजित भएको थियो भने बेल्जियम फ्रान्ससँग १–० गोलले निराश बनेको थियो ।
 
यी दुई टोली समूह चरणमा पनि आमने सामने भएका थिए । समूह जी अन्तर्गतको अन्तिम खेलमा पनि बेल्जियमले इंग्ल्याण्डलाई १–० गोलले हराएको थियो ।
 
विश्वकपको फाइनल खेल भोलि हुनेछ । फ्रान्स र क्रोएसिया मस्कोको लुज्निकी रंगशालामा नेपाली समयअनुसार राति पौने ९ बजे आमने सामने हुनेछन्

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया