पोखरा फुटबल मैदान : दुबो आइपुग्यो, झण्डै ५० प्रतिशत काम सकियो

 असोज ११, २०७६ शनिबार ११:१:२७ | सुमन गुरुङ
unn.prixa.net

कास्की – पोखरा रंगशालामा निर्माणाधीन फुटबल मैदानमा रोपिने दुबो बिहीबार पोखरा आइपुगेको छ ।

भारतको ग्रेट स्पोर्टस कन्स्ट्रक्सन कम्पनी र नेपालको एमए कन्सट्रक्सन प्रालिले निर्माण गरिरहेको रंगशालाको कामलाई तीव्रता दिन भारतको कोलकाताबाट ‘बर्मुडा ग्रास’ ल्याइएको कम्पनीका प्रोजेक्ट म्यानेजर दिपक बरालले बताउनुभयो ।

पहिलो चरणमा एक लट दुबो ल्याएर बिछ्याइसकिएको उहाँले जानकारी दिनुभयो । कुल पन्ध्र हजार स्क्वायर फिटमा दुबो राप्नु पर्ने बताउँदै उहाँले बिहीबार आएको दुबो मैदानको १६ प्रतिशत भागमा बिछ्याइएको बताउनुभयो ।

कोलकाताबाट दुबाे पोखरा आइपुग्न करिब ४ दिनको समय लाग्ने भए पनि भन्सारमा विभिन्न कारणले रोकिँदा झण्डै एक साता लागेको प्रोजेक्ट म्यानेजर बरालको भनाइ छ । ‘अहिले एक लट मात्रै आइपुगेको छ, शनिबारसम्ममा थप ५ लट दुबो पोखरा आइपुग्ने’, बरालले जानकारी दिनुभयो ।

शनिबारसम्ममा दुबो पोखरा आइपुग्यो भने आइतबार भित्रमा पुरै मैदानमा बिछ्याइसकिने उहाँको भनाइ छ । ‘आउन मात्र समय लाग्ने हो आइसकेपछि शनिबार नै राति अबेरसम्म काम गरेर भए पनि शनिबार मैदानभरि दुबो लगाइसक्ने छौँ’, उहाँले भन्नुभयो ।

प्रोजेक्ट म्यानेजर दीपक बरालले अहिलेसम्म फुटबल मैदानको झण्डै ५० प्रतिशत काम सकिएको बताउनुभयो । काम द्रुत गतिमा भइरहेकोले कात्तिक १५ सम्ममा १० हजार सिट भएको प्याराफिट तयार गर्ने जानकारी दिनुभयो ।

अहिले मैदान, एथ्लेटिक ट्रयाक र प्याराफिट फाउन्डेशनको काम भइरहेको उहाँले बताउनुभयो । शुक्रबार सी ग्यालरीको ट्वाइलेटको ढलानको काम सकिएको छ । केही दिनभित्रमा नै ट्रयाकमा कालोपत्रे गर्ने काम सकिने उहाँको भनाइ छ । ‘पोखरामा पछिल्लो समय पानी परिरहेकाले पिचको काम गर्न गाह्रो भएको छ’, उहाँले भन्नुभयो ।

आउँदो मंसिर १५सम्ममा झण्डै १० हजार सिट क्षमताको प्याराफिट बनाउने लक्ष्यअनुसार काम भइरहको छ । प्याराफिटमा राखिने कुर्सी फ्रान्सबाट पठाइसकेकोले केही दिनमा नै पोखरा आइसक्ने बरालले बताउनुभयो ।

 

उहाँका अनुसार दैनिक १२० कामदार निर्माण कार्यमा खटिएको तथा बिहान ६ बजेदेखि राति १०/११ बजेसम्म नै काम भइरहेको छ ।

अन्तिम अपडेट: चैत ७, २०८०

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया