दशैँमा डेंगी र स्क्रब टाइफस फैलने जोखिम

 असोज १०, २०७६ शुक्रबार १४:५०:५६ | मदन पौड्याल
unn.prixa.net

काठमाण्डौ – कैलाली टिकापुरका त्रिलोकप्रताप अधिकारी दशैँमा घर जाने तयारीमा हुनुहुन्छ । उहाँले बसको अग्रिम टिकट समेत लिइसक्नुभएको छ । दशैँको उत्साहसँगै उहाँलाई डेंगी सर्ने त्रासले पनि सताएको छ । 

‘काठमाण्डौमा मात्रै एक हप्ता बिताउनु छ’ उहाँले भन्नुभयो, ‘त्यसपछि घर पुगिन्छ, तर घर नपुग्दै डेंगी पो लाग्ने हो कि भन्ने त्रास छ । यता काठमाण्डौमा बस्दा पनि डर, उता घर पुगेपछि पनि डर । कैलालीमा पनि डेंगीका बिरामी छन् ।’

दशैँमा गाउँघर जाने सबैलाई यस्तै त्रास छ । आवातजावत र चहलपहल बढिरहेको यो बेला भाइरल ज्वरो, डेंगी, स्क्रब टाइफस लगायत विभिन्न रोगको संक्रमण फैलिएको छ । अहिले संक्रमणकै रुपमा देखिएका रोग दशैँमा आवतजावत गर्नेहरुबाट थप फैलन सक्ने जोखिम रहेको डाक्टरले बताएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. विवेककुमार लालले भन्नुभयो, ‘सबैभन्दा बढी डेंगीको संक्रमण फैलने त्रास हुनु स्वभाविक छ ।’ 

‘काठमाण्डौमा पनि डेंगीका बिरामी भेटिएकाले यताबाट जाने पनि चनाखो हुनुपर्छ’ उहाँले भन्नुभयो, ‘दशैँ मनाएर फर्कने पनि सजग रहनुपर्छ ।’

डेंगी मुख्य चुनौती

वैशाख अन्तिम हप्ता सुनसरीको धरानमा देखा परेको डेंगी अहिले देशैभर फैलिएको छ । काठमाण्डौमा गएको साउनमा डेंगी देखिएको हो । ‘वैशाख, जेठ डेंगी देखा पर्ने मौसम होइन, तर यसपालि देखियो’ डाक्टर विवेककुमार लालले भन्नुभयो, ‘असोज, कात्तिक र मंसिर डेंगी सार्ने लामखुट्टेका लागि अनुकूल मौसम हो ।’

धरानबाट सुरु भएको डेंगीको संक्रमण दिनदिनै बढको बढ्यै छ । अहिले काठमाण्डौ उपत्यकासहित देशभरि नै डेंगीका बिरामी र संक्रमित छन् । सरकारले डेंगी नियन्त्रणका लागि अभियान नै चलाएको छ । डेंगी नियन्त्रण बाहिर नरहेको तर साझा समस्या बनेकाले चुनौतीका रुपमा रहेको इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । 

चाडपर्वमा मानिसको भिडभाड, ओहोरदोहोर तथा जमघट बढी हुने भएकाले डेंगी फैलने खतरा धेरै छ । डेंगी सार्ने लामखुट्टे यसपाली तराईसहित पहाड र हिमाल जताततै भेटिएको छ । डेंगी संक्रमितलाई लामखुट्टेले टोकेर संक्रमित भइ अन्य व्यक्तिलाई समेत रोग सार्न सक्छ । 

डेंगीको संक्रमण सातवटै प्रदेशसहित ६८ जिल्लामा देखा परेकाले चाडपर्व मनाउन जानेहरु सबैभन्दा बढी डेंगी सार्ने लामखुट्टेबाट जोगिनु आवश्यक रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत डाक्टर कृष्णकुमार राई बताउनुहुन्छ । राईले भन्नुभयो, ‘यो संक्रमणको जोखिम भएका ठाउँका नागरिकसँगै चाडपर्वमा त्यहाँ पुग्नेहरुले पनि सावधानी अपनाउनु आवश्यक छ ।’ त्यसैले यसपाली दशैँ, तिहार, छठ जस्ता पर्वमा आवतजावत गर्दा लामखुट्टेबाट सजग रहन उहाँको सुझाव छ ।

स्क्रब टाइफस पनि फैलँदै

डेंगी बाहेक स्क्रब टाइफस पनि ६३ जिल्लामा फैलिएको छ । मुसामा पर्ने किर्नाबाट स्क्रब टाइफस हुन्छ । माइट जातिको सुक्ष्म किराले स्क्रब टाइफस सार्ने, तर मानिसबाट मानिसमा भने नसर्ने रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर विवेककुमार लालले बताउनुभयो ।

उहाँका अनुसार ज्वरो आउनु, टाउको दुख्नु, खोकी लाग्नु, शरीरमा रातो बिबिरा देखिनु यसका लक्षण हुन् । यो रोगका बिरामी शहरी क्षेत्रको तुलनामा गाउँमा बढी भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क छ । स्क्रब टाइफस गाउँमा देखिएकाले दशैँ, तिहारमा गाउँ जानेहरुलाई बढी चनाखो हुन डाक्टर विवेककुमार लालको आग्रह छ । स्क्रब टाइफस असोज अन्तिमसम्म नै देखिने उहाँको भनाइ छ ।

भाइरल ज्वरोको पनि संक्रमण

डेंगी, स्क्रब टाइफस बाहेक रुघाखोकी र भाइरल ज्वरो पनि उत्तिकै संक्रमणका रुपमा छ । डाक्टर राईका अनुसार रुघाखोकी, भाइरल ज्वरो लगाएयका संक्रमण हुनबाट जोगिन विशेष ख्याल गर्नुपर्ने हुन्छ । 

दशैँमा मनसुन सकिने बेला हुन्छ । त्यसैले मौसम परिवर्तन हुने भएकाले रुघाखोकीको जोखिम बढ्न सक्छ । कमजोर रोग प्रतिरोधात्मक क्षमता भएका मानिसलाई भाइरल संक्रमणकै कारण जीउ दुख्ने, कमजोरी महसुस हुने, छाती दुख्ने, घाँटी दुख्नेजस्ता लक्षण समेत देखा पर्छ । मौसमी रुघाखोकी, झाडापखाला, हैजाले पनि सताउन सक्ने भएकाले सचेत हुनुपर्ने डाक्टर राई बताउनुहुन्छ । 

यात्रामा ख्याल गरौँ, खानपानमा ध्यान दिउँ

दशैँ मनाउन घरगाउँ जाने हतारो सुरु भैसकेको छ । विदेश र शहरबाट घरगाउँ जानेहरु बिदा र टिकटसहित आवश्यक बन्दोबस्त गर्न व्यस्त छन् । यात्राका बेला खानपानमा बढी ध्यान दिनुपर्छ ।

विभिन्न सरुवा रोगबाट जोगिन पानी उमालेर मात्र पिउन, साबुन पानीले हात धुन तथा बासी र सडेगलेका खानेकुरा नखान सुझाव दिँदैै डाक्टर राई भन्नुहुन्छ, ‘हप्ता/दश दिन गाउँघरमा बिताउनेले लामखुट्टेको टोकाइबाट बच्न, राति सुत्दा झुलको प्रयोग गर्न, काम नपरी सार्वजनिक ठाउँमा नजान, सकेसम्म मास्कको प्रयोग गर्न, खानपानमा बढी ध्यान दिन तथा आफ्नो स्वास्थ्यप्रति आफैँ सचेत रहन आवश्यक छ ।’

अन्तिम अपडेट: चैत २९, २०८०

मदन पौड्याल

उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।  

 

तपाईको प्रतिक्रिया