इरानलाई नरोक्ने हो भने तेलको मूल्य बढ्छ : साउदी युवराज सलमान

 असोज १३, २०७६ सोमबार १२:२९:१७ | एजेन्सी
unn.prixa.net

साउदी अरबका युवराज प्रिन्स मोहम्मद बिन सलमानले इरानसँगको खतराको सामना गर्न विश्वका अन्य देशहरु एकसाथ नआउने हो भने त्यसको असर विश्व बजारमा पर्ने बताएका छन् ।

सलमानले कच्चा तेलको आपूर्तिमा असर पर्ने र तेलको मूल्यमा अप्रत्याशित वृद्धि हुनसक्ने बताएका हुन् । अमेरिकाको टीभी च्यानल ‘सीबीएस’को एक कार्यक्रम ‘६० मिनट्स’ मा उनले इरान र साउदी अरबबीच तनाव बढ्दा त्यसको असर विश्वको अर्थव्यवस्थामा पर्ने बताएका हुन् । 

युवराज सलमानले फेरि एक पटक आफ्नो आदेशमा साउदी पत्रकार जमाल खशोग्गीको हत्या भएको भन्ने कुराको खण्डन गरेका छन् । 

उनी साउदी अरब र इरानबीच जारी तनावको राजनीतिक हल चाहन्छन् किनकि यदी दुई देशबीच युद्ध भयो भने यसको असर विश्वको अर्थव्यवस्थामा पर्छ ।

युवराज सलमानका अनुसार विश्वको तेल निर्यातको ३० प्रतिशत, विश्व व्यापारको २० प्रतिशत र विश्वको कुल गार्हस्थ उत्पादन (जीडीपी) को ४ प्रतिशत योगदान मध्य–पूर्वको इलाकाबाट नै हुने गर्दछ । 

उनले भने, ‘एक पटक सोच्नुस्, यी तीन चीज एकैसाथ प्रभावित हुँदा के हुन्छ ? यसको अर्थ साउदी अरब र मध्य–पूर्वको देशमात्र नभइ विश्वको अर्थव्यवस्था डगमगाउनेछ ।

सलमानले साउदी अरबो दुई वटा तेल कम्पनीमा भएको ड्रोन आक्रमण बालकको जस्तो व्यवहार भएको बताए । उनले भने, ‘त्यो बालकको जस्तो व्यवहार थियो । यसको कुनै रणनीतिक उद्देश्य थिएन । विश्वको तेल आपूर्तिमा ५ प्रतिशत हिस्सा ओगटेको क्षेत्रमा आक्रमण गर्ने बेवकुफ नै हो ।’

युवराज सलमानले अमेरिकी विदेश मन्त्री माइक पोम्पियोको भनाइलाई सहमति जनाउँदै इरानले जे गर्‍याे, त्यो युद्ध अपराध भएको बताए । उनले भने, ‘यदि विश्वका अन्य देश इरानलाई रोक्न ठूलो कदम उठाउँदैनन् भने मामिला बढ्ने र अन्य कैँयौ देशको हित प्रभावित हुनेछ । विश्वको तेल निर्याल प्रभावित हुनेछ र तेलको मूल्य बढ्नेछ ।’

यद्यपि उनी कुनै पनि सैन्य अभियानको पक्षमा छैनन् र यो मामिलामा शान्तिपूर्ण राजनीतिक हल नै राम्रो विकल्प मान्छन् । 

इरानका विदेश मन्त्री मोहम्मद जावेद जरीफले इरानमाथि लगाइएको प्रतिबन्ध अमेरिकाले नहटाएसम्म अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता नहुने बताए ।

अमेरिकाले एकतर्फी फैसला गरेर आफूलाई परमाणु सम्झौताबाट टाढा बनाएको र त्यसको असर इरानको परमाणु नीतिमा परेको इरानले बताउँदै आएको छ । 

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया