संयुक्त राष्ट्र संघमा पाकिस्तानी प्रधानमन्त्री : भारत ठूलो बजार भएकाले विश्व चुप छ

 असोज ११, २०७६ शनिबार ६:३२:४४ | एजेन्सी
unn.prixa.net

संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्दै पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारत प्रशासित कश्मीरको मुद्दालाई उठाएका छन् ।

सत्तामा आएसँगै भारतसँग सम्बन्ध सुधार्नका लागि हात अघि बढाए पनि भारतबाट भने कुनै सकारात्मक जवाफ नपाएको उनले बताए । भारतमा चुनाव आउँदै गरेको अवस्थामा नरेन्द्र मोदीको सरकारको रवैयालाई आफूले राम्रोसँग बुझेको बताउँदै इमरान खानले दोस्रो पटक सत्तामा आएपछि पनि मोदीले शान्ति पुनर्स्थापनाका लागि कुनै प्रयास नगरेको आरोप लगाए ।

इमरान खानले ५ अगस्टमा कश्मीरलाई राज्यलाई प्राप्त विशेष राज्यको दर्जा खारेज गरेर ८० लाख नागरिकलाई हरेक प्रकारले कैदमा राखेको बताए । यसबाट पनि मोदी सरकारको खास एजेण्डा भएको थाहा हुने उनले बताए । पाकिस्तानी प्रधानमन्त्री खानले भारतले शिमला सम्झौता र आफ्नै संविधानविरुद्ध कदम चालेको आरोप लगाए ।

‘कश्मीरमा नरसंहार हुन्छ’

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारत प्रशासित कश्मीरमा प्रतिबन्ध हटेसँगै नरसंहार हुने आंशका व्यक्त गरेका छन् । खानले ८० लाख कश्मीरी नागरिक जनावरझै जिन्दगी जीउन बाध्य भएको बताएका छन् ।

भारत प्रशासित कश्मीरमा भैरहेको ज्यादतिबारे विश्व नबोल्नुको कारण भारतको ठूलो बजार भएको पाकिस्तानी प्रधानमन्त्री इमरान खानले बताएका छन् ।

उनले भारतमा कश्मीरी युवा कुनै हिंसामा सहभागी भए पनि सिधै पाकिस्तानमाथि दोष थुपार्ने काम हुँदै आएको बताए । उनले यदि भारत र पाकिस्तानबीच युद्ध भए एउटा सानो देश भएका नाताले पाकिस्तानसँग भएको परमाणु हतियार प्रयोग गर्नुका अलावा अरु कुनै उपाय नभएको बताए । 

इमरान खानले संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्दै विश्वलाई सतर्क बनाए कि भारत पाकिस्तानबीचको युद्धको असरमा पूरा विश्वमै पर्छ । उनले संयुक्त राष्ट्र संघलाई आफ्नो जिम्मेवारी निर्वाह गर्न आग्रह गर्दै सन् १९३९ मा युरोप जुन अवस्थामा थियो, त्यही अवस्थामा अहिले भारत र पाकिस्तान रहेको बताए । 

उनले सन् १९३९ मा युरोपले हिटलरको तुष्टिकरण गरेकै कारण दोस्रो विश्वयुद्ध भएको बताए । साथै आज कश्मीरको अवस्था त्यस्तै भएकाले विश्व समुदायले यस विषयमा हस्तक्षेप गर्न पर्ने बताए ।

५० मिनेट लामो भाषण

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हिटलर मुसोलीनीको विचारधारा मान्ने गरेको पनि आरोप लगाए । मोदी हिटलर र मुसोलीनीको विचारधारालाई पछ्याउने राष्ट्रिय स्वंयसेवक संघको आजीवन सदस्य भएको बताए ।  आरएसएसको विचारधाराले नै महात्मा गान्धीको हत्या गरेको पनि आरोप लगाए ।

इमरान खानले संयुक्त राष्ट्र संघले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने बताउँदै कश्मीर विषयमा आफूले दिएको प्रस्ताव लागू गराउन लागिपर्न आग्रह गरे ।

कश्मीरमा लगाइएको प्रतिबन्ध हटाउन विश्व समुदायले भारतलाई दबाब दिनु पर्ने उनले बताए । कश्मीरी नेता र नागरिकलाई तत्काल रिहा गर्न पनि उनले आग्रह गरे । उनले कश्मीरी नागरिकलाई आत्मनिर्णयको अधिकार प्राप्त हुनुपर्ने बताए ।

इमरान खानले झण्डै ५० मिनेट लामो भाषण गरे । उनले कश्मीरका अलावा जलवायु परिवर्तन, विश्वमा बढिरहेको गरिबी तथा इस्लामोफोबियाका बारेमा पनि चर्चा गरे ।

त्यसभन्दा पहिले उनले आतंकवादसँग कुनै पनि धर्मको लेनदेन नभएको स्पष्ट पारे । उनले सेप्टेम्बर ११ को घटनापछि विश्वमा इस्लामोफोबिया बढेको बताउँदै यसको अन्त्य हुनुपर्ने बताए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने कश्मीरको मुद्दा उठाएनन् । उनले आतंकवाद पुरै विश्वको साझा समस्या भएकाले यसलाई परास्त गर्न एकजुट भएर लाग्नुपर्ने बताए । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया