अचम्मको विद्यालय : ९ जना शिक्षक छन्, एक जना पनि विद्यार्थी छैनन्

 असोज १२, २०७६ आइतबार ८:५९:५२ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – विद्यालयमा विद्यार्थी र शिक्षक अनिवार्य हुन्छन् नै । तर धनुषामा एउटा यस्तो सामुदायिक विद्यालय छ, जहाँ शिक्षक मात्रै छन्, एक जना पनि विद्यार्थी छैनन् । 

धनुषाको हंसपुर नगरपालिकाको मोरहामा रहेको श्री आधारभूत विद्यालयको अवस्था हो, यो । विक्रम संवत् २०१८ सालमा स्थापना भएको यस विद्यालयमा अहिले एक जना पनि विद्यार्थी छैनन् । तर ९ जना शिक्षक शिक्षिका कार्यरत छन् ।

कक्षा ६ सम्म पढाइ हुने यो विद्यालयको रजिष्ट्ररमा २ सय विद्यार्थी पढ्ने गरेको तथ्यांक भने छ । तर आठ वटै कक्षाको विद्यार्थीको हाजिर कपि हेर्दा कुनै पनि दिन एक जना पनि विद्यार्थीको उपस्थिति देखिँदैन । यति मात्र होइन, कुनै–कुनै कक्षाको हाजिर कपिमा असोज महिनाको हाजिरी सूचीका लागि ‘इन्ट्री’ समेत गरिएको छैन ।

विद्यार्थी नै नभएपछि शिक्षकहरु विद्यालयमा सधैँ हाजिर गरेर आफ्ना घर फर्केर निजी काममा लाग्छन् । गएको मंगलबार दिउँसो २ बजे विद्यालय बन्द थियो । नजिकै रहेको रुखको छहारीमा केही स्थानीय थकाइ मार्दै थिए । त्यहीँ भेटिनुभयो विद्यालयका प्रधानाध्यापक रामविलास मण्डल ।

विद्यालय किन बन्द भएको प्रश्नको जवाफमा उहाँले विद्यार्थी नरहेको र सबै शिक्षक हाजिरी गरेर आ–आफ्नो घर गएको बताउनुभयो । उहाँले तत्कालै विद्यालयको कार्यालय खोल्नुभयो । हाजिरी रजिष्ट्ररमा सबै शिक्षकको हाजिरी थियो ।

विद्यालयको शिक्षकको नामावलीमा प्रधानाध्यापक रामविलास मण्डल, शिक्षकहरु रामेश्वर रजक, रामबली पजियार, शिक्षिका गीता बराल मण्डल र बालविकास शिक्षिका शशिकला मण्डल उल्लेख भएको थियो ।

विद्यालयमा एक जना पनि विद्यार्थी नहुँदा आन्तरिक स्रोतबाट विद्यालयले मनोमानी दुई जना शिक्षक नियुक्त समेत गरेको छ । हरिनारायण मण्डल र नागेश्वर मण्डललाई निजी श्रोतबाट राखिएको छ । यस्तै कार्यालय सहायकका लागि विल्टु मण्डललाई राखिएको छ ।

विद्यार्थी नै नरहेको यस विद्यालयमा शिक्षकको तलबभत्ताबापत मासिक १ लाख ५० हजार रुपैयाँ खर्च हुने गरेको छ ।  
 
विद्यार्थीको नाम छ, तर हाजिरी छैन

विद्यालयमा विद्यार्थी आउँछन् कि आउँदैनन् भने जिज्ञासामा प्रधानाध्यापक मण्डलले भन्नुभयो, ‘केही विद्यार्थी आउँछन् ।’  तर हाजिर कपिमा हेर्दा एक जना पनि विद्यार्थीको हाजिरी भेटिएन ।

कक्षा ८ मा २८ विद्यार्थीको नाम छ । तर असोज महिनाको हाजिरी हेर्दा एकजना पनि विद्यार्थीको उपस्थिति छैन ।  कक्षा ७ मा २१ जना, कक्षा ६ मा २० जना, कक्षा ५ मा १२ जना, कक्षा ४ मा १६ जना, कक्षा ३ मा ३०जना, कक्षा २ मा २६ जना, कक्षा १ मा ५२ जना र बालविकासमा १६ जना विद्यार्थीको नामाकारण रजिष्ट्ररमा देखिन्छ ।  तर एकजना पनि विद्यार्थीको हाजिरी भएको देखिँदैन ।

छिमेकी गाउँको विद्यालयमा पढ्न जान्छन् विद्यार्थी

मोरहा गाउँमै रहेको यो निम्न माध्यमिक विद्यालयमा नपढेर त्यहाँका बालबालिका छिमेकी गाउँ झटियाहीमा रहेको रामजानकी माध्यमिक विद्यालयमा पढ्न जाने गरेका छन् । रामजानकी माविबाट पढेर फर्केका विद्यार्थीले यस मोहार निमाविमा पढाइ नहुँदा छिमेक गाउँको विद्यालमा पढ्न जाने गरेको बताएका छन् ।

विद्यालयको वार्षिक आम्दानी २ लाख ९२ हजार 
 
पढाइ नै नहुने यस विद्यालयको वार्षिक आम्दानी २ लाख ९२ हजार रुपैयाँ रहेको छ । विद्यालयको रहेको एउटा पोखरीबाट वार्षिक २ लाख ८० हजार र  १४ कठ्ठा उब्जाउ जग्गा ठेक्काबापत १२ हजार रुपैयाँ वार्षिक आम्दानी आउने गरेको प्रधानाध्यापक मण्डलले बताउनुभयो ।

प्रधानाध्यापकको गुनासो : पढ्नै आउँदैनन् विद्यार्थी

प्रधानाध्यापक मण्डलले विद्यार्थी नै पढ्न नआएको गुनासो गर्नुभभयो । ‘मैले पटक–पटक व्यवस्थापन समिति र अभिभावकहरुलाई भेटेर गुनासो गरेँ । तर कसैले वास्ता गरेनन् । सहयोग गरेनन्’, प्रअ मण्डलले सुनाउनुभयो ।

अभिभावक आक्रोशित

पढाइ नहुँदा बालबालिकालाई छिमेकी गाउँमा पठाउनु परेको बाध्यताले स्थानीय बासिन्दा शिक्षक र राजनीतिकर्मीहरुमाथि आक्रोशित छन् । विद्यालयमा राजनीति बढी हुन थालेपछि स्थानीयहरुले आ–आफ्ना बालबालिकालाई अर्कै विद्यालयमा पठाउन थालेको बताउँछन् ।

‘शिक्षकहरुलाई राजनीति गर्नबाट फुर्सद छैन, पढाउँदैनन् । कसले आफ्नो छोराछोरी र बालबालिकाको भविष्य बिगार्छ ? त्यसैले हामी बालबालिकालाई छिमेक गाउँको विद्यालयमा पठाउँछौँ’, स्थानीय भुखनी देवीले अक्रोशित हुँदै भन्नुभो ।

हेर्ने कोही छैनन्

विद्यालय अहिले स्थानीय जनप्रतिनिधिको निगरानीमा छ । तर हंशपुर नगरपालिका जनप्रतिनिधि निर्वाचित समयदेखि विवादित छ ।

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) बाट निर्वाचित मेयर रामज्ञाम मण्डल र रेणु झाबीच विवाद चल्दै आएको छ । नगरपालिकाको केन्द्र सार्ने विषयमा गएको साउनको २१ गते झडप हुँदा  एकजना स्थानीयको ज्यान समेत गइसकेको छ । त्यही स्थानीयको मृत्यु प्रकरणमा मेयर पक्षले उपमेयर र उपमेयर पक्षले मेयरमाथि किटानी जाहेरी दिँदा अहिले दुवै जना फरार छन् ।

यसो भन्छ शिक्षा विकास समन्वय इकाई 

यस विद्यालयको विषयमा जिल्लाको शिक्षा क्षेत्रमाथि निगरानी गर्ने शिक्षा विकास समन्वय इकाई अनभिज्ञ छ । इकाईका धनुषा प्रमुख बरखुप्रसाद रजकले  विद्यालयका प्रधानाध्यापकसँग बुझेर कारबाही प्रक्रिया अघि बढाउने बताउनुभयो ।

हंसपुर नगरपालिकामा समेत शिक्षा इकाई रहेकाले त्यस विद्यालयको अवस्थाको बारेमा जानकारी लिई जिल्लाबाट एक प्रतिनिधि पठाएर विद्यालयमाथि छानबिन गरी कारबाही गर्ने उहाँको भनाइ छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया