भेरी बबईमा दोस्रो चरणको काम सुरु

 असोज ९, २०७६ बिहिबार ७:३४:८ | रासस
unn.prixa.net

सुर्खेत – राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको दोस्रो चरणको काम सुरु भएको छ । चिनियाँ कम्पनी ग्वाङ्डङ युनाटियन र नेपालको रमण निर्माण जेभीले दोस्रो चरणको पूर्वाधार विकासको काम सुरु गरेका हुन् । कम्पनी र आयोजनाबीच यही साउन १३ गते सिभिल निर्माणको काम अघि बढाउने सम्झौता भएको थियो । 

निर्माण कम्पनीले आयोजना क्षेत्रमा रुख कटान, डिजाइन सर्भेलगायतका काम थालिसकेको जनाएको छ । पहिलो चरणमा टनेल बोरिङ मेसिन (टिबिएम) को सहायताले सुरुङ निर्माण गरिसकेको आयोजनाले दोस्रो चरणमा ६ गेजको ब्यारेज, सर्ज स्याफ्ट, विद्युत् गृहलगायतका संरचना बनाउँदै छ । यी संरचना निर्माणका लागि ६अर्ब १६ करोड ५२ लाख रुपैयाँ बजेट खर्च गर्दैछ ।

आयोजना प्रमुख सञ्जिव बरालले दशैँ अगावै जग्गा अधिग्रहण तथा मुआब्जा वितरणको काम सुरु गर्ने गरी आवश्यक तयारी भइरहेको बताउनुभयो । “दशैँ अघि नै मुआब्जा वितरण गर्ने प्रयासमा छौंँ”, उहाँले भन्नुभयो, मुआब्जा निर्धारण भइसकेको छ, थप बजेट निकासा हुन बित्तिकै मुआब्जा वितरणको काम थाल्छौँ ।” 

जिल्ला मुआब्जा निर्धारण समितिले प्रतिरोपनी १० लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरिसकेको छ । आयोजनाले बाँध निर्माणस्थल सुर्खेतको भेरीगङ्गा, गुर्भाकोट र लेकबेंसी नगरपालिकामा पर्ने १६ हेक्टर जग्गा अधिग्रहणका साथै एक सय घरपरिवारलाई मुआब्जा दिने तयारी गरेको छ । स्थानीय बासिन्दाले भने मुआब्जा रकम चल्तीको मूल्यभन्दा निकै कम तोकेको भन्दै सच्याउन अनुरोध गरेका छन् ।

आयोजना प्रमुख बरालले ४८ महीनाभित्र दोस्रो चरणको काम सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता गरिएको बताउनुभयो । उहाँका अनुसार प्रभावित क्षेत्रका बासिन्दाको सामाजिक आर्थिक विकासका लागि भेरी र बबई करिडोरमा सिँचाइ, तटबन्धलगायतका विभिन्न योजनाहरु सञ्चालन भइरहेका छन् ।

भेरीगङ्गा नगरपालिका–५ चिप्लेमा १४ मिटर अग्लो बाँध बनाई १२ किमी २१० मिटर लामो सुरुङमार्फत भेरीगङ्गाकै वडा नं ११ हात्तीखालस्थित बबई किनारमा भेरीको पानी खसालिँदै छ । जहाँ जलस्रोत, ऊर्जा तथा सिँचाइ मन्त्रालयको ‘जनताको जलविद्युत् आयोजना’ कार्यक्रमअन्तर्गत ४८ मेगावाट विद्युत् उत्पादन गर्ने योजना छ । 

भेरीबाट प्रतिसेकेन्ड ४० घनमिटर पानी बबईमा खसालेर ४८ मेगावाट विद्युत् उत्पादन गर्नुका साथै बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने आयोजनाको लक्ष्य छ । 

नेपाल सरकारको सहयोगमा चिनियाँ कम्पनी चाइना इन्जिनियरङ ओभरसिज लिमिटेड (कोभेक) ले नेपालमै पहिलोपटक टनेल बोरिङ मेसिनमार्फत भेरी बबईको १२ किमी २१० मिटर लामो सुरुङ निर्माण कार्य पूरा गरेको थियो । निर्धारित मितिभन्दा एक वर्ष अगावै निर्माण सम्पन्न गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले यही बैशाख ३ गते भेरी नदी किनारको चिप्लेमा आयोजित एक समारोहमा सुरुङको ‘ब्रेक थु्र’ गर्नुभएको थियो ।

सिँचाइ विभागले यहाँबाट उत्पादित विद्युत्को आम्दानी वार्षिक करिब रु. चार अर्ब तीन करोड र बाह्रै महिना सिँचाइ उपलब्धता भई कृषि उत्पादन बढेर वार्षिक तीन अर्ब १० करोड रुपैयाँ अप्रत्यक्ष आम्दानी हुने दाबी गरेको छ । आयोजनाको सम्पूर्ण काम आर्थिक वर्ष २०७९/८० सम्म सक्ने लक्ष्य छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया