पर्यटक घटेपछि खुम्बुका होटल व्यवसायी चिन्तित

 असोज १०, २०७६ शुक्रबार ७:८:५५ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – मौसम प्रतिकुलताका कारण पर्यटक घटेपछि खुम्बुका होटल व्यवसायी चिन्तित बनेका छन् । खुम्बुमा पर्यटक आगमनको एकमात्र विकल्प हवाई सेवा प्रतिकुल मौसमका कारण अवरुद्ध हुँदा व्यवसायीहरु चिन्तित भएका हुन् ।

लामो समयसम्म मनसुन सक्रिय हुँदा हवाई सेवा प्रभावित भएकाले खुम्बु क्षेत्रमा पर्यटक घटेका हुन् । गएका वर्षहरुमा दैनिक ५ सयदेखि ६ सय जनासम्म विदेशी खुम्बु भित्रिने गरेकोमा यो वर्ष दैनिक १५० देखि २ सय जनासम्म मात्रै पर्यटकहरु भित्रिएको पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताउनुभयो । अघिल्लो वर्ष यतिबेला निकै व्यस्त हुने होटल व्यवसायीहरु यस वर्ष फूर्सदिला बनेका छन् ।

खुम्बुमा विशेष गरी ४ महिना असोज, कात्तिक, चैत र वैशाखलाई पर्यटकीय सिजन मानिन्छ । खुम्बुका पर्यटन ब्यवसायीहरुको मुख्य आम्दानीको सिजन नै यही हो । तर यो वर्ष लामो समयसम्म र निरन्तर मौसम प्रतिकुल हुँदा विदेशी पर्यटक भित्रन नसकेको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख इमानाथ अधिकारीले जानकारी दिनुभयो ।

उडान तालिकामा वृद्धि, अधिकांश उडान रद्ध

पर्यटकीय सिजन भएकाले उडान तालिका दैनिक रुपमा वृद्धि भए पनि अधिकांश उडान रद्ध हुने गरेको छ ।

गएको बुधबार पनि लुक्लाका लागि तय भएको ३५ ओटा उडान मध्ये २९ ओटा उडान रद्ध भएको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख अधिकारीले जानकारी दिनुभयो । त्यस्तै, बिहीबार ४० ओटा उडान तालिका रहेकोमा सबै उडान रद्ध भएको उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: चैत १, २०८०

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया