साफ यू–१८ फुटबलको सेमिफाइनल खेल आज

 असोज १०, २०७६ शुक्रबार ७:२९:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाेमा भइरहेको साफ यू–१८ फुटबल च्याम्पियनसिप अन्तर्गत शुक्रबार सेमिफाइनल खेलहरु हुँदैछन् ।

हलचोकस्थित एपीएफ मैदानमा बिहान ११ बजेदेखि सुरु हुने पहिलो सेमिफाइनलमा समूह ए को विजेता भुटान र समूह बी को उपविजेता बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ ।

दक्षिण एसियामा उदाउँदो टोलीको रुपमा रहेको भुटानले उमेर समूहको प्रतियोगितामा पहिलोपल्ट फाइनलमा पुग्नका लागि गएको संस्करणको उपविजेता बंगलादेशलाई पराजित गर्नुपर्नेछ ।

समूह चरणमा भुटानले नेपाललाई ३–० गोलअन्तरले स्तब्ध तुल्याउँदै समूह विजेता बनेको थियो । उसले माल्दिभ्ससँग गोलरहित बराबरी खेलेको थियो ।

बंगलादेशले भने भारतसँग बराबरी खेलेको थियो भने श्रीलंकालाई पाराजित गरेको थियो ।

यही मैदानमा दिउँसो ३ बजेदेखि सुरु हुने दोस्रो सेमिफाइनलमा उपाधि दावेदार भारत र माल्दिभ्स आमने सामने हुँदैछन् । भारत समूहको बी को विजेता र माल्दिभ्स समूह ए को उपविजेताको हैसियलमा सेमिफाइनलमा आमने सामने हुन लागेका हुन् ।

भारतले समूहको पहिलो खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा श्रीलंकालाई ३–० ले पराजित गरेको थियो । माल्दिभ्सले नेपाल र भुटान दुवैसँग गोलरहित बराबरी खेलेको थियो ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया