पोखरामा भेडा-च्याङ्ग्राको बिक्री सुरु, एउटैको मूल्य ३६ हजार रुपैयाँसम्म

 असोज ११, २०७६ शनिबार २०:४:४९ | सुमन गुरुङ
unn.prixa.net

कास्की – नेपालीहरुको महान चाड दशैँलाई लक्षित गर्दै पोखरामा भेडा-च्याङ्ग्रा भित्रने क्रम सुरु भएको छ । 

कास्कीको हेम्जामा यतिबेला हिमाली जिल्ला मुस्ताङसहित हुम्ला, मुगु, डोल्पा तथा बझाङ जिल्लाबाट ल्याइएको भेडा-च्याङ्ग्रा आइपुगेका छन् । याम्दीमा यतिबेला भेडा-च्याङ्ग्रा किन्नेको भिड लागिसकेको छ । 

व्यापारीहरुले गएको वर्षभन्दा यो वर्ष भेडा-च्याङ्ग्राको मूल्य केही महँगो भएको बताएका छन् । बझाङबाट भेडाच्याङ्ग्रा पोखरा ल्याउनुभएका कर्णबहादुर बमले यो वर्ष एउटा भेडाच्याङ्ग्राको मूल्य बढीमा ३५ हजार रुपैयाँसम्म पर्ने बताउनुभयो । 

उहाँले बझाङको साईपाल हिमाली क्षेत्रबाट डेढ सय भेडा-च्याङ्ग्रा बिक्रीको लागि ल्याएको बताउनुभयो । बझाङमा खरिद गर्दा नै कम्तीमा ३५ हजार ५ सयसम्म परेको उहाँको भनाइ छ । ‘ठाउँठाउँमा भन्सार तिरियो, पोखरा आएर पनि चरनक्षेत्रको पैसा दिएँ, मेरो पारिश्रमिक पनि जोड्नै पर्‍यो’, उहाँले भन्नुभयो, ‘सबै जोड्दा ३० देखि ३६ हजार त परिहाल्छ, हामीले पनि नाफाकै लागि काम गरेको हो’ । 

दशैँमा च्याङ्ग्राको मासु खाने प्रचलन पहिलेदेखि नै चल्दै आएको हो । खसीबोकाको तुलनामा हिमाली भेगको भेडाच्याङ्ग्रा स्वास्थ्यका हिसाबले पनि राम्रो मानिन्छ । अरु बेला च्याङ्ग्रा नल्याइने भएकाले वर्षमा एक पटक दशैँमा भने च्याङ्ग्राको मासु खाने गरेको च्याङ्ग्रा खरिद गर्न आउनुभएका पोखरा नदिपुरका गुरुप्रसाद लामिछानेले बताउनुभयो । 

लामिछानेले गएको वर्षभन्दा यो वर्ष भेडाच्याङ्ग्राको भाउ महँगो भएको बताउनुभयो । ‘व्यापारीले च्याङ्ग्राको मूल्य ३० हजार भनेका छन्, तौल २०/२१ किलोभन्दा बढी लागेन’ उहाँले भन्नुभयो ‘यो हिसाबले पनि १५ सय रुपैयाँ किलो पर्न जान्छ’ । हिमाली भेगमा जडीबुटी खाएर हुर्केको च्याङ्ग्राको मासु खाँदा स्वास्थ्यलाई पनि फाइदा पुग्ने च्याङ्ग्रा खरिदको लागि चाउथेबाट जानुभएका गमबहादुर गुरुङले बताउनुभयो । दशैँ पनि मनाइने, वर्षमा एक पटक च्याङ्ग्राको मासु पनि खान हुने उहाँको भनाइ थियो । 

भेडाच्याङ्ग्रा ल्याउँदा प्रहरी र टोले गुण्डालाई पनि पैसा दिनुपर्‍यो : व्यापारी 

भेडाच्याङग्रा व्यापारी प्रेमप्रसाद दवाडीले प्रदेश सरकार, स्थानीय सरकार सबैलाई ठाँउठाँउमा कर तिर्नुपरेको बताउनुभयो । 

‘बीचमा दुई जना प्रहरी भेटिए पनि पैसा दिनैपर्ने, हामीले बुटवलसम्म त टोले गुण्डाहरुलाई पनि पैसा दियौं’, उहाँले भन्नुभयो, ‘दुई किलोमिटरबाट उता लागेपछि रोक्छ, अगाडि लान दिँदैन, अनि के गर्ने पैसा दिनै पर्‍यो, आवारा केटाहरुलाई मात्र चार ठाँउमा पैसा दिइयो’ । 

त्यस्तै प्रहरीले रोकेपछि पाँच सय नदिइ नहुने उहाँले गुनासो पोख्नुभयो । आवारा तथा बीचमा गाडी रोक्नेहरुलाई पाँच सयदेखि एक हजार रुपैयाँसम्म तिर्नुपरको दवाडीको भनाइ छ । 

अर्का व्यापारी पोषराज दवाडीले राज्यले युवालाई देशमा केही गर्नपर्छ भनेर योजना अगाडि सारे पनि व्यवहारमा लागू नभएको बताउनुभयो । विगत चार वर्ष विदेशमा बसेर नेपाल आएर केही गरौँ भनेर भेडा-च्याङ्ग्राको व्यापार गर्न लागेको तर ठाँउमा कर तिर्नुपर्ने, टोले गुण्डालाई पैसा दिनुपर्ने, प्रहरीलाई पैसा दिनुपर्ने कारणले आफू आत्तिएको उहाँले बताउनुभयो । 

‘कर तिरेको रसिद, भेटेरीनरीको जाँच सबै हुँदाहुँदै पनि प्रहरीले तपाईँहरुलाई मात्र दशैं आयो हामी छैन भन्छ’ उहाँले भन्नुभयो ‘दुई/तीन ठाँउमा नदिँदा ४ घण्टासम्म गाडी रोकिदियो’ । यसरी गाडी रोक्दा एउटा मात्रै भेडा-च्याङ्ग्रा मर्‍यो भने ३० देखि ३५ हजारभन्दा बढी घाटा लाग्ने भएकोले बाध्यताले ५ देखि एक हजार रुपैँया तिरेर ल्याउनु परेको उहाँले बताउनुभयो । यो समस्या दाङदेखि बुटवलसम्म भोगेको उहाँको भनाइ छ । तर गण्डकी प्रदेश लागिसकेपछि भने यस्तो समस्या नभएको उहाँले जानकारी दिनुभयो । 

यो वर्ष घटस्थापनाअघि नै भेडा-च्याङ्ग्रा पोखरामा

गएको वर्ष घटस्थापना सुरु भएको दुई/तीन दिनपछि मात्र सुरु हुने भेडा-च्याङ्ग्राको व्यापार यो वर्ष घटस्थापना सुरु हुनुभन्दा २ दिन अगाडिदेखि नै सुरु भएको हो । 
भेडा-च्याङ्ग्रा व्यापारी कर्णबहादुर बमका अनुसार बढ्दो प्रतिस्पर्धाकै कारण छिटो ल्याइएको हो । छिटो ल्याउँदा केही छिटो बिक्री होला, राम्रो मूल्य पाइएला भन्ने आशा रहेको व्यापारी पोषराज दवाडीले  बताउनुभयो । 

मुस्ताङबाट भन्दा पनि हुम्ला, मुगु, डोल्पा तथा बझाङबाट ल्याइने भेडा-च्याङ्ग्रा छिटो पोखरा आइपुगेको हो । मुस्ताङबाट ल्याइने भेडा-च्याङ्ग्रा शनिबारसम्म कम मात्रामा आए पनि एक÷दुई दिनभित्रमा आइसक्ने स्थानीयले बताएका छन् । पोखरा झरेका च्याङ्ग्रा स्याङ्जा, तनहुँ, चितवन हुँदै बुटवलसम्म पुग्ने गरेका छन् ।

अन्तिम अपडेट: चैत १, २०८०

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया