साफ यू–१८ फुटबल च्याम्पियनसिप : फाइनलमा भारत र बंगलादेश खेल्ने

 असोज १०, २०७६ शुक्रबार १७:२०:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौमा जारी साफ यू–१८ फुटबलको उपाधिका लागि बंगलादेश र भारत खेल्ने भएका छन् । 

भारतले माल्दिभ्स र बंगलादेशले भुटानलाई पराजित गर्दै उपाधिका लागि भेट पक्का गरेका हुन् । यी दुवै टिमले समूह चरणमा पनि प्रतिस्पर्धा गर्दा खेल गोलरहित बराबरीमा सकिएको थियो । 

भारतले शुक्रबार भएको दोस्रो सेमिफाइनलमा समूह ए को उप विजेता मालिभ्सलाई ४-० ले पराजित गर्दै उपाधिनजिक पुगेको हो । पहिलो संस्करणमा समान ९ अंक भए पनि गोल अन्तरमा पछि पर्दै उपविजेता बनेको भारतले तेस्रो संस्करण जित्ने लक्ष्यसहित नेपाल आएको बताएको थियो ।

हलचोक मैदानमा भारतले माल्दिभ्सलाई पराजित गर्ने क्रममा पहिलो हाफमा २ र दोस्रो हाफमा २ गोल गरेको थियो । सातौं मिनेटमा भारतका लागि नरेन्दरले गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफको इन्ज्यूरी समयमा मोहम्मद रफिले गोल गर्दै अग्रता दोब्बर बनाए ।

पहिलो हाफजस्तै दोस्रो हाफमा पनि भारतले माल्दिभ्समाथि दबाब कायमै राखेको थियो । ७९ औं मिनेटमा मनवीर सिंहले गोल गर्दै भारतलाई ३-० को अवस्थामा लगेका थिए ।

त्यसको २ मिनेटपछि भारतका निङथोङले गोल गर्दै भारतलाई ४-० ले जिताए । 

यस्तै शुक्रबार नै भएको पहिलो खेलमा भुटानमाथि बंगलादेशले पनि ४-० को जित निकालेको थियो । पहिलो हाफमा नै बंगाली टोलीले ३-० को अग्रता बनाएको थियो । १६ मिनेटमा मोहम्मद तनबिर हुसैनले गोल गर्दै बंगलादेशलाई पहिलो सफलता दिलाएका थिए ।

२७ औँ मिनेटमा फेजल अहम्मद फहिमले गोल गर्दै टोलीको अग्रतालाई दोब्बर बनाए । ३२ औँ मिनेटमा मिराज हुसेनको गोलसँगै बंगलादेशले अग्रता ३-० पुर्‍यायाे । हुसेनले डिबक्सभन्दा बाहिरबाट गरेको प्रहार गोलमा परिण बनेको थियो । पहिलो हाफमा नै ३-० ले अघि रहेको टोलीले दोस्रो हाफमा पनि एक गोल थप्यो ।

सेमिफाइनलमा पराजित भएका भुटान र माल्दिभ्सले आइतबार बिहान साढे १० बजे तेस्रो स्थानका लागि सातदाेबाटाेमा प्रतिस्पर्धा गर्नेछन् । बंगलादेश र भारतबीचको फाइनल खेल भने आइतबार दिउँसो हलचाेकमा ३ बजे सुरु हुनेछ ।  

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया