आशबहादुरलाई दशैँ उपहार : जता फर्के पनि छुट र बहार !

 असोज ११, २०७६ शनिबार ८:३०:२४ | मिलन तिमिल्सिना
unn.prixa.net

हेर्दाहेर्दै दशैँ आयो । झरी बादल, हिलोमैलो हट्न भ्याएको छैन, दशैँले झ्याप्पै छोप्यो । कताको नुनतेल, कताको लुगाफाटो, कताको पैसा...दशैँको तयारी शुरु भएकै छैन, दशैँ आयो, आयो, आइहाल्यो ।

सम्झँदैमा आशबहादुरको निधारमा चिटचिट पसिना आयो । के गरौं, कसो गरौं, कसरी टारौं, कसरी पुर्‍याउँ भनेर छटपटी भयो । तर आशबहादुरले उतिखेरै थाहा पाए, नागरिकलाई दशैँ मनाइदिन सरकारदेखि व्यवसायीसम्मले तँछाडमछाड गर्दैछन् । कसले अरुकोभन्दा राम्रो सेवा, सुविधा दिएर नागरिकको मन खुशी पार्ने भनेर प्रतिस्पर्धा गर्दैछन् ।

सबैभन्दा पहिले दशैँकै लागि भनेर सरकारले सहुलियत पसल खोलेको आशबहादुरले थाहा पाए । नुन, तेल, मरमसला, दालचामल सित्तैमा बाँड्न लागेजस्तो हल्लीखल्ली सुने ।

दशैँ कसरी मनाउने होला भनेर चिन्ता गरेर बसेको बेला सरकारले खाद्यान्न बाँड्ने भयो भनेपछि चुप लागेर बस्ने कुरा भएन । उनी फाल ठोक्दै सहुलियत पसल पुगे । तर पुगेपछि मात्र थाहा भयो, नाम मात्रै सहुलियत रहेछ । अरु पसलमा भन्दा जम्मा दुई रुपैयाँ सस्तो । त्यही पनि काठमाण्डौका केही ठाउँमा मात्रै ।

दुई रुपैयाँ सस्तोको लागि सहुलियत पसलमा जान गाडीवालाले २० रुपैयाँ भाडा लियो । जाँदा २० रुपैयाँ, आउँदा २० रुपैयाँ । ४० रुपैयाँ त गाडीभाडामै सकियो । बजारसम्म पुग्दा भोक लाग्यो । खानेकुरा देखेपछि खाउँखाउँ लाग्यो । खान बस्दा १०, २० रुपैयाँले पुग्दैन । १० को कम्तीमा १० वटा नोट चाहिन्छ । त्यतिले पनि पेट भरिने चाहिँ होइन ।

दुई रुपैयाँ सस्तो खोज्न सहुलियत पसल जाँदा कम्तिमा डेढसय त गाडीभाडा र खाजा खर्चमै सकिँदो रहेछ । आशबहादुरले खुइय सुस्केरा हाले । तै पनि दशैँमा सहुलियत पसल खोल्यौं भनेर सरकार दंग मात्रै छैन, उग्र प्रचार प्रसारमा पनि व्यस्त छ । सरकार दंग परेको देखेर आशबहादुरको मन भरियो । हाम्रै लागि सहुलियत पसल खुलेको हो भनेर हामी चाहिँ किन मख्ख नपर्ने ? आशबहादुरले चित्त बुझाए ।

दुख्न लागेको चित्तलाई थामथुम पार्दै आशबहादुर घर पुग्नै लागेका थिए, फेरि नयाँ नोट बाँडेको अर्को हल्ला सुने । सरकारले धमाधम नयाँ नोट बाँड्न थाल्यो रे । नयाँ नोट कहाँ कहाँबाट लिने भनेर राष्ट्र बैंकले सूचना नै निकालेको खबर सुने । हत्तपत्त नजिकै रहेको बैंकतिर कुदे ।

बैंकमा ठेलम्ठेल घुइँचो र लामो लाइन । बैंक छिर्ने गेट कहाँ हो कहाँ ? लाइन दुई किलोमिटर वरसम्म आइसकेछ । तै पनि उभिनै पर्‍याे । हल्ला सुन्दा र ठेलम्ठेल हेर्दा आशबहादुरलाई लाग्यो, सरकारले सित्तैमा नयाँ नोट बाँड्दैछ । वर्षमा एकपटक आउने दशैँ मनाउनको लागि दुई तिहाईको सरकारले सित्तैमा बाँड्यो पनि होला । 

चीनका सी जिनपिङ आउन लागेका, उनकै विचारधारा पढेर कण्ठ बनाएका मान्छे सरकारमा छन् । अलि पहिले अर्का छिमेकी मोदी पनि आएका । कहिले मोदी, कहिले सी चिनपिङ । कहिले उत्तरको विचारधारा, कहिले दक्षिणको विचारधारा । विचारको धारासँगै पैसा र सरसहयोग पनि मिल्यो होला । अनि पो नागरिकलाई पनि दशैँमा नयाँ नोट बाँड्न थाल्यो सरकारले भन्ने मनमा लाग्यो । आशबहादुरले मुख मिठ्याए । मनमनै सरकारको जयजयकार गरे ।

तर सित्तैमा पाइने हावा त राम्रोसँग बाँड्न नसक्ने सरकारले आफूलाई नराखेर नागरिकलाई किन सित्तैमा पैसा बाँड्थ्यो ? आशबहादुरले बल्ल थाहा पाए सित्तैमा हैन, नोट दिएरै नोट साट्नुपर्ने रहेछ ।

ठिकै छ, पुरानो नोट दिएर नयाँ नोट पाइन्छ भने लिनै पर्यो । आशबहादुर लाइनमा उभिए । एक घण्टा, दुई घण्टा, तीन घण्टा भयो लाइन बैंकको गेटसम्म पुग्दै पुग्दैन । हाई काढ्दै, उँघ्दै, ठेल्दै, ठेलिंदै बल्लबल्ल आशबहादुर गेटसम्म पुगे । गेटबाट भित्र छिर्नेबेला त्यहाँ उभिएका गार्डले भने – लौ आजलाई पैसा सकियो, भोलि आउनु ।

आशबहादुर निराश हुनै लागेका थिए, उताबाट नयाँ नोटको बण्डल बोकेर आएका एक दयालुले दया देखाउँदै भने– अलि पर हिँड्नुहोस् सयको ८० वटाले हुन्छ भने थोरै म सहयोग गर्छु । त्यही पनि लिनै पर्यो, भोलि भ्याइँदैन भन्ने ठानेर आशबहादुर पछि लागे ।

सय रुपैयाँमा ९० रुपैयाँको नयाँ नोट पनि मिल्यो । बसभाडा र खाजामा डेढ सय रुपैयाँ खर्च गरेर दुई रुपैयाँ सस्तो नुन, चिनी पनि पाइयो । अब एक दुई जोर लुगाफाटा किन्न पाए दशैँ टर्थ्यो । खसी त गाउँमै होला । सोच्दै, दंग पर्दै आशबहादुर बजार छिरे ।

.....ए दाजु कता, यता आउनुहोस् तपाईंलाई विशेष छुट । ......
....त्यता हैन, यता सस्तो छ, तपाईंलाई भनेर साँचेर राखेको, ल आइहाल्नुहोस् ।.....
.....हैन हैन यता ५० प्रतिशत छुट ।.....
..... हैन यता अफर र उपहार छ । यता त एउटा किन्दा अर्को सित्तैमा, यता आउनुहोस् ।.....

ओहो कता मात्रै जाने ? सरकारले भन्दा बढ्दा त व्यापारी पो हामीलाई दशैँ मनाइदिन मरिमेट्दा रहेछन् । आशबहादुर मख्ख परे । कता पस्ने भनेर अलमल भयो । नजिकैको पसलबाट पसले हातै तान्न आइपुगे । 

“ल हिँड्नुहोस्, तपाईंले खोजेजस्तो उता छ । किन्छु मात्रै भन्नुहोस्, सबै तपाईंकै भयो ।’ सित्तैमा दिउँलाझैं गरी उनले तानेर लगे ।

जे हेरे पनि किनौंकिनौं जस्तो । पहिले जुत्ता किन्नुपर्यो भनेर आशबहादुरले भाउ सोधे । ‘अरुबेला हो भने २ हजार, दशैँलाई विशेष छुट, ११ सय मात्र’ पसलेले भने ।आशबहादुर झसँग भए । यही जुत्ता दुई महिनाअघि ८ सयमा किनेको, अहिले कसरी ११ सय ? उनले सोध्न नपाउँदै पसलेले भने, ‘हैट त्यो नक्कली, यो असली हो । लगेर दराजमा थन्क्याउनुहोस्, घामपानीबाट जोगाउनुहोस्, दुई वर्ष केही भएछ भने फिर्ता ल्याउनुहोस् । खास मूल्य दुई हजार हो, अहिले विशेष छुट ।’ पसलेको कुरा सुनेर आशबहादुर केहीबेर अलमलमा परे ।

‘ल यो जुत्ता किन्नुभयो भने तुना सित्तैमा’ पसले फेरि बोले ।

तुना त यसै पनि सित्तैमा हो नि । आशबहादुरले बोल्न नभ्याउँदै पसलेले पुरानो खालको एउटा मोजा देखाउँदै थपे, ‘ल ल यो मोजा पनि सित्तैमा लैजानुस्, जुत्ता किन्दा तुनासँगै मोजा समेत उपहार ।’

सित्तैमा र उपहार भन्ने कुरा सुनेपछि आशबहादुरलाई जुत्ताको भाउ महंगो लागेन । त्यसमाथि अरुबेला २ हजार पर्ने रे अहिले ११ सयमा पाइयो, तुना र मोजा सित्तैमा, घामपानीमा नदेखाई दराजमा राख्यो भने दुई वर्षसम्म केही नहुने । भनेपछि अर्को दुई वटा दशैँमा नयाँ जुत्ता किन्न पर्दैन । दिमागमा अनेक कुरा खेलाउँदै आशबहादुरले जुत्ता किने ।

अर्को  पसलमा पनि उस्तैखाले पसले भेटिए । सबै दशैँको खुशी बाँड्न बसेका । अरुबेला भन्दा सस्तोमा बेच्न बसेका । जहान र छोराछोरीलाई समेत एक एकजोर लुगाफाटा बोकेर आशबहादुर बसपार्क पुगे । खल्ती छामे । घरसम्मपुग्ने भाडा त बाँकी रहेछ ।

बसपार्कमा जता फर्के पनि मान्छे नै मान्छे । बसभन्दा धेरै मान्छे । यति धेरै मान्छेलाई घरघरमा पुर्‍याउन भनेर व्यवसायीले उहिलेदेखि नै अग्रिम टिकट खुलाएका । सरकार र बैंकवालाले नयाँ नोट बाँडेका छन् । पसलेले खाद्यान्न र लुगाफाटामा अफर दिएका छन् । गाडीवालाका पनि त होलान् नि दशैँमा सेवा, सुविधा । आशबहादुरले मुख मिठ्याए ।

त्यहीबेला एकजना केटो आइपुग्यो । ‘ए दाजु कता ? ल है जाने भए चमेरे सिट खाली छ’ केटोले भन्यो । चमेरे सिट....। आशबहादुर दंग परे । भनेपछि गाडीवालाले पनि नयाँ अफर दिएका रहेछन्, सिट मात्रै होइन, चमेरे सिट । कस्तो होला यो चमेरे सिट । आरामदायी, आनन्दको, बसेपछि उठ्न नपर्ने ....। 

सोच्दै उनी केटोको पछि लागे । बसभित्र छिरे । बसको सिटभरी मान्छे छन् । अझै पछिल्तिरसम्मै उभिएका छन् । मुस्किलले खुट्टा राख्ने ठाउँ मात्रै छ ।

‘ए भाइ खै त चमेरे सिट ?’ आशबहादुरले सोधे ।

‘यही त हो नि चमेरे सिट, चमेरोले जस्तो झुण्डिएर जाने’ अघिदेखि झुण्डिएर बसेको अर्को मान्छेले भन्यो, ‘हामीलाई पनि यही भनेर ल्याएको, के गर्नुहुन्छ अरु गाडी पाइँदैन । पाए पनि यस्तै हो, सिट छैन ।’

सुनेर आशबहादुर निराश हुनै लागेका थिए । फेरि आफूले आफैलाई सम्हाले । सरकारले पनि सकारात्मक सोच्नु भनेको छ । उनले सकारात्मक सोचे । जसोतसो घर पुग्नु नै ठूलो कुरा । सास्ती नै भए पनि सरकार, व्यवसायी र व्यापारीले हाम्रो लागि मरिहत्ते गरेका छन् । खाइ,नखाइ हाम्रै सेवा गरेका छन् । उपहार, सहुलियतको बहार ल्याइदिएका छन् । नागरिकलाई दशा नै भए पनि उनीहरुलाई दशैँ ल्यायौं भन्ने भएको छ ।

मनमनमा सन्तुष्टि खोज्दै आशबहादुर चमेरे सिटमा झुण्डिए । उताबाट बसवाला भाइ करायो, ए दाइ अलि बेस्सरी समात्नुस् है । भाग्यले साथ दिए घरसम्म पुर्‍याइदिउँला, नदिए  नागढुंगासम्म त कसो नपुगिएला ! 

अन्तिम अपडेट: बैशाख १, २०८१

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

1 Comments

  • Aash Gurung

    Oct. 1, 2019, 5:58 p.m.

    ढिलो आयो कडा आयो

  •  0 Reply

तपाईको प्रतिक्रिया