विश्वकपको फाइनलमा फ्रान्स र क्रोएशिया : कि खोपिन्छ नयाँ तारा कि थपिन्छ अर्को तारा

 असार ३१, २०७५ आइतबार १२:१५:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

विश्वकप फुटबलको सबैभन्दा प्रतिक्षित खेल अर्थात, फाइनल । आइतबार राति रुसको लुज्निकी रंगशालामा नेपाली समयअनुसार राति पौने ९ बजेदेखि सुरु हुँदैछ । यो खेलले सन् १९९८ को एउटा सेमिफाइनल खेलको सम्झना दिलाउनेछ । युरोपेली टोलीहरु फ्रान्स र क्रोएशिया उपाधिका लागि खेल्दैछन् ।
 
फ्रान्स पछिल्लो २० वर्षमा ४ ठूला प्रतियोगिताको फाइनलमा पुगेको छ भने तेस्रो पटक विश्वकपको फाइनल खेल्दैछ ।

एन्टोइन ग्रिजम्यानले भनेका छन् कि आइतबारको विश्वकप फाइनल एउटा सामान्य खेल हो र टोली आफ्नो क्षमतामा अडिग रहनुपर्छ ।
 
डिडियर डेसच्याम्पको टोली फ्रान्सले बेल्जियमविरुद्धको सेमिफाइनलमा १–० को जित हासिल गरेको थियो । जहाँ स्याम्युयल उम्टिटीले हेड गोल गरेका थिए ।
 
घरेलु मैदानमा फ्रान्सले सन् २०१६ को युरो फाइनलमा पोर्चुगलसँग पराजय ब्यहोरेको थियो । तर, फ्रासेली टोली यसपटक विश्वकपको उपाधि जित्ने लक्ष्यमा छ, जुन २० वर्षअघि उनीहरुका प्रशिक्षकले हासिल गरेका थिए ।
 
ग्रिजम्यानले भनेका छन् कि उनीहरुको तयारीले आत्मविश्वासी त बनाएको छ, यद्यपी उनीहरुका लागि लुज्निकी रंगशालामा मानसिक दवाव थेग्नुपर्ने चुनौति छ ।
 
‘मैले राम्रो महशुस गरेको छु, हामी आत्मविश्वासी छौं ।’ ग्रिजम्यानले फिफा टिभीसँग भने, ‘हामी अहिले रणनीति बनाउँदैछौं र भिडियो विश्लेषण गरिरहेका छौं । तर, हामी स्वयम आवश्यक भन्दा बढी प्रेसरमा रहन चाहँदैनौं ।’
 
‘हामीले सोच्नुपर्छ कि यो सामान्य खेल हो, प्रक्रिया हो । र, हामी मैदानमा आफ्नो शतप्रतिशत दिन्छौं । हामीसँग धेरै अवसर हुँदैन, त्यसैले हामीले पाएको अवसर खेर जान दिनु हुँदैन ।’
 
इंग्ल्याण्डलाई अतिरिक्त समयमा पराजित गरी क्रोएशिया पहिलो पटक विश्वकपको फाइनलमा पुगेको हो । एक शून्यले पछि परेको स्थितिमा पुनरागमन गरी क्रोएशियाले खेललाई १ सय २० मिनेटसम्म लम्ब्याएका थियो ।
 
क्रोएशियाली कप्तान लुका मोड्रिच जारी विश्वकपमै एक शनशनी स्टारको रुपमा देखिएका छन् । पछिल्लो तीन सिजनमा रियल मड्रिडका लागि लगातार च्याम्पियन्स लिगको उपाधि जितेका उनी क्लव स्तरका ठूला प्रतियोगिताबाट अनुवभसिद्ध छन् ।
 
मोड्रिच के मान्छन् भने फ्रान्स सबैका लागि सबैभन्दा कठिन प्रतिस्पर्धी हो । तर, उनले वाचा गरेका छन् क्रोएशियाको जितको दृढ संकल्पलाई कसैले रोक्न सक्दैन ।
 
‘मेरो बिचारमा उनीहरु फाइनलका लागि लायक टोली हो र अबको खेल हाम्रा लागि सबैभन्दा कठिन हो ।’ उनले भने, ‘उनीहरु एउटा महान टोली हुन् । लगातार दोस्रो ठूलो प्रतियोगिताको फाइनल खेल्दैछन् र उनीहरु बलिया छन् । तर, हामी पनि तयार छौं ।’
 
‘हामी मैदानमा मनले खेल्नेछौं, जुन हामीले पछिल्ला ६ खेलमा गरेका थियौं ।’
 
क्रोएशियाबिरुद्धको फाइनल फ्रान्सेली प्रशिक्षकका लागि इतिहास कोर्ने अवसर
 

आइतबार राति रुसको लुज्निकी रंगशालामा जर्सीमा अर्को तारा थप्न फ्रान्सलाई जुन अवसर छ, सायद त्यो भन्दा ठूलो अवसर फ्रान्सेली प्रशिक्षक डिडियर डेसच्याम्पका लागि छ । फ्रान्सले विश्वकप जितेमा उनले यस्तो कीर्तिमान बनाउनेछन्, जुन यसअघि मात्र दुई जनाले हासिल गरेका छन् ।
 
‘सबै सफल खेलाडी सफल प्रशिक्षक हुन सक्दैनन् ।’ यसको उदारहणको रुपमा डिएगो म्याराडोनालाई लिए हुन्छ । तर, अपबाद पनि त हुन्छन् नि ! हो, त्यही अपबाद बन्ने लक्ष्यमा छन् फ्रेञ्च प्रशिक्षक डेसच्याम्प ।
 
सन् १९९८ मा घरमै भएको विश्वकपको ट्रफी डेसच्याम्पले उचालेका थिए, कप्तानका रुपमा डिफेन्सिभ मिडफिल्डका उच्चस्तरीय खेलाडी डेसच्याम्प अहिले क्रोएशियाबिरुद्ध अचुक रणनीति बनाउँदैछन्, किनभने उनलाई जसरी पनि जित्नुछ र इतिहासमा तेस्रो व्यक्ति बन्नुछ, जसले खेलाडी र प्रशिक्षकको रुपमा विश्वकप जित्न सकेको होस् ।
 
४९ वर्षीय डेसच्याम्प सन् १९९८ मा फ्रान्सले पहिलो पटक विश्वकप जित्दा टोलीका कप्तान थिए । उनको नेतृत्वमा साविक विजेता ब्राजिललाई फाइनलमा ३–० ले हराएर फ्रान्सले इतिहास कायम गरेको थियो ।
 
उनी आफ्नो नाम इतिहासमा लेखाउन मात्र ९० मिनेटले पछि छन् । विश्वकपको बीसौं संस्करणसम्म केवल दुई ब्यक्तिले यो सफलता हात पारे, ब्राजिलका मारियो जागाल्लो र जर्मनीका फन्स बेकनबउर ।
 
जागाल्लोले १९५८ र १९६२ मा खेलाडी र १९७० मा प्रशिक्षकका रुपमा ब्राजिलका लागि विश्वकप उपाधि जितेका थिए । यस्तै १९७४ मा खेलाडीका रुपमा विश्वकप जितेका बेकनबउरले प्रशिक्षक बनेर १९९० मा जर्मनीलाई उपाधि दिलाए ।
 
प्लेयर्स टू वाच
 
एन्टोइन ग्रिजम्यान, फ्रान्स

 
रुस विश्वकपमा केलियन एम्बाप्पेले फ्रान्सेली मिडियामार्फत धेरैजसो हेडलाइन ओगटेका छन् । तर, एन्टोइन ग्रिजम्यान ठूला प्रतियोगिताका ठूला खेलमा मौलिक लय कायमै राखेका छन् । ग्रिजम्यानले फ्रान्सका लागि ठूला प्रतियोगिताका ९ खेलमा ११ गोल र असिष्ट गरेका छन् । जुन अरु फ्रान्सेली खेलाडीले पछिल्लो ५० वर्षयता गर्न सकेका छैनन् ।
 
एथ्लेटिको मड्रिडका २७ वर्षे छरिता स्ट्राइकर ग्रिजम्यानले जारी विश्वकपमा तीन गोल गरिसकेका छन् ।
 
इभान राकिटिच, क्रोएशिया
 
मोड्रिचले क्रोएशियालाई अवसर सृजना गरेका छन् र त्यसलाई सम्भव बनाएका छन् राकिटिचले । आफ्ना टिममेटलाई बलसँग खेल्न पर्याप्त समय उपलब्ध गराउन राकिटिचको भूमिका क्रोएशियाली टोलीमा महत्वपूर्ण छ । युरोपा लिग र च्याम्पियन्स लिगको फाइनल खेलिसकेका राकिटिचल क्लव लेभलमा पनि उच्चस्तरीय प्रदर्शन गरेका छन् । अन्य टिममेटको तुलनामा उनी ठूला खेलका लागि अनुभवी खेलाडी हुन् ।
 
बार्सिलोनाबाट ब्यवसायिक फुटबल खेलिरहेका राकिटिचले जारी विश्वकपमा एकमात्र गोल गरेका छन् । उनले समूहचरणमा अर्जेन्टिनाबिरुद्ध गोल गरेका थिए । तर, मध्यक्षेत्रबाट बल उपलब्ध गराउन माहिर उनी फ्रान्सका लागि घातक हुनसक्छन् ।
 
म्याच फ्याक्ट्स
 
– पछिल्ला तीनवटै विश्वकपको फाइनल अतिरिक्त समयमा धकेलिएको छ । पद्यपी मात्र दुईवटा विश्वकपको उपाधि छिनोफानो पेनाल्टी  शुटआउटमार्फत भएको छ । (सन् १९९४ र २००६)
– फ्रान्स २० वर्षको अन्तरमा तेस्रो पटक विश्वकपको फाइनलमा पुगेको हो । सन् १९९८ को विश्वकप जितेको फ्रान्सले २००६ मा पेनाल्टीमा हारेको थियो । र, पछिल्लो २० वर्षमा तीन पटक फाइनलमा पुग्ने फ्रान्स एकमात्र टिम हो । यसबीचमा अन्य दुई ब्राजिल र जर्मंनीले दुई दुई पटक फाइनल खेलेका छन् ।
– १३औं फरक मुलुक र १०औं युरोपेली मुलुकको रुपमा क्रोएशिया पहिलो पटक विश्वकपको फाइनलमा पुगेको हो । पहिलो पटक विश्वकपको फाइनलमा पुगेका पछिल्ला दुई टोलीले उपाधि जिेतका छन् । सन् १९९८ मा फ्रान्स र सन् २०१० मा स्पेनले उपाधि जितेका हुन् । सन् १९७४ को विश्वकपमा पहिलो पटक फाइनलमा पुगेको नेदरल्याण्ड्स भने पराजित भएको थियो ।
– फ्रान्सका एम्बाप्पेलाई पेलेपछि विश्वकप फाइनलमा गोल गर्ने पहिलो किशोर खेलाडी बन्नेछन् । एम्बाप्पेले प्रतियोगितामा ३ गोल गरिसकेका छन् । पेलेले सन् १९५८ को विश्वकपमा १७ वर्षको उमेरमै ६ गोल गरेका थिए ।
– इभान पेरिसिचले क्रोएशिया लागि ठूला प्रतियोगितामा १० गोलमा सहभागी छन् । उनले ६ गोल गरेका छन् भने ४ गोलका लागि बल उपलब्ध गराएका छन् ।
– फ्रान्सका ओलिभर जिरोडले जारी विश्वकपमा एउटै पनि बल गोलपोष्टमा प्रहार गर्न सकेका छैनन् । उनले ४६५ मिनेट खेलेका छन् ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया