तपाईंलाई पनि एन्जाइटी हुन सक्छ : डा. ऋषभ कोइराला

 असार ३१, २०७५ आइतवार ८:९:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

पछिल्लो समय धेरै खालका मानसिक समस्या देखा परेका छन् । त्यसमध्ये पनि धेरैलाई देखापर्ने एन्जाइटी हो । यसबारे विना न्यौपानेले मानसिक रोग विशेषज्ञ डाक्टर ऋषभ कोइरालासँग कुराकानी गर्नु भएको छ ।

एन्जाइटी कस्तो खालको मानसिक समस्या हो ? 

अहिले सबैभन्दा धेरै देखिएको र सामान्य खालको रोग हो । आत्तिने, कुरा खेलाउने, छटपटिने, डराउने यी चारवटा रोगको समिश्रण हो । योसँग अरु धेरै लक्षण सँगै भएर आउँछन् । जस्तै :

बारम्बार मन आत्तिने  ।
कुनै अप्रिय घटना होला भन्ने डर लाग्ने ।
हात खुट्टा झम्झमाउने ।
मुटु ढुकढुक हुने ।
टाउको दुख्ने ।
यस्तै खालका झण्डै ५० खालका लक्षणहरु देखा पर्छन ।

यस्ता समस्या के कारणले हुन सक्छ ?

अहिलेसम्म ठ्याक्कै यही कारण भन्ने त छैन । तर एन्जाईटीको लागि मुख्य तीन कारण हुन्छ । बायो, साइको र सोसियल । बायो भन्नाले जेनेटिकको आधारमा हुन्छ । बुवा आमामा एन्जाइटी छ भने छोराछोरीमा हुने सम्भावना धेरै हुन्छ । अहिलेसम्मको क्लिनिकल प्रयोगले पनि यो देखाएको छ । त्यस्तै थाईराइड हर्माेन बढेर या अरु रोगको कारणले  पनि लाग्न सक्छ, यसलाई बायोलोजिकल भनिन्छ  ।

साइकोलोजिकल भन्नाले मान्छेको सोच्ने तरीका हुन्छ । यो सबैको आआफ्नै खालको हुन्छ । कोही एकदम आँटिला हुन्छन् । कोही एकदम डराउने हुन्छन् । कोही लोभी हुन्छन्, कोही दानी हुन्छन् । त्यसरी नै यो नेचरले गर्दा भएको मान्छेमा अलिकति बढी सेन्सेटिभ हुने, मनमा बढी कुरा खेलाउने, सानोसानो कुरामा पनि आत्तिने भयो भने त्यो मान्छेलाई एन्जाइटी डिस्अडर हुन सक्छ ।

अर्काे, सोसियल भन्नाले जीवनमा आईपर्ने घटनाले पार्ने प्रभाव हो । जस्तो भूकम्प, बिछोड, मृत्यु र कसैलाई परीक्षाले पनि हुन्छ ।

मानिस त सानो कुराले पनि आत्तिएको हुन्छ  । अब सामान्य रुपमा आत्तिँदा पनि एन्जाइटी भएको भनेर बुझ्ने हो ?

हामी सबै जनालाई एन्जाईटी हुन्छ नै । जस्तै परीक्षा अगाडि सबैलाई एन्जाईटी हुन्छ, कतिलाई अन्तरवार्ता लिंदा वा दिंदा हुन्छ भने कतिलाई आआफ्नो काम अनुसार एन्जाईटी हुन्छ । 

हामीले रोगको रुपमा एन्जाईटी  डिसअडरलाई भन्छाैँ । जब त्यही एन्जाईटीको मात्रा बढी हुन्छ र सामाजिक वा आफ्नो काममा बाधा हुन्छ भने वा चिन्ता गरेर बिग्रन्छ भने त्यसलाई रोग भनिन्छ । जस्तै स्टेजमा गएर बोल्नु पर्दा आत्तिएर हात खुट्टा काम्यो, तर बोल्नुपर्ने सबै कुरा बोलियो भने त्यसलाई एन्जाईटी भएको भनेर बुझिन्छ । तर त्यही मान्छे गएर स्टेजमा नै ढल्यो भने या डराएर बोली नै फुटेन भने त्यो एन्जाईटी डिसअडर हो ।

एन्जाइटी हुने कुनै विशेष उमेर समूह हुन्छ कि जुनसुकै उमेर समूहमा पनि हुन्छ ?

यो जुनसुकै उमेर समूहकालाई पनि हुन्छ । यो समूहमा हुने, त्यो उमेर समूहमा नहुने भन्ने हुँदैन । धेरैको सोच के छ भने बच्चामा एन्जाइटी हुँदैन भन्ने । तर बच्चाहरुमा एकदमै धेरै हुन्छ । एन्जाइटीले गर्दा स्कुल नजाने, परीक्षा बिगार्ने हुन्छ । त्यसैले बच्चादेखि वृद्धसम्मका मानिसमा हुन्छ । यसमा पनि केटीहरुमा धेरै हुने गरेको पाईन्छ ।

सामान्य आत्तिने त सबैमा हुन्छ । यसमा पनि चरण हुन्छ कि के छ ? सुरुमा नै ठूलो रुपमा देखा पर्ने त होइन होला ?

सबैलाई एउटै हुन्छ भन्ने त छैन । कसैलाई विस्तारै हुन्छ, कसैलाई झ्याप्पै आउँछ । कतिजना अहिले अस्पताल पनि पुग्न सक्नुहुन्छ, मेरो मुटु के भयो हर्टयाट्रयाक हुन लाग्यो भनेर पनि । लगभग २०, ३२ प्रतिशत बिरामीमा प्यानिक याट्रयाक बनेर आउँछ । मान्छेलाई अनुभुति हुन्छ यो समयपछि मैले काम बिगार्न थालेको छु भनेर या मेरो पहिलको जस्तो आँट छैन भनेर । त्यस्तै कति कुराहरु बिर्सने, साँचो कता राखे भनेर याद नहुने, सानो कुराले चित्त दुख्ने आँखा भरिएर आउने, सानो कुरामा झनक्क रिसाउने अनि एकछिनपछि किन रिसाएछु जस्तो लाग्ने यो सबै डिसअडरको लक्षणहरु हुन् ।

जेनरलाइज्ड एन्जाइटी डिसअर्डर एउटा व्यापक र आधारभूत रोग हो । जसको मुख्य लक्षण चिन्ता, डर, तर भविष्यप्रति आशंका रहनु हो । यसमा मानिसलाई मर्छु भन्ने डर लागिरहन्छ र आफ्ना साथी, भाइ, नातेदार, रिश्तेदारलाई बारम्बार बोलाउने गर्छ । बिरामीलाई एक प्रकारको अप्ठ्यारोपन सदैब महसुस भइरहेको हुन्छ । रोगीको मुख सुक्ने, मुटु धेरै ढुकढुक हुने, डर लाग्ने, छटपटी हुने गर्दछ । त्यस्तै पेट दुख्ने, छातीमा अप्ठ्यारोपन महसुस हुने, छिटोछिटो सास चल्ने पनि हुन्छ ।

–छटपटी लाग्ने, कुनै कुरामा ध्यान एकाग्र हुने, छिनछिनमा पिसाब हुने पनि यो रोगको लक्षण हो । कहिलेकाहीँ रिगाटा पनि लाग्न सक्छ । 
– निद्रा ढिलो पर्ने र निद्राबाट धेरैचोटी ब्युँझिने पनि यस रोगको लक्षण हो । 

बिरामी कुर्सीको छेउमा बस्ने, अनुहार तथा शरीरमा एक प्रकारको तनाव महसुस हुन्छ । अनुहार रातोपिरो हुने, निधारका रेखाहरू पहिलेभन्दा बढी र प्रस्ट देखिने, हात काँप्नुको साथसाथै नाडीको गति र रक्तचाप बढ्ने गर्दछ । बिरामी डराएको जस्तो हुन्छ र हातखुट्टामा पसिना बढी देखा पर्दछ । 

यस्ता समस्या देखिएपछि समाधान कसरी गर्ने त ?

भर्खरै सुरु भएको छ भने ध्यान मेडिटेसनले पनि एकदमै राम्रो गर्छ । बिभिन्न देशहरुको अनुसन्धानले त्यो देखाएको छ । हल्का शारीरिक ब्यायाम, ध्यानले एन्जाईटीलाई धेरै नै राम्रो गर्छ । तर कडा खालको एन्जाइटीमा पनि यो प्रकृया गर्नु त पर्छ, तर यतिले पुग्दैन । किनभने धेरै आत्तिएको बेला ध्यान गर्न सक्ने अवस्था हुँदैन ।

त्यो बेलामा औषधी नै खानुपर्ने हुन्छ । ८ देखि १० महिनासम्म औषधी खायो भने ठीक हुन्छ । त्यसको साथै ध्यान, मेडिटेसनले पनि धेरै राम्रो हुन्छ । अनि औषधीको बारेमा भन्नै पर्ने कुरा के हो भने कतिपयले औषधी खायो भने बानी पर्छ, जीवनभर खानुपर्छ भन्नुहुन्छ, तर त्यो साँचो होइन  । 

एकपटक एन्जाइटी भयो अनि सञ्चो पनि भयो, फेरि दोहोरिने सम्भावना हुन्छ कि हुँदैन ? 

एकपटक रुघाखोकी लागेको मान्छेलाई फेरि लाग्छ भने यो पनि त्यस्तै हो । त्यसैले हामीले पहिला नै औषधी खाने बेलामा यस्तो सोच बनाउनु पर्याे कि अब मलाई नहोस् भनेर सकरात्मक सोच ल्याउनुपर्याे । त्यसै शारीरिक ब्यायाम तथा योगलाई पनि प्राथमिकता दिनु पर्छ । नियमित रुपमा योगा, ध्यान गर्दा पनि धेरै फाईदा पुग्छ । त्यसैले आफू नै बढी सचेत हुनुपर्छ ।

एन्जाइटी भएकालाई परिवार तथा समाजको  भूमिका कस्तो हुनुपर्छ ? 

एन्जाईटी भएको मानिस कचकच गर्ने स्वभावको हुन्छ । सानो सानो कुरामा पनि रिसाउने, झर्किने, छटपटाउने हुन्छ । त्यो भएपछि डिस्अर्डरको कारणले धेरैको सम्बन्ध बिग्रिएको छ । यस्तो खालको समस्या देखा पर्याे भने परिवारका सदस्यले पनि सम्झाउनु पर्छ । एन्जाईटी भयो भन्दैमा ठूलो समस्याको रुपमा लिन हुँदैन । सामान्य समस्या हो भन्ने छाप पार्नुपर्छ ।

एन्जाइटी हुन भन्दा पहिला नै कसरी सावधानी अपनाउने ?

यसको लागि यी कुरामा ध्यान दिनुपर्छ :
लगातार व्यायाम गर्ने । 
ध्यान, मेडिटेसन गर्ने ।
खानपिनमा पनि ध्यान दिने ।
धेरै मद्यपान नलिने ।
कामको स्ट्रेस नलिने । 
म्युजिक सुन्ने, डान्स गर्ने ।
आफूलाई जे गर्दा आनन्द आउँछ त्यो काम गर्ने त्यसले पनि धेरै एन्जाईटी कम हुन्छ । 


 

अन्तिम अपडेट: असोज ८, २०७५

1 Comments

तपाईको प्रतिक्रिया